अन्तर्राष्टि्रय दबु

हिरोसिमा र नागासाकी सैन्यवादका लागि बहुमूल्य पाठ हुन्

 वाङ शान
    हिरोसिमा र नागासाकी घटनाको स्मृतिलाई जापानले आणविक वमका मृत्तक तथा घाइतेहरूको सम्झनाका रुपमा मात्र नभई आफ्नो सैन्यवादी इतिहासको समीक्षा गर्ने अवसरका रुपमा पनि लिनुपर्दछ। 
    मानव इतिहासका दुई आणविक वम हमला–हिरोसिमा र नागासाकी बम हमलाको ७० औं वर्षगाँठको अवसरमा गत बिहीबारबाट जापानले धेरै महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेको छ। गत बिहीबार हिरोसिमामा आयोजित स्मृति सभामा सो नगरका प्रमुख र प्रधानमन्त्री सिन्जो अबे सहभागी थिए। उनीहरूले हमलाबाट जोगिएका मानिसहरू, तिनका सन्तति, शान्तिवादी कार्यकर्ता र झण्डै १ सय देश र क्षेत्रका प्रतिनिधिहरू सम्मिलित ५५ हजार जनसमुदायलाई सम्बोधन गरेका थिए।
    प्रधानमन्त्री अबे जापानस्थित संरा अमेरिकी राजदूत क्यारोलाइन केनेडीसँगै आइतबार नागासाकीमा आयोजित सभामा पनि सहभागी बनेका थिए। ७० वर्षअघि हिरोसिमा र नागासाकीमा गरिएको आणविक वम हमला सम्पूर्ण मानव जातिको लागि असह्य वियोग थियो। आणविक वम हमलाबाट मारिएका र त्यसपछि महिनौं र वर्षाैं – वर्ष फैलिएको दुष्प्रभावबाट मारिएका लाखौं निर्दाेष सर्वसाधारण जनताप्रति श्रद्धाञ्जली व्यक्त गरिनुपर्दछ। 
    तथापि जापानका वर्तमान प्रधानमन्त्रीले आफ्नो पदभार ग्रहण गरेपश्चात् व्यक्त गरेका अभिव्यक्ति र गरेका क्रियाकलापका सापेक्षमा अहिले सम्भि्कएका घटनाहरू पछाडिका अदृश्य परिस्थितिबारे विशेष ध्यान पुर्‍याउन जरुरी छ। 
    विगतका युद्धप्रति जापान आफ्नो जिम्मेवारीबाट पन्छिने प्रयत्न गरिरहेका बखत प्रधानमन्त्री अबे र उनको मन्त्रीमण्डलले आफ्नो देशलाई दोस्रो विश्वयुद्धको पीडितको रुपमा चित्रण गर्न खोज्दैछन्। यासुकुनी स्मारकमा गाडिएका युद्ध अपराधीहरूलाई गौरवको शिखरमा पुर्‍याउन खोज्दैछन्। 
    सन् १९४५ मा हिरोसिमा र नागासाकीमा मारिएका निर्दाेष जीवनप्रति पूर्ण सद्भाव व्यक्त गरिरहँदा उनीहरू जापानले नै आरम्भ गरेको युद्धको सिकार बनेको कुरा मनमा राख्न जरुरी छ। 
    आफ्ना सैन्यवादी महत्त्वाकाङ्क्षा फत्ते गर्ने सुरमा जापानी सेनाले चीन र अरु एसियाली देशहरूका सहर र गाउँ–गाउँमा लाखौं–लाख निर्दाेष जनतालाई निर्दयीतापूर्वक हत्या गर्‍यो। 
    स्मृति सभाहरूमा आणविक हमलाका जापानी पीडितहरूप्रति सम्मान व्यक्त गर्नु सँगसँगै जापान सरकार र जनताले युद्ध अपराधीहरूको विरोध गर्नुपर्दछ र त्यस्ता सबै वियोगान्तहरू निम्त्याउने खोटा विचारहरूको भर्त्सना गर्नुपर्दछ। 
    दोस्रो विश्वयुद्धको समयमा जापानी सैन्यवादीहरूको पागलपनका कारण पनि ती दुई सहरहरू च्याउजस्तो धुवाँ मण्डलमा नष्ट भए। केही असफलता सामना गरिसकेर पनि सन् १९४५ मा जापानी सैन्यवादीहरूले पोस्टडम घोषणा अस्वीकार गरे किनभने आफ्ना महत्त्वाकाङ्क्षा सामू सर्वसाधारण जनताको जीवन उनीहरूका लागि कम महत्त्वपूर्ण थियो। 
    जापानी सेनाले अन्य देशहरूमा गरेका जघन्य अपराधसँगै हिरोसिमा र नागासाकीका दुःखद घटना बहुलठ्ठीपूर्ण सैन्यवादको मूल्य कति हुनसक्छ भन्ने कुराको त्रासदीपूर्ण दृश्तान्त हुन्। 
    वास्तवमा जापानी सैन्यवाद जापानको छिमेक र क्षेत्रीय स्थायित्वका लागि मात्र खतरनाक छैन, स्वंय जापानी जनताको निम्ति पनि डरको विषय हो। परिणामतः नयाँ सुरक्षा कानुन थोपरेर, आफ्नो देशको युद्धले भरिएको विगतप्रति गोलमटोल धारणा अघि सारेर र युद्ध अपराधीहरूलाई चोख्याउने भित्री प्रयासबाट झल्किने अबे सरकारको सैन्यवादी पुनःउत्थानको  सङ्केत वास्तवमै चिन्ताजनक कुरा हो। व्यापक जापानी जनता अबेको अति दक्षिणपन्थी सरकारका गतिविधिबाट सन्तुष्ट नभएको कुरा प्रस्ट भइसकेको छ। बिहीबार हिरोसिमामा अबेले सहभागीहरूलाई सम्बोधन गर्दै गर्दा स्रोताहरूबीच र सभास्थल वरपर विरोधमा नाराबाजी भइरहेको थियो। प्रदर्शनकारीहरूले 'युद्ध ऐन खारेज गर' भन्दै नाराबाजी गरेका थिए। नागासाकीमा पनि अबेले मन्तव्य दिइरहँदा त्यस्तै नाराबाजी चल्यो। 
    अबे र उनी नेतृत्वको मन्त्रीमण्डलले आणविक वमबारीबाट जीवन गुमाएकाहरूको सम्झना गर्ने सबभन्दा उत्तम तरिका आफ्नो युद्धले भरिपूर्ण विगत स्वीकार्नु हो किनभने जसले इतिहासबाट सिक्न जान्दैन, उसले गल्ती दोहोर्‍याइरहने सम्भवना रहिरहन्छ। 
 सिन्ह्वा (अगष्ट ९, २०१५)
प्रस्तुति: नीरज
 
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी