विचार विश्लेषण

शैक्षिक आन्दोलनमा नेक्राविसङ्घ अग्रपङ्क्तिमा

 सरोजराज गोसाई, अध्यक्ष, नेपाल प्राध्यापक समाज
        (नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको एघारौं राष्ट्रिय सम्मेलन भरतपुरमा पहिलो दिन शुक्रबार उद्घाटन सत्रमा व्यक्त मन्तव्यको सार – सम्पादक)
    सम्मेलनमा भाग लिन देशका विभिन्न जिल्लाबाट भेला भएका युवा, विद्यार्थी तथा सज्जनवृन्दमा हार्दिक अभिवादन गर्दछु !
    सर्वप्रथम नेपाल प्राध्यापक समाजको तर्फबाट नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको एघारौं राष्ट्रिय सम्मेलन भव्यरुपमा सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु। नेक्राविसङ्घको ११ राष्ट्रिय सम्मेलन देशको राजनीतिक एवम् शैक्षिक परिवर्तनमा एउटा कोसेढुङ्गा प्रमाणित होस् भन्ने कामना पनि गर्दछु। 
    नेपालको राजनीतिक परिवर्तनमा फागुन–चैत महत्त्वपूर्ण छ। २०४६ सालको ऐतिहासिक आन्दोलन सुरुवात भएको दोस्रो दिन फागुन ८ गते भक्तपुरमा पञ्चायती निरङ्कुशतन्त्रको विरोधमा निस्किएको विशाल जुलुसमा सहभागी नेक्राविसङ्घका होनहार कार्यकर्ता राजकुमार सुवालले सहादत प्राप्त गरेका थिए। 
फागुन ८ को सङ्घर्षको क्रममा नेक्राविसङ्घका समर्थकहरू कृष्णराम दुवाल, हरिकृष्ण भूजु र निर्मलकुमार शाक्यले आफ्नो 
जीवन अर्पण गरेका थिए। ती नै सहिदको त्याग र समर्पणलाई हृदयङ्गम गरी अगाडि बढ्नु हामी आफ्नो कर्तव्य एवम् जिम्मेवारी ठान्छौं। स्वतन्त्रताप्रेमी, स्वाभिमानी एवम् देशभक्त जनताको सङ्घर्षलाई अझ अगाडि बढाउने इतिहासले सुम्पिएको जिम्मेवारी पूरा गर्न नेक्राविसङ्घका प्रत्येक कार्यकर्ता कटिबद्ध होस्, हृदयभरिको शुभकामना !
    नेक्राविसङ्घ नेपालको राजनीतिक एवम् शैक्षिक आन्दोलनमा सदा अग्रपङ्क्तिमा छ। २०३६ सालदेखि पटकपटक भएका जनआन्दोलनका प्रत्येक मोर्चामा नेक्राविसङ्घले डटेर सङ्घर्ष गरेको थियो। संयुक्त आन्दोलनमा नेक्राविसङ्घ कहिल्यै पनि अन्य विद्यार्थी सङ्गठनभन्दा सानो भएन। ठूला भनिएका विद्यार्थी सङ्गठनभन्दा नेक्राविसङ्घको जिम्मेवारी कम हुँदैनथ्यो। नेक्राविसङ्घ आन्दोलनको प्रत्येक अनुशासन पालना गर्ने विद्यार्थी सङ्गठनको रुपमा परिचित छ। नेक्राविसङ्घ निःस्वार्थ र इमानदार राजनीतिको दृष्टान्त सावित छ। भागवण्डाको कुचक्रमा नफसेको, राजनीतिलाई देश र जनताको सेवाको माध्यम बनाएको विद्यार्थी सङ्गठनको नाम हो, नेक्राविसङ्घ। 
    शिक्षाको आदर्श, सिद्धान्त र नीतिमा हाम्रो धारणा समान छन्। देशभक्त, न्यायप्रेमी एवम् प्रगतिशील प्राध्यापकहरूलाई सङ्गठित गरी तिनको पेशागत हक–हितको संरक्षण र संबर्द्धन तथा प्राज्ञिक उन्नयनको निम्ति, देशको भूगोल, हावापानी एवम् संस्कृतिअनुसारको राष्ट्रिय शिक्षा लागू गर्न, शिक्षालाई उत्पादन श्रमसँग मिलाउने नीति लागू गराउन, द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणप्रति इमानदार भई वर्तमान पूँजीवादी एवम् अर्धसामन्तवादी शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्न, प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुको साथै देश र जनताप्रति जिम्मेवार असल नागरिक तयार पार्न र कामदार जनताको शासन व्यवस्था समाजवादी गणतन्त्र स्थापनाको निम्ति सङ्घर्ष गर्ने युगीन आवश्यकताबोध गरी नेपाल प्राध्यापक समाजको गठन भएको हो। त्यसैले हामी नेक्राविसङ्घसँग शैक्षिक एवम् राजनीतिक आन्दोलनमा सदा सँगै हुन्छौं। 
    आन्दोलन र सङ्घर्षका कति नारा र माग समयअनुसार बदलिन्छ। तर नेक्राविसङ्घलेे स्थापनाका ४ दसकदेखि निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षाको नारा लगाइरहेको छ, शिक्षालाई श्रमसँग मिलाउने नारा लगाइरहेको छ, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला मागिरहेको छ, शैक्षिक अराजकताको अन्त्य खोजिरहेको छ। किनभने हालसम्मका राजनीतिक परिवर्तनहरूले श्रमजीवी वर्गका विद्यार्थीका माग पूरा गरेनन्। हालसम्मका राजनीतिक व्यवस्थाको रूप बदलियो तर सार बदलिएन, किनभने आजसम्मका राजनीतिक व्यवस्था शोषक वर्गको पक्षमा भए। आजको शिक्षा व्यवस्था पूँजीपति वर्गको हितमा लागू छ। सारमा देशका कलेज र विद्यालयहरूले बुर्जुवा उद्देश्य पूर्ति गरिरहेका छन्। ती कलेज र विद्यालय पूँजीपति वर्गको हितसँग जोडिएका छन्। कामदार वर्गका विद्यार्थीका शैक्षिक अधिकार सुनिश्चित गर्न पूँजीवादी व्यवस्थालाई नै फाल्नुपर्ने नेक्राविसङ्घको धारणाप्रति हामी पूर्ण समर्थन जनाउँछौं। 
    पूँजीवादी शिक्षाले व्यक्तिवादी, स्वार्थी, मानवीय संवेदनहीन, हरेक कुरा नाफा र नोक्सानीको तराजुमा नापतौल गर्ने बँधुवा मजदुर तयार गरिरहेको छ। नेक्राविसङ्घले सामूहिक भावना बोकेको, सबै खालको दासताबाट मुक्त नागरिक तयार पार्ने शिक्षा खोजेको छ। समाजवादी शिक्षा व्यवस्थाको निम्ति हुने हरेक आन्दोलनप्रति हामी ऐक्यबद्धता जनाइरहेका छौं। 
    नेक्राविसङ्घले नेपालको बेरोजगारी समस्याको समाधानको उपाय दिएको छ। हरेक वर्ष श्रमबजारमा देखिने ४ लाख युवामध्ये ३ लाख बेरोजगार छन्। यो सबै शिक्षालाई उत्पादन–श्रमसँग नमिलाउँदाको परिणाम हो। हामीले देशको भूगोल, हावापानी, संस्कृतिअनुकूलको शिक्षा व्यवस्थाको माग पनि गर्दै आएका हौं। हाम्रा मौलिक एवम् परम्परागत ज्ञान, सीप एवम् प्रविधिको अध्ययन अनुसन्धान हुनुपर्छ। शिक्षा हाम्रो अपार प्राकृतिक स्रोत र साधनको उपयोगको निम्ति हुुनुपर्छ। 
    बडो दुःखको कुरो छ, शैक्षिक संस्थाहरू भ्रष्टाचारीहरूको अखडा बन्दैछ। शैक्षिक क्षेत्रको भ्रष्टाचारलाई संरक्षण गर्ने काम शिक्षा मन्त्रालयले गरिरहेकोे छ। विश्वविद्यालयका उपकुलपतिमाथि भ्रष्टाचारको आरोप लागेको छ, यो अत्यन्तै ग्लानी र क्षोभको विषय हो। यसले नेपाली शैक्षिक संस्थाको साख घटाएको छ। नेपाली शैक्षिक संस्थाका प्रमाणपत्रलाई अन्तर्राष्ट्रिय जगतले अमान्य गर्ने आशङ्का पैदा भएको छ। शिक्षा क्षेत्रमा देखिएका यस्ता विकृतिबारे पनि नेक्राविसङ्घले आवाज बुलन्द गर्दै जाने हामी आशा गछर्ौं। 
    विश्वविद्यालयहरूमा समावेशीको नाममा अयोग्य व्यक्तिलाई नियुक्ति दिइँदा देशकै शिक्षाको स्तर खस्किईंदै छ। आरक्षणको नाममा हुनेखाने वर्गलाई अवसर दिइँदै छ। आरक्षणको नाममा अयोग्य र कमजोरलाई स्थान दिइँदा शैक्षिक प्रतिफल घट्दो छ। कुनै बेला चर्चित एवम् प्रभावकारी सरकारी कलेजहरूका शैक्षिक गतिविधि भताभुङ्ग भएका छन्। भनसुन र राजनीतिक भागवन्डामा आएका अयोग्य प्राध्यापकहरूको चुरिफुरी र गैरजिम्मेवार क्रियाकलापको कारण पुराना, योग्य एवम् इमानदार प्राध्यापकहरू निराश छन्। 
    नेपालको शिक्षा नीति निर्माणमा विश्व बैङ्कलगायतको प्रत्यक्ष हस्तक्षेप भइरहेको छ। तर दास मानसिकता बोकेका शिक्षाधीशहरू विश्व बैङ्ककै चाकडी बजाइरहेका छन्। हालै त्रिभुवन विश्वविद्यालयको सुधारका लागि भन्दै विश्व बैङ्कसँग साढे ६ अर्ब रुपैयाँ ऋण लिइएको छ। आर्थिक सहयोग, अनुदान वा सफ्ट लोनको नाममा बल्छि थापेर नेपाल र नेपालीलाई परनिर्भर, निःसहाय एवम् पङ्गू बनाइरहेका छन्। यदि विदेशी सहयोगकै भरमा विकास हुन्थ्यो भने अर्बौं अर्ब डलर खर्च भएर पनि किन अफ्रिकामा शिक्षा क्षेत्र अगाडि बढ्न सकेन? नेपालको उच्च शिक्षामा आएको अनुदान र सहयोग बालुवामा पानी किन भइरहेको छ? 
    सरकार नेपाली विश्वविद्यालयलाई डुबाउन खोज्दैछ। नत्र सरकारले विदेशी विश्वविद्यालयलाई निर्बाध भित्रिन दिने थिएन। सम्बन्धित देशमा मान्यता नै नभएको विश्वविद्यालयको कार्यक्रम सञ्चालन हुँदा पनि सरकारले कुनै कारबाही अगाडि बढाएको छैन। अमेरिकामा मान्यता नपाएको इन्टरनेसनल अमेरिकन युनिभर्सिटीमार्फत तीन वटा कलेजले बीबीए र एमबीए कार्यक्रम निर्वाध चलाइरहेका छन्। त्यतिमात्र होइन, भारतको सीबीएसइ बोर्डबाट सम्बन्धन लिएर खोलिएका दर्जन विद्यालयहरू स्वीकृतिविना सञ्चालन भइरहेका छन्। यसबाट पनि शिक्षामन्त्री विदेशी दलाल भएको पुष्टि हुन्छ। एउटा स्वतन्त्र र सार्वभौम देशमाथिको यो बलात आक्रमणको हामी सबैले निन्दा गर्नैपर्छ। 
    अन्तमा, समाजवादी गणतन्त्र प्रचार अभियान अझ अगाडि बढाउने, शिक्षामा नवउदारवादविरोधी सङ्घर्ष र वैदेशिक हस्तक्षेपविरुद्ध लड्ने नेक्राविसङ्घको प्रतिबद्धताको समर्थन गर्दै फेरि एक पटक सम्मेलन सफलताको कामना गर्दछु।
 
 
 
 
 

नेका–एमाले सरकारको उपलब्धिहीन एक वर्ष
'द युथ' बुलेटिन दोस्रो अङ्क पढ्दा
भाजपा नेताको भनाइ एउटा, भारतीय दूतावासको अर्को !
देशको नीति निर्माणमा विदेशीको प्रभाव बढ्दो छ
आर्थिक समानताले जनतालाई परिवर्तनको अनुभूति गराउने
शासक दलका कारण देश नवउपनिवेशको अवस्थामा
सङ्क्षिप्त जीवनी सङ्कलन 'हाम्रो प्रयास' पढ्दा
प्रश्नावलीमा नेपाल मजदुर किसान पार्टीको फरक मत
शासक दलहरूको 'भीष्म प्रतिज्ञा' र राजनैतिक बेइमानी



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी