अन्तर्राष्टि्रय दबु

क्युवा–अमेरिका सम्बन्ध सुधारतर्फ

पनामा सिटी। आधा शताब्दीभन्दा लामो समयमा पहिलोपटक संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा र उनका क्युवाली समकक्षी राउल क्याष्ट्रोबीच शनिबार औपचारिक भेटवार्ता भएको छ। 

पनामामा भइरहेको अमेरिकी शिखर सम्मेलनको साइडलाइन वार्तामा ती दुईबीच भेटवार्ता भएको हो। क्युवाली क्रान्तिपछि दुई देशका राष्ट्रप्रमुखबीच भएको पहिलो भेटवार्टा भएको बताइन्छ। यसअघि क्युवाली नेता फिडेल क्याष्ट्रो र अमेरिकी राष्ट्रपतिहरूबीच भेट भए पनि सम्बन्ध सुधारतर्फ अघि बढेका थिएनन्। ओबामाले क्याष्ट्रोसँगको भेट दुइ देशको सम्बन्धमा नयाँ मोड भएको बताएका छन्। 

ओबामा भन्छन् –'दुई पूर्व शत्रु मुलुकबीच मतभेद निरन्तर हुनेछन् तर उनीहरू आपसी चासोमा अगाडि बढ्नेछन्।' 

क्युवाली नेता राउल क्याष्ट्रो भन्छन् – दुई देशहरू आवश्यकता अनुसार भिन्न मत राखेर पनि अघि बढ्न सहमत भएका छन्।' 

उनी भन्छन् – “हामी धैर्यसाथ सबै विषयमा कुराकानी गर्न सक्छौं, केहीमा हामी सहमत हुनेछौं केहीमा हुनेछैनौं।'' 

क्याष्ट्रोसँगको कुराकानीपछि ओबामाले भने–“हामीसँग समाज कसरी व्यवस्थित बनाउने भन्नेबारे निकै भिन्न मत छन्। मैले उनीहरूलाई सीधासिधा भने कि हामी प्रजातन्त्र, मानव अधिकार, भेला हुने अधिकार र प्रेसको स्वतन्त्रताबारे बोल्न छोड्ने छैनौं।'' 

ओबामाले थपे–“यसको अर्थ हामी सही छौं र हरेक देशले हाम्रो ठ्याक्कै नक्कल गर्नुपर्छ भन्ने होइन तर केही त्यस्ता विश्वव्यापी सिद्धान्तहरू छन् जसको पक्षमा हामी छौं।'' 

क्युवाली राष्ट्रपति क्याष्ट्रोले भने – क्युवा अमेरिकासँग मित्रता बढाउन खुला छ तर दुई देशबीच थुप्रै भिन्नता र लामो तथा जटिल इतिहास छ। गत डिसेम्बरमा दुइ देशबीच सम्बन्ध सुधार सुरु भए यता यो पहिलो पूर्ण बैठक हो। 

क्याष्ट्रोले क्युवामाथि सन १९५९ देखि लगाइएको आर्थिक नाकाबन्दी अन्त्य गर्न आग्रह गरेका छन्। 

अमेरिकी शिखर सम्मेलनमा भेला भएका ल्याटिन अमेरिकी तथा क्यारीयाली देशका नेताहरूले संयुक्त राज्य अमेरिका र क्युबाबीच पुर्नमिलनको स्वागत गरेका छन्। 

ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले – 'यो गोलार्द्धमा ठूलो क्षति पुर्‍याएको शीतयुद्धको अवशेष अन्त्य गर्ने साहसी प्रयास' भन्दै प्रशंसा गरिन्। अर्जेन्टिनाकी राष्ट्रपति वि्र्कष्टिना फर्नान्डेज क्रिचनरले क्युवाको प्रशंसा गर्दै भनिन् 'उसले गौरवपूर्ण रुपमा र सङ्घर्षमा कहिल्यै धोका नदिने नेताहरूका आडमा अमेरिकी नाकाबन्दी विरुद्ध लडेको छ।' 

क्युवाली विदेशमन्त्री ब्रुनो  रोड्रिोग्नेजले राष्ट्रपति राउल क्याष्ट्रो र उनका अमेरिकी समकक्षी बाराक ओबामाबीचको भेटवार्ता उपलब्धिमूलक भएको बताए। दुवै राष्ट्रपति दुई देशबीचको सम्बन्धलाई सामान्यीकरण गर्दै कूटनैतिक सम्बन्ध स्थापना गर्न सकारात्मक भएको उनले बताए।  

यसअघि अमेरिकी राष्ट्रपति ओबामा र क्युवाली नेता राउल क्यास्ट्रोले शुक्रबार अमेरिकी शिखर बैठक 'समिट अफ दी अमेरिकाज'मा एकअर्कासँग हात मिलाउनुभयो र सँगै बस्नुभयो। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम गर्ने नयाँ महत्त्वपूर्ण घटनाको रूपमा लिइएको छ।  

संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनको उपस्थितिमा अमेरिकी राष्ट्रपति ओबामा तथा क्युवाली नेता क्यास्ट्रोले एक अर्कालाई शुभकामना व्यक्त गर्नुभयो। पानामा नगरको सभागृहमा अन्य क्षेत्रीय नेताहरूका साथै उहाँहरूले आसन ग्रहण गर्नुभयो।  

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध सन् १९६१ मा बिग्रिएको थियो। एकै कोठामा अमेरिकी राष्ट्रपति ओबामा तथा क्युवाली नेता क्यास्ट्रोको उपस्थितिले उहाँहरू कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न चाहनुहुन्छ भन्ने सङ्केत दिएको बताइएको छ।  

समिट अफ दी अमेरिकाजको  इतिहासमा क्युवाली नेताले भाग लिएको यो पहिलोपटक हो।  

सन् २०१३ मा जोहानेसबर्गमा नेल्सन मन्डेलाको स्मृतिसभामा दुई नेताले अघिल्लोपटक हात मिलाउनुभएको थियो।  

अमेरिकी राष्ट्रहरूको सङ्गठनका महासचिव होसे मिगेल इनसल्जाले यस शिखर बैठकमा पहिलोपटक ३५ मुलुक उपस्थित भएको र यसको विशेष आयाम रहेको बताउनुभयो।  

संयुक्त राष्ट्र सङ्घका महासचिव बानले क्युवाली राष्ट्रपति राउल क्यास्ट्रोको उपस्थितिको सबैले यस क्षेत्रमा लामो समयदेखि चर्चा गरेको बताउनुभयो।  

यसपछि क्षेत्रीय नेताहरू अनौपचारिक भोजमा सरिक हुनुभएको थियो।  

डिसेम्बर महिनामा उहाँहरूबीच टेलिफोन वार्ता भएपछि अमेरिका तथा क्युबाबीच सम्बन्ध सामान्य बनाउने घोषणा भएको थियो।  

यसो भए पनि हवानालाई चिढाउने गरि अमेरिकी राष्ट्रपति ओबामाले शिखर बैठक पूर्व विरोधी वकिल लरित्जा डिभरसेन्ट, राजनीतिक कार्यकर्ता म्यानुएल कुएस्ता मुराका साथै अमेरिकी मुलुकका एक दर्जन कार्यकर्तासँग बन्द कोठामा भेट गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति ओबामाले यस क्षेत्रमा अमेरिकी हस्तक्षेपको दिन अन्त्य भएको बताउँदै नागरिक समाजका प्रतिनिधिहरूलाई अमेरिका उनीहरूको साथमा रहने बताउनुभयो। राष्ट्रपति ओबामाले क्युवासँग सम्बन्धको नयाँ अध्याय आरम्भ भएको बताउनुभएको थियो। उहाँले आफूहरूबीचको भिन्नता सरकारहरूबीच राखिने बताउनुभएको थियो।  

अमेरिकाले क्युबालाई अझै पनि आतङ्वाद प्रायोजक मुलुकको कालो सूचीमा राखेको छ र यो दुई मुलुकबीच कूटनीतिक वार्ताको प्रमुख बाधाको रूपमा रहेको बताइन्छ। क्युवाको साथमा उक्त सूचिमा इरान, सुडान तथा सिरिया पनि परेका छन्।  

अमेरिकी राष्ट्रपति ओबामाले यस विषयमा निर्णय गर्नुभए पनि उहाँको सुझावलाई ४५ दिनसम्म उल्टाउनसक्ने अधिकार संसदमा रहेको छ।  

बहुसङ्ख्यक अमेरिकी तथा क्युवाली नागरिक दुई मुलुकबीच मेलमिलापको पक्षमा देखिए पनि अमेरिकी केही सांसदहरू यसको कडा आलोचक रहेका छन्।  

राष्ट्रपति ओबामाले ल्याटिन अमेरिकासँग अमेरिकी तनावको स्रोत हटाउन प्रयास गर्नुभए पनि उहाँले प्रतिपक्षीमाथि कारवाही गर्ने भेनेजुयलाका अधिकारीहरूमाथि प्रतिबन्ध लगाउनुभएको छ।  

भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो हवानाका प्रमुख सहयोगी हुनुहुन्छ र उहाँले उक्त प्रतिबन्ध हटाउन एक करोड ३४ लाख जनताले हस्ताक्षर गरेको र अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरिएको आग्रहपत्र हस्तान्तरण गर्ने दृढता व्यक्त गर्नुभएको छ।  

पानामा नगरको एल कुरिलो स्मारकमा एक भेलामा माडुरोले ठूलो स्वागत प्राप्त गर्नुभयो। अमेरिकाले सन् १९८९ मा म्यानुएल नोरिएगालाई पदमुक्त गर्न गरेको हस्तक्षेपका पीडितको सम्मानमा उक्त स्मारक तयार भएको थियो।  

राष्ट्रपति माडुरोले अमेरिकाले पानामा र ल्याटिन अमेरिकामा गरेको हस्तक्षेपप्रति माफी माग्नुपर्ने बताउनुभयो।  

वासिङटनले यस मुलुकसँग तनाव कम गर्न यसै साता राष्ट्रपति माडुरोसँग भेट गर्न काराकसमा एक वरिष्ठ अधिकारी पठाउने भएको छ। 

क्युवा–अमेरिका विदेशमन्त्रीस्तरीय वार्ता 

यसअघि पनामा सिटीमै क्युवाली विदेशमन्त्री बु्रनो रोड्रिग्वेज र उनका अमेरिकी समकक्षी जोन केरीबीच बिहीबार साँझ बन्द कोठामा वार्ता भएको थियो। 

क्युवामा फिडेल क्याष्ट्रोको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भएपछि संरा अमेरिकाले क्युवासितको कूटनीतिक सम्बन्ध तोडेर आर्थिक नाकाबन्दी लगाएको थियो। अमेरिकी राष्ट्रपनि बाराक ओबामा र क्युवाली राष्ट्रपति एवं नेता राउल क्याष्ट्रोबीच हुन गइरहेको ऐतिहासिक भेटवार्तालाई सार्थक बनाउने पूर्व तयारीस्वरुप उक्त वार्ता भएको थियो। 

यसअघि अमेरिकी राज्य विभाग (विदेश मन्त्रालय) ले क्युवाको स्थितिमा पूर्ण समीक्षा गर्दै क्युवालाई आतङ्कवाद प्रायोजन गर्ने देशको सूचिबाट हटाउन राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई सिफारिसपत्र लेखेको समाचार भएको थियो। 

ओबामा र नेता राउल क्याष्ट्रोले गत वर्षको डिसेम्बर १७ का दिन दुई देशबीचको सम्बन्ध सामान्यीकरण गर्न काम गर्ने घोषणा गरेका थिए। त्यसपछि दुई देशका कूटनीतिज्ञहरूबीच तीन चरणसम्मको वार्ता भइसकेको छ र दुई देशले राजदूतावास पुनःस्थापना गर्ने सहमति जनाएका छन्। 

– एजेन्सी 

 

 

 

 

 

 

 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी