विचार विश्लेषण

बुद्ध दर्शनको प्रचारमा 'अर्हत'


राकस्था
    बुद्ध दर्शनको अध्ययन एवम् बुद्ध दर्शनबारे अन्तरक्रिया सञ्चालन गर्ने उद्देश्यसाथ गठन गरिएको बौद्ध दर्शन अध्ययन समाजको त्रैमासिक प्रकाशन 'अर्हत्' को नयाँ अङ्क प्रकाशित भएको छ। दर्शनसम्बन्धी थोरै प्रकाशनमध्येको 'अर्हत्' को १४ औं अङ्कमा पनि बौद्ध दर्शनका विविध पक्षको विवेचना गरिएका आलेख तथा सामग्रीहरु समावेश छन्
    बुद्ध दर्शन अध्ययन समाजको उद्देश्य बुद्धका विचारको प्रचार गरी समाजलाई सुसंस्कृत गर्ने देखिन्छ। 'शास्त्रमा लेखिएकोले सत्य हो वा कुनै ऋषिमुनिले भनेकाले सत्य हो वा गुरूले भनेकाले सत्य हो भन्ने ठान्ने अन्धविश्वास हो, यस्तो सोच्नु मूर्खता हो। आफैले सोचेर विचार गरेर हेर्ने स्वतन्त्र चिन्तनको बानी बसाल। मैले भनेको कुरामा पनि आफैले हो–होइन नसोची खुरूक्क विश्वास नगर्नु।' बुद्धको जन्म जयन्ती मनाउँदै गर्दा बुद्धको प्रत्येक उपदेश वा विचारमाथि गम्भीर मनन हुनु आवश्यक छ। बुद्धको प्रस्तुत विचारले मानिसमा आलोचनात्मक दृष्टिकोण विकास गर्न उत्प्रेरित गर्दछ। कार्ल मार्क्सले पनि हरेक कुरामा शङ्का गर्न भन्नुभएको छ। पुरानो विचार/धर्म/संस्कार र संस्कृतिमाथि प्रश्न नै नगर्ने र त्यसलाई जस्ताको तस्तै लागू गर्न खोज्ने प्रवृत्तिलाई आजभन्दा २५ सय वर्ष अगाडि नै बुद्धले चिरेर फाल्ने प्रयास गर्नुभएको थियो। बिरालो बाँधेर सराद्ध गर्ने संस्कार र संस्कृति हाम्रो समाजमा अद्यापि छ।
    कार्तिक शुक्लपूर्णिमा (सकिमा पुन्हि) को दिन बजारमा आएको १४ औं अङ्कमा वरिष्ठ मनोरोग विशेषज्ञ डा. धनरत्न शाक्यको 'बौद्ध शिक्षाका मनोवैज्ञानिक पक्ष' शीर्षकको आलेख प्रमुख मान्न सकिन्छ। लेखले बुद्ध शिक्षा मनलाई स्वस्थ राख्न मद्दत गर्ने सार निकालेको छ। बुद्ध शिक्षामा मन र मनोवैज्ञानिक पक्षको महत्त्व सर्वोच्च रहेको डा. शाक्यको कथन छ। हाम्रो समाजमा मानसिक रोगीको सङ्ख्या बढ्दै गएको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ। डा. शाक्यको लेख पढेपछि बुद्धको शिक्षा राम्रोसँग ग्रहण गर्न सकिएको खण्डमा मनको रोग कम हुने सार निकाल्न सक्छौं। बुद्धले शरीर, वचन र मनले गर्ने कर्मप्रति सन्तुलन राख्ने शिक्षा दिएको लेखकको भनाइ छ। यहाँ डा. शाक्यकै वाक्य उद्धृत गर्नु सान्दर्भिक छ, 'आर्यआष्टाङ्गिक मार्गअन्तर्गत रहेका विधिहरू मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि अति महत्त्वपूर्ण छन्। 
    यसअन्तर्गत सम्यक दृष्टि (ठीक धारणा), सम्यक (ठीक) सङ्कल्प, सम्यक वचन, सम्यक कर्म (ठीक काम), सम्यक आजीव (ठीक जीविका), सम्यक व्यायाम (ठीक प्रयत्न वा मेहनत), सम्यक स्मृति (ठीक स्मृति वा जागरण) र सम्यक समाधि (ठीक एकाग्रता) पर्दछन्।' लेखक डा. शाक्य थप्छन्, 'च्ाार आर्यसत्य ठीकसँग बुझ्नु सम्यक दृष्टि हो। तृष्णाबाट मुक्त हुने दृढ प्रण र निश्चय सम्यक सङ्कल्प हो। सम्यक बचन भन्नाले झूटो, दुर्वाच्य, अश्लील र अपशव्द नबोल्नु हो। सम्यक कर्मको मतलब चोरी, ठगी, परस्त्री गमन र व्यभिचार नगर्नु भनेको हो। सम्यक आजीविका भन्नाले अरूलाई हानी हुने, कलङ्कमा जीवन परित्याग गर्नुपर्ने खालका व्यापार व्यवसाय नगरी अरूलाई हानी नहुने काम गरी जीउनु भन्ने बुझिन्छ। 
    सम्यक व्यायामको मतलब हुन्छ आत्मबोध गरेर मेहनतको बाटोमा हिँड्नु। सम्यक स्मृति भनेको मन वा चित्तलाई निःस्वार्थ, निष्कपट र विवेकी राख्ने प्रक्रिया हो भने सम्यक समाधि मनलाई शान्त, शुद्ध र अविचलित बनाएर एकाग्र राख्नु हो।' बुद्ध दर्शनले मनको सन्तुलनको निम्ति देखाएको सबभन्दा महत्त्वको दर्शन यही जस्तो लाग्छ। यो अङ्कमा भिक्षु सुदर्शनको बुद्ध र बुद्ध धर्म शीर्षकको लेख २०४४ सालको आनन्द भूमि  पत्रिकाबाट साभार गरिएको छ। लेख पढेपछि बुद्ध शिक्षाशास्त्री पनि हुन् भन्ने सार निकाल्न सकिन्छ। शिक्षाका आधुनिक एवम् पश्चिमा दार्शनिकहरूले भन्न थालेको जानेकोबाट नजानेको सिकाउने भन्ने कुरा बुद्ध शिक्षा भन्ने कुरा प्रस्ट हुन्छ। सरलताबाट गहनतामा, ज्ञात विषयवस्तुबाट अज्ञात विषयवस्तुमा, अनुभूतिको नजिकबाट टाढाको अनुभूतिमा  पुग्ने शिक्षणविधि बुद्धको उपदेश शैली भएको लेखकको प्रस्ट पारेका छन्। 
    अर्हत्को यो अङ्कमा 'प्रधान' ले लेखेको चार्वाक वा लोकायत दर्शन र परमाणुवादी वैशेषिक दर्शनबारे छोटो चर्चा गरेको छ। चार्वाक र कणाद ऋषिले आध्यात्मवादको खण्डन गरेको र भौतिकवादी दर्शनको समर्थन गरेको बताइएको छ। प्रधान लेख्छन्, 'इन्द्रियद्वारा थाहा नपाउने वस्तुको अस्तित्वलाई स्वीकार्नु नै चार्वाक दर्शनको सार हो।' कणाद ऋषिले परमाणुबारे उल्लेख गरेको भन्दै लेखकले धर्मले ईश्वर अथवा कुनै दैवी र शास्वत नियतिमा विश्वास गर्दैन बरू धर्म त्यो हो जसमा प्रगति र शान्तिमय कल्याण सम्भव भएको तथ्य उजागर गरेको बताउनुभएको छ।
    प्रकाश धौबजीको 'गौतम बुद्ध र कार्ल मार्क्सको समाज दर्शन तुलनात्मक अध्ययन' शीर्षकको लेखको प्रथम खण्डको रूपमा प्रकाशित सामग्रीमा बुद्धले कामना, तृष्णा, राग, अनुराग, वियोग, घृणा, क्रोधबाट मुक्त भएपछि दुःखबाट मुक्त हुने बताएको उल्लेख गर्दै मार्क्सले मजदुर वर्गमाथि भइरहेको शोषण, उत्पीडन, दुःख देख्नुभएको उल्लेख छ।
    बुद्धले हरेक घटना वा प्रक्रियाको पछाडि कारण हुन्छ भन्नुभएको छ। यसलाई अङ्ग्रेजीमा थेउरी अफ कज एण्ड इफेक्ट भन्न सक्छौं। अनि बुद्धले मानिसको दुःखको कारण भन्नुभयो – जन्म, बुढ्यौली, रोग नै दुःख हो। लोभ, काम, मोह, तृष्णा दुःखको कारण हो। बुद्धले संसारमा दुःख छ भन्नुभयो। मानव जीवनको अभिन्न अङ्गको रूपमा दुःखलाई लिनुभयो। मानिसको बुढ्यौली र रोगको कारण हुने दुःखभन्दा समाजको वर्गीय शोषणको कारण हुने दुःख बढी भयङ्कर छ भन्ने कुरा बुद्धभन्दा २३६३ वर्षपछि जन्मनुभएका कार्ल मार्क्सले पत्ता लगाउनुभयो। बुद्धको समयमा पूँजीवादी शोषणको चकचकी थिएन, नत्र बुद्धले पनि भन्नुहुन्थ्यो होला सामन्त र पूँजीपति वर्गको शोषणको कारण अत्यन्त बहुमत कामदार जनताले भोक, प्यास, पीडा भोग्नुपरेको छ। त्यसैले वर्गीय शोषणको अन्त्यको निम्ति त कामदार वर्गले सशस्त्र सङ्घर्ष नै गर्नुपर्छ।
    यस अङ्कमा रत्नसुन्दर शाक्यको 'रूसका एक बौद्ध विद्वान युग्वेनी ओबरमिल्लर' को परिचय, र्‍युहो ओकावाद्वारा लिखित 'सफलताका सिद्धान्तहरू' पुस्तकबारे विष्णुगोपाल कुसीको टिप्पणी समावेश छ। 
    यस पटकको अर्हत्को पृष्ठ २० मात्रै छ। आर्थिक सहयोग हुने विज्ञापन कम छ। वार्षिक ग्राहकको नामसमेत प्रकाशित गरिएको छ। मुद्राराक्षसले केही प्रभाव पारेको देखिन्छ। मूल्य रू. ३०।– ठिक्कै छ। सम्पादनमा लाग्ने सबैलाई धन्यवाद एवम् शुभकामना !
 
 
 
 
 
 
 

'संविधानसभामा जसरी काम हुनुपर्ने हो त्यसरी भएको छैन'– रोहित
के नेका, एमाले र एमाओवादीलाई मत आफ्नै खुट्टामा बञ्चरो हो?
'तोरीको फूल' देख्दा
'आत्मनिर्णयको अधिकार दिए देश एक भएर रहँदैन'
अङ्ग्रेजी बुलेटिन 'द सोलिडारिटी' पढेपछि
पाँच क्युवालीको तत्काल रिहाइ हुनुपर्ने, अमेरिकी राज्य आतङ्क अन्त्य हुनुपर्ने
मानव दुःखको प्रमुख कारण साम्राज्यवाद र नवउदारवाद
'माथिल्लो कर्णालीसम्बन्धी पीडीए खारेज गर्नुपर्छ'
सिराइचुलीको उचाइ उक्लँदै 'सिराइचुली सेरोफेरो'



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी