विचार विश्लेषण

अध्यक्ष का. रोहितद्वारा तिलौराकोट अवलोकन

रामचन्द्र, बुटवल
    फागुन ५ गते शिवरात्रीको दिन सारा वातावरण गाँजाको धुँवा र भाङको नशाले भरिएको थियो। शासक राजनैतिक दलहरूबीच रस्साकस्सीको स्थिति ज्यूँका त्यूँ थियो। तर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सभासद् का. नारायणमान बिजुक्छंे (रोहित) कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि ३ कि.मि. उत्तरपश्चिममा वाणगंगा नदीको पूर्वीय तटमा अवस्थित सिद्धार्थ गौतम बुद्धको राज्यस्थल तिलौराकोटमा देशको पुरातात्त्विक संरचनाको अध्ययन भ्रमणमा व्यस्त हुनुहुन्थ्यो। 
    तिलौराकोटमा अहिले उत्खनन् कार्य जारी छ। बुद्धका पिता शुद्धोधनको दरबार रहेको क्षेत्रलाई तार र पर्खालले संरक्षण गरिएको छ। उक्त संरक्षित स्थलको पश्चिमीद्वारबाट का. रोहित प्रवेश गर्नुहँुदा उहाँलाई स्वागत गर्न पुगिसकेका थिए पुरातत्त्व विभागका अध्येता विष्णु पाठक, उत्खनन्मा सहभागी बेलायतको डुरह्याम विश्वविद्यालयका डा. क्रिष्टोफर डेभिसलगायतको टोली। का. रोहितलाई संरचना र उत्खनन्सम्बन्धी जानकारी गराइरहेका थिए उनै क्रिष्टोफर डेभिसले, अङ्ग्रेजी भाषामा। पश्चिमी द्वारबाट प्रवेश गरेको अध्यक्ष का. रोहित, चैत्यराज शाक्य, अनुराधा, सुरेन्द्रराजलगायतको टोलीलाई मध्यभागको वास्तु अवशेष, मध्य भागमै भेटिएको पोखरीको अवशेष र माइथानको मन्दिरजस्ता पुरातात्त्विक क्षेत्रको व्याख्या डेभिसले गरिरहेका थिए। 
    दरबारको भाग हुँदै जब टोली बुद्धले दरबार छोड्दा प्रयोग गरेको बाटो हिंड्दै थियो पुरातत्वका विष्णु पाठकले चाँदीका सिक्का भेटिएको ठाउँ हेर्ने प्रस्ताव राखे। उनको प्रस्तावमा सहमति हुनासाथ अलि हिंड्नुपर्ने आवश्यकता पनि उल्लेख गरिहाले। तर, का. रोहितको मुहारमा थकान रत्तिभर थिएन। उहाँको जोशसँगै टोली लम्किहाल्यो। जब काँडे तार र पर्खाल पार गर्न का. रोहित निहुरिनुभयो क्यामेराहरूको क्लिक एक्कासी हतारिए। 
    का. रोहितको टोलीलाई कान्तिपुरका पत्रकार मनोज पौडेलले पछ्याइरहेका रहेछन्। संरक्षित क्षेत्रको परिधि नाघेर चाँदी भेट्टिएको खेततर्फ लम्कँदै गर्दा पौडेलले खुसुक्क रोहितलाई सोध्न भ्याइहाले, “माननीयज्यू, पुरातात्विक क्षेत्रको संरक्षण र विकासतर्फ लाग्न के गर्नुपर्ला?” उत्तर आइहाल्यो― “सबैभन्दा पहिला नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिएर पुरातात्त्विक अध्ययन गराउनुपर्छ। हाम्रो आफ्नै विज्ञ पनि त हुनुपर्‍यो।” उहाँको कुरामा सहमति जनाउँदै पौडेलले आफ्नोतर्फबाट पुरातात्त्विक क्षेत्रको संरक्षणको लागि जग्गा अधिग्रहण गर्नुपर्ने विचार व्यक्त गरे। चाँदीको सिक्का भेटिएको खेतमा पुग्ने बेलामा एउटा खाली चौरमा पुर्‍याएर पुरातत्त्वका विष्णुले त्यहाँ निकै ठूलो स्तुप रहेको जानकारी दिए। 
    जग्गाधनी किसानलाई पाँच हजार रुपैयाँ दिएर उत्खनन् गरिएको खेतमा ४९५ वटा मौर्यकालीन चाँदीका सिक्का फेला परे। त्यो पनि एक बित्ताभन्दा कम गहिराइमा। यदि हलो अलि गहिरोसँग गाडेको भए सिक्का फेला परिहाल्ने ! यसले पनि तिलौराकोटको क्षेत्र पुरातात्त्विक इतिहासको लागि निकै संवेदनशील रहेको प्रमाणित गर्दछ। 
    सिक्का फेला परेको खेतपछि का. रोहितको पाइला १० मिनेट परको ई.पू. चौथो शताब्दीमा निर्मित तथा ई.पू. दोस्रो र पहिलो शताब्दीमा तीनपटक पुनःनिर्मित जोडी स्तुपको अवलोकनका लागि अगाडि बढे। स्तुप अगाडि राखिएको पुरानो खुइलिएको बोर्ड हेर्दै का. रोहितले नेपाली र अङ्ग्रेजी भाषाको साथै सिंहालीजस्ता भाषामा पनि सूचनापाटी राख्दा प्रभावकारी हुने सुझाव दिनुभयो। 
    भ्रमणपछि पश्चिमी द्वारमै विष्णु पाठकले चियाले सत्कार गरे। रुखको छहारीमा प्लाष्टिकको कुर्सीमा सुस्ताउनुभएका का. रोहितलाई अभिवादन गर्न आइपुग्नुभयो कपाल सेतै फुलेका बसन्त बिडारी। लुम्बिनी विकास कोषमा आबद्ध भइसक्नुभएका बिंडारी गत वर्षमात्रै पुरातत्त्व विभागबाट अवकाश प्राप्त हुनुभएको रहेछ। तैपनि हाल भइरहेको उत्खनन्मा योगदान गर्न उहाँ लागिपर्नुभएको रहेछ। द्वारमा बेच्न राखिएको पुस्तकमध्ये एउटा पुस्तक 'लुम्बिनीको मौन आह्वान' का. रोहितलाई बिडारीले उपहार प्रदान गर्नुभयो भने का. रोहितले पनि आफ्नो पुस्तक 'भक्तपुर आफ्टर अ सेन्चुरी' बिंडारीलगायत डेभिश, विष्णु पाठक, मनोज पौडेललाई प्रदान गर्नुभयो। 
    रुखको छहारीमा सुस्ताइरहँदा का. रोहितले सुुटुक्क बिंडारीलाई सोध्नुभयो, “तिलौराकोटको संरक्षणको लागि के गर्नुपर्ला?” देशको प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको पार्टीका अध्यक्ष, इमान्दार र निस्वार्थ छविले परिचित नेताले सुझाव माग्दा बिंडारीले झट्पट् भनिहाल्नुभयो, “पुरातात्त्विक महत्त्वको क्षेत्र अतिक्रमित भइरहेछ त्यसलाई जोगाउन मुआब्जा दिएर तुरुन्तै संरक्षणतिर लाग्नुपर्छ।” बिडारीको अनुहारमा चिन्ताको चित्र थियो। उहाँले आफ्नो कुरामा जोड दिंदै भन्नुभयो, “यी वरिपरिका खेतमा कसैले पाँचतारे होटल खोल्यो भने के होला? त्यसैले तुरुन्तै जमिन मुआब्जा दिएर भएपनि संरक्षित क्षेत्रफल बढाउनुपर्छ।” का. रोहितले निकै गम्भिरतापूर्वक बिंडारीको कुरा मनन गरिरहेको आभाष मिल्दथ्यो। आखिर देशभक्त नेतालाई देशको सम्पत्तिको चिन्ता लागिहाल्ने भयो। टोली फर्कंदै गर्दा विष्णु पाठक आभार व्यक्त गर्र्र्दैथिए, “यहाँ आएर यसरी गार्‍हो नमानी खेत–खेत पुगेर घुमिदिनुभयो, धेरै–धेरै धन्यवाद।” तर का. रोहितको विनम्रता उस्तै थियो, “आफ्नो देशबारे जानकारी राख्नैपर्‍यो नि !”
 
 
 
 
 
 
 
 

कल्पना (खण्ड काव्य)
भट्टराईको भारत भ्रमण राष्ट्रघातको अर्को श्रृङ्खला
नेक्राविसङ्घको ११ औं राष्ट्रिय सम्मेलनद्वारा पारित प्रस्तावहरू
लुम्बिनीको मौन आह्वान
'समाजवादी व्यवस्थामा मात्रै महिलाहरूले सम्मानित जीवन बिताउन पाउँछन्'
दलहरुको विवादले सार्वभौमिकता गुम्ने जनताको चिन्ता
'ज्योति' कथासङ्ग्रह पढ्दा
सन् २०१४ मा मानव अधिकारको स्थितिबारे नेपाल मजदुर किसान पार्टी
नेका, एमाले र एमाओवादी–मधेसी मोर्चाको अवधारणाले देश र जनताको हितमा संविधान नबन्ने



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी