अन्तर्राष्टि्रय दबु

अलबिदा क्युवाका क्रान्तिकारी नेता जर्ज रिस्कुट

अबायोमी अजिकिवे
    क्युवाली कम्युनिष्ट पार्टी स्थापनाका नेतृत्वदायी व्यक्तित्व एवं अफ्रिकी महादेशका कयौं साहसिक गतिविधिका अग्रणी जर्ज रिस्कुट भाल्देस–साल्दानाको गत सेप्टेम्बर २८ का दिन ८५ वर्षको उमेरमा दुःखद् निधन भयो।
    रिस्कुटको जन्म सन् १९३० को मे ६ मा भएको थियो र सन् १९४३ देखि क्रान्तिकारी युवा आन्दोलनमा सामेल भए। उनी विश्व प्रजातान्त्रिक युवा महासंघका क्युवाली प्रतिनिधि र ल्याटिन अमेरिकाका संयोजक थिए। उनले सन् १९५४मा ग्वाटेमालामा अन्तर्राष्ट्रिय प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए।
    क्युवामा संरा. अमेरिकाको समर्थन प्राप्त फल्गेन्सियो बाटिस्टाको तानाशाही शासनमा उनलाई अपहरण गरी यातना दिइयो र कारागारमा कोचियो। सन्  १९५८ मा उनी दोस्रो फ्रान्क पायस पूर्वी मोर्चाअन्तर्गत क्रान्तिकारी सेनामा सामेल भए।
    क्रान्तिको विजयपश्चात उनले पहिलेको ओरेन्टे प्रान्तको राजनीतिक विभागको प्रमुख र सैनिक प्रमुख, क्युवाली समाजवादी क्रान्ति एकीकृत पार्टी ओरेन्टे प्रान्तीय समितिका संगठन सचिव, कङ्गो–ब्राज्भिल्ले अन्तर्राष्ट्रिय बटालियन 'पेटि्रस लुम्बुबा'का प्रमुख, श्रममन्त्री, सन् १९७५ देखि १९७९ सम्म जनवादी गणराज्य अङ्गोलामा क्युवाली नागरिक अन्तर्राष्ट्रिय मिसनका प्रमुखजस्ता पद र जिम्मेवारी सम्हाले।
    क्युवाली क्रान्तिका प्रारम्भिक दिनदेखि क्युवाले अफ्रिकी मुक्ति आन्दोलनप्रति प्रस्ट ऐक्यबद्धता व्यक्त गर्दै आएको छ। क्युवामा रङ्गभेद र जातिभेद कानुन विपरीत छ र क्युवाको अन्तर्राष्ट्रियवादी दृष्टिकोण राज्यको परराष्ट्र नीतिबाट अभिव्यक्त भएको छ। सन् १९६०को अक्टोवरमा क्युवाका तात्कालीन प्रधानमन्त्रीको हैसियतमा फिडेल क्याष्ट्रो न्युयोर्कस्थित संरा. संघ पुग्दा उनी हार्लेमस्थित थेरेसा होटलमा बसेका थिए।त्यहाँ क्याष्ट्रोले इस्लामिक राष्ट्रका नेता माल्कोम एक्सलाई भेटेका थिए। साथै उक्त चर्चित होटलमा अफ्रिकी–अमेरिकी मजदुरहरूसँग रात्रीभोजमा सरिक भए।
    साम्राज्यवादीहरूले बेल्जियमको पूर्व उपनिवेश कङ्गोको राष्ट्रिय स्वाधिनतालाई उपेक्षा गरेपछि संरा.संघमा दिएको प्रभावशाली भाषणमा चे ग्वेभाराले कङ्गोली राष्ट्रिय आन्दोलनका संस्थापक पेटि्रस लुम्बुबाको हत्याको भर्त्सना गरे र हत्याको लागि प्रस्टतः साम्राज्यवाद दोषी भएको किटान गरे। सन् १९६५मा कङ्गोमा प्रतिक्रान्ति रोक्न त्यहाँ गएको क्युवाली अन्तर्राष्ट्रिय टोलीको नेतृत्व ग्वेभारा स्वंयले गरे।
दक्षिणी अफ्रिकाको मुक्तिमा क्युवाली भूमिका
    खनिजमा धनी कङ्गोमा प्रतिक्रान्ति विफल बनाउने क्युवाको कङ्गो अभियान सफल भएन। तथापि एक दशक पश्चात अङ्गोलामा दक्षिण अफ्रिकाको हमलालाई पराजीत गर्न अङ्गोलाको स्वाधिनता सङ्घर्षमा मद्दत गर्न अङ्गोला मुक्ति जनआन्दोलन (एमपीएलए)का नेता अगोस्टिनो नेटोको अनुरोधलाई क्युवा सरकारले सकारात्मक रुपमा लियो। अङ्गोलाको राजधानी ल्वाण्डामा संरा.अमेरिकी केन्द्रीय गुप्तचरी विभाग (सीआईए) आफ्नो कठपुतली सरकार स्थापना गर्न चहान्थ्यो। सन् १९७५ को नोभेम्बरदेखि सन् १९७६को आरम्भसम्ममा झण्डै ५५ हजार क्युवाली अन्तर्राष्ट्रियवादी सेना दक्षिण अफ्रिकी हस्तक्षेपलाई पराजीत गर्न र अङ्गोली राष्ट्रिय स्वाधिनतामा सहयोग गर्न एमपीएलएको सैनिक संगठनमा सामेल भएर लडे।
    क्युवाली सैनिक एकाइ अङ्गोलामा १६ वर्ष बस्यो। त्यस क्रममा एमपीएलएलगायत दक्षिण पश्चिम अफ्रिकी जनसंगठन (स्वापो), नामिबिया जनमुक्ति सेना र अफ्रिकी राष्ट्रिय काङ््ग्रेसको सैनिक संगठन ग््कपजयलतय धभ क्ष्शधभ संग काँधमा काँध जोडेर लड्यो।
    संरा.अमेरिका र प्रिटोरियास्थित उसका पिछलग्गुहरूले अङ्गोलाका दुईजना राजनीतिक नेताहरू–अङ्गोलाको पूर्ण स्वाधिनताको लागि राष्ट्रिय संगठन (युनिता)का जोनस साभिम्बी र अङ्गोला राष्ट्रिय मुक्ति मोर्चा(एफएनएलए)का होल्डेन रोबर्टोलाई हतियार दिने, पैसा र कूटनीतिक संरक्षण गर्ने गर्थ्यो। यी दुवै संगठनहरू जायरमा काम गर्थे। प्रतिक्रान्तिको विजय पश्चात कङ्गोलाई जायर नामाकरण गरिएको थियो। तीमध्ये पनि युनिता सबभन्दा खतरनाक दुश्मन सावित भयो किनभने सीआईए र सन् १९९० मा दक्षिण पश्चिम अफ्रिका(नामिबिया) स्वतन्त्र हुनु अघि त्यहाँ सक्रिय रङ्गभेदी दक्षिण अफ्रिकी सेनाले त्यो संगठनलाई प्रत्यक्ष चलाइरहेको थियो।
    अङ्गोलाको सङ्घर्ष सन् १९८७–८८ मा उत्कर्षमा पुग्यो जब क्युटो क्वानाभालेमा लडाई केन्द्रित भयो। दक्षिण अफ्रिकी सेनालाई त्यो ठाउँमा पराजय भोग्नुपरेको थियो। ती युद्धपछि प्रिटोरियाको रङ्गभेदी सरकार तथा रेगन र एच. डब्ल्यु वुश सरकारभित्र तिनका संरक्षकहरू दक्षिण अफ्रिकी मुक्ति आन्दोलनलाई सैनिक ढङ्गले पराजय गर्न असम्भव भएको निष्कर्षमा पुगे।
    सन् १९८८ को उत्तरार्द्धमा युद्धविरामको घोषणा गरियो। अङ्गोलाको एमपीएलए सरकार र रङ्गभेदी सरकारबीच मूर्त ढङ्गबाट वार्ता भयो। संरा.अमेरिका र प्रिटोरिका दक्षिणी अङ्गोलाबाट दक्षिण अफ्रिकी सेनाको फिर्ता र नामिबियाको स्वाधिनता प्रक्रियामा क्युवाली सरकारको संलग्नता चहाँदैन्थ्यो। 
    यद्यपि तात्कालीन अफ्रिकी एकता संगठन, हालको अफ्रिकी संगठन र अन्तर्राष्ट्रिय रुपमा प्रगतिशील शक्तिहरूको व्यापक समर्थनका कारण वार्ताका क्युवालीहरूलाई सहभागीमात्र होइन बरु सक्रिय भूमिका निर्वाह गर्न दिइयो। जर्ज रिस्कुटले अफ्रिकी क्रान्तिकारी प्रक्रियामा क्युवाको महत्त्वपूर्ण झल्काउँदै आफ्नो अन्तर्राष्ट्रिय भूमिका खेले।
    वार्तामा रिस्कुटले क्युवाली प्रतिनिधिमण्डलको नेतृत्व गरे जसमा दक्षिणी अङ्गोलाबाट रङ्गभेदी सेना फिर्ता गर्ने र उपनिवेशवादीहरूको एक दशक लामो कब्जा पछि नामिबियालाई स्वतन्त्र बनाउने निर्णय भयो। सन् १९८९ को अन्त्यतिर नामिबियामा अन्तर्राष्ट्रिय पर्यवेक्षणमा निर्वाचन भयो। सन् १९९० मार्च २१ को दिन अत्याधिक बहुमतबाट स्वापोका निर्वाचित राष्ट्रपति साम नुजोमाको नेतृत्वमा नामिबिया रङ्गभेदबाट स्वाधिन घोषणा भयो।
    नामिबियाको स्वाधिनता र अफ्रिकी  राष्ट्रिय काङ्ग्रेसको नेतृत्वमा दक्षिण अफ्रिकामा चालू जनसङ्घर्ष र सशस्त्र सङ्घर्षले रङ्गभेदी शासनका राष्ट्रपतिका रुपमा पी. डब्ल्यु बोथालाई हटाएर एफ. डब्ल्यु डिक्लार्क राष्ट्रपति बने। नयाँ सरकारले दक्षिण अफ्रिकामा राजनीतिक सङ्कट अन्त्य गर्न वार्ताको चाहनालाई सङ्केत गरेको थियो।
    सन् १९९० फेब्रुअरी २ देखि अफ्रिकी राष्ट्रिय काङ्ग्रेस, दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टी र अन्य प्रतिबन्धित संगठनहरूलाई खुलारुपमा गतिविधि गर्न दिइयो। त्यसको नौ दिनपछि जातिवादी रङ्गभेदी व्यवस्थाको सुरुङमा २७ वर्षभन्दा लामो कारागार जीवन पछि नेल्सन मण्डलालाई कैद मुक्त गरियो।
    चार वर्षपछि अफ्रिकी राष्ट्रिय काङ्ग्रेसले प्रस्ट बहुमत पायो र रङ्गभेदको कुनै सम्भावनालाई अन्त्य गर्दै दक्षिण अफ्रिकाको सत्ता हातमा लियो। सन् १९७५ देखि १९९४ सम्मको दुई दशकभन्दा कम समयमा दक्षिण अफ्रिकामा गोरा अल्पसङ्ख्यकहरूको व्यवस्था क्रान्तिकारी क्युवाको सहायतामा नराम्ररी पराजीत भयो।
रिस्कुटद्वारा क्वामे एनक्रुमाको सम्मान
    क्वामे एनक्रुमाको चालिसौं स्मृतिमा घानामा आयोजित कार्यक्रममा प्रमुख वक्ताको मन्तव्य व्यक्त गर्दै रिस्कुटले सन् १९६० देखि आजसम्मका अफ्रिकी क्रान्तिहरूमा क्युवाले खेलेको भूमिकाको चर्चा गरेका थिए।
    उनले एटलान्टिक दास व्यापारको इतिहासको आधारमा क्युवाली जनता र अफ्रिकी जनताबीच पूर्ख्यौली सम्बन्ध भएकोमा जोड दिएका थिए। उनले सन् १९६६ मा हवानामा आयोजित त्रिमहादेशीय सम्मेलनमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका जनताबीच ऐक्यबद्धता संगठन (ओस्पाल) बनाउनमा घानाको स्वतन्त्रता आन्दोलनका नेता तथा घानाका प्रधानमन्त्री र राष्ट्रपति क्वामे एनक्रुमाको भूमिकाको चर्चा गरे।
    'उपनिवेशवाद र उत्पीडनकारी रङ्गभेदी शासनविरुद्ध जनतासँग काँधमा काँध जोडेर लड्न यसकारण क्युवाली लडाकूहरू आफ्नो पूर्ख्यौली थलो अफ्रिका आएका हुन्,' रिस्कुटले भने, 'चे ग्वेभारा र उनका साथीहरूलेे तानगायिका ताल तरेको सन् १९६५ अप्रिल २४ देखि अन्तिम ५ सय क्युवाली सिपाहीं विजयी भएर क्युवा फर्केको सन् १९९५ मे २५ सम्म २६ वर्षसम्म ३ लाख ८१ हजार क्युवाली सिपाहीं र अधिकारीहरू  अफ्रिकी जनतासँग मिलेर लडे।'
    उनले अगाडि भने,'ती अन्तर्राष्ट्रवादीहरूमध्ये पाँच आतङ्कवादविरोधी नायकहरूमध्ये तीन जनालाई साम्राज्यवादीहरूले कैद गरेको छ (हाल रिहा भइसके)। अफ्रिकी भूमिमा २४ सय क्युवाली अन्तर्राष्ट्रियवादी योद्धाहरूले बलिदान दिए। आज हामी सेना पठाउने गर्दैनौं। आज हामी विभिन्न क्षेत्रमा चिकित्सक, शिक्षक, निर्माता र विशेषज्ञ पठाउने गर्दछौं।'
    उनको निधनपछि दक्षिण अफ्रिकी काङ्ग्रेस, अङ्गोलाको एमपीएलए र संसारभरका अरु क्रान्तिकारी पार्टी र संगठनहरूले श्रद्धाञ्जली अर्पण गरे। 
अक्टोवर ८, २०१५   वर्कर्स वर्ल्ड
प्रस्तुतिः नीरज
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी