विचार विश्लेषण

'शब्द संयोजन'– भूकम्प विशेष २०७२ पढ्दा

 प्रधान
    प्रकाशक तथा प्रधानसम्पादक वासुदेव अधिकारीद्वारा सम्पादित वर्ष १२, अङ्क २, पूर्णाङ्क १३३, २०७२ जेठको 'शब्द संयोजन' को 'भूकम्प विशेष – २०७२' समसामयिक  छ।  
    शिखर व्यक्तित्त्व, संवाद, कविता, गीत, गजल, मुक्तक, हाइकू अनि लेख, निबन्ध र संस्मरण तथा सहृदयी मन, अनुवाद तथा परिचर्चा, महाकाव्यांश र काव्यांश, अनुभूति र अभिलख, विविध विषय वा स्तम्भ यस अङ्कले समावेश गरेको छ। 
    सन् २०१५ अप्रिल अर्थात् १२ वैशाख २०७२ मा आएको/गएको भूकम्प पीडितहरूलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायबाट अर्बौ रकम सङ्कलन गर्ने बेलायती नायिका, टेली कलाकार तथा लेखिका जोहाना लामोण्ड लुम्लेबारे परिचय समेटिएको छ।
    संवादमा मनोसामाजिक विमर्शकर्ता ध्रुवराज थापासँगको संवाद छ भने तेस्रो स्तम्भमा राष्ट्रकवि माधव घिमिरेका 'घर बनाऊँ कस्तो?' देखि योगराज राईजस्ता युवा कविका 'साम्यवादी भुइँचालो' जस्ता कविता पनि समेटिएको छ। तर कविताले 'साम्यवादी' शब्दको गलत अर्थ लगाएको छ। चौथो खण्डमा ज्ञानमणि नेपालको 'बहत्तर सालको भूइँचालो भूकम्प: हिजो र आज' मा ९० सालको भूकम्पबारे र योजनाबद्ध ढङ्गले पुनःनिर्माणको सङ्केत गरिएको छ। प्रा.डा.जीवेन्ददेव गिरीले 'प्रज्ञा भवनभित्र भुइँचालो व्यहोर्दा'को शब्दचित्र र मानसिकता प्रस्तुत गर्नुभएको छ। ओशो मैत्रेयको 'मृगमयमा चिन्मय हो मनुष्य' सामयिक भएको भए सुनमा सुगन्ध हुने थियो। 
    तुलसीमान श्रेष्ठको 'त्रासदीय महाभूकम्प' मा १९९० साल र २०७२ सालको भूकम्पको तुलना सविस्तार प्रस्तुत छ। पाँचौ खण्ड 'सहृदयी मन' मा बेलायती गुगलका पत्रकार र लेखिका कारोले क्याडवाडरले 'विध्वंशकारी प्रकोप टीठलाग्दो राहत' शीर्षकमा २०० वर्षदेखि बेलायतको निम्ति लड्ने नेपाली पीडितहरूको निम्ति आफ्नो सरकारले दिएको ५० लाख पाउण्डको राहतलाई व्यङ्ग गरिन् – अर्थात् प्रतिव्यक्ति १२ पेन्स ! बेलायतका वर्तमान प्रधानमन्त्री डेभिड क्यामरोनजस्तै नेपालका प्रधानमन्त्रीहरू, मन्त्रीहरू र शासक दलका नेताहरूको खाइलाग्दा अनुहारहरूको सम्झना हुन्छ, जब उनको अभिव्यक्ति पढिन्छ –'... शिक्षा र स्वास्थ्यको अवस्था अत्यन्त दयनीय र कहालीलाग्दो छ। मृत्युदर अत्यधिक छ। नेपालीका लागि पैसा कमाउने मुख्य बाटो भनेको नै कतारको क्रेनमुनि जाने हो, घाममा सेकिएर घरमा पैसा पठाउने हो। काठमाडौंमा सालाखाला दैनिक तीनवटा लास झोलामा बेरिएर पुग्छन्।' भूकम्पबाट हृदयस्पर्सी र अत्यन्त पीडादायी दृश्य तिनीले देेखेकी छिन् र अनुभव गरेकी छिन्। 
    त्यस्तै बेलायत, ब्राजिल, स्वीट्जरल्याण्ड आदि देशका कवि र लेखकहरूले नेपाली पीडित जनताप्रति सहानुभूति र साहसका साथ उठ्ने भावना जगाउन ढाडस दिएका छन्। 
    मध्य अफ्रिकाको जाम्बियाको पहिलेको नाम हो – उत्तरी रोडेशिया। केनेथ काउण्डा (१९६४–९१) ले देशलाई स्वतन्त्रता प्रदान गर्न सङ्घर्ष गरे तथा उनी 
बाँकी पृष्ठ ७ मा
शब्द...
पहिलो राष्ट्रपति पनि भए। त्यही देशका कवि सिसेलिया फेथस्टोरीमार्फत नेपालको भूकम्पबारे एक कलेजको जानकारी दिए। त्यहाँका छात्र–छात्राहरूले ३८ वटा कविताहरूमार्फत नेपाली पीडितहरूप्रति सहानुभूति र ऐक्यबद्धता जनाए। ती कविताहरूका अनुवाद यस अङ्कमा समावेश छ। तावङ बान्दाका 'तिमी एक्लै छैनौ', माइकेल लूका 'हामी एक छौैं', पोनिसो लिपिमिलका 'मेरा प्रिय साथी' र पाउला नब्वाम्बाका 'हतासबीच आशा' जस्ता कविताहरूको अफ्रिका र नेपालको बीचमा मित्रताको भावनाको बीउ छर्ने काम गर्नेछन्। हो, नेपालीहरूलाई पेटि्रस लुम्बुम्बा, 'एन्क्रुमा, सेकुतेरे, नीरेरे, सङ्करा, मण्डेला, क्रिश हानी, गद्दाफी आदिबारे जानकारी छ। अब नयाँ पुस्ताले नेपाल र अफ्रिकी जनताको मित्रतालाई अगाडि बढाउने सङ्केत पाइन्छ।
    परिचर्चा, महाकाव्यांश र काव्यांश खण्डमा वास्तुकलाविद् जीवराज पोखरेलको 'मैना बुलबुल' (विपद् महाकाव्य) बारे प्रा. केशव सुवेदीले 'मैना बुलबुल महाकाव्यमा भूकम्पीय विपद् वर्णन' शीर्षकमा त्यस प्रस्तुतको राम्रो जानकारी दिनुभएको छ। प्राकृतिक विपद्बारे नेपाली साहित्यमा 'भूइँचालाको सवाइ' वा विपद्पछिका जानकारी गर्ने गीत र कविता पनि विभिन्न भाषा छन्। 'तर यस महाकाव्यले .... प्राकृतिक विपत्तिहरू आइलाग्नाका वैज्ञानिक, प्राविधिक पक्षहरूको वर्णनका साथै तिनले पार्ने प्रभाव र त्यसका विपत्तिबाट जोगिन अँगाल्नुपर्ने सचेतताका बारेमा विस्तृत काव्यात्मक सन्देश दिएका छन्।' यसरी प्रा. सुवेदीजीले 'मैना बुलबुल' को झण्डै समालोचना प्रस्तुत गर्नु अत्यन्त सामयिक छ। साथै यस अङ्कमा कविका विपद् महाकाव्यका 'भूकम्पबारे मन्थन' साभार गर्नु पनि अत्यन्त सान्दर्भिक छ। 
    सामान्य जीवनमै मागी खाने शासक वर्गले नेपाली जनतालाई माग्ने, ठग्ने, लुट्ने, दलाल बन्ने र अपराधी बन्न सिकाएको सबै भोगिआएकै हो। भूकम्पले मित्र देशहरूको स्वाभाविक सहानुभूति, उद्धार र राहतलाई सरकारको व्यवस्था गर्ने योजनाहिनताको कारण मगन्ते र परनिर्भर बन्ने श्रापलाई थोपर्दै गरेको लेखक, कवि, कलाकार र संवेदनशील समुदायले अनुभव गर्दैछन्। यस्तै परिस्थितिको प्रतिबिम्ब कवि रामप्रसाद ज्ञवालीको मन र मस्तिष्कमा प्रतिबिम्बित हुनु स्वाभाविक छ। 'भूकम्प र बुढी आमा' नामक लघु काव्यको अंश र उहाँको आत्मसम्मान शीर्षकको काव्यांशमा उठाउनुपर्ने नैतिकता र छ्यास्नुपर्ने प्रवृत्तिलाई मनग्ये रूपमा छ्यास्नुभएको छ र हीनताबोधबाट उठेर हिम्मतका साथ अगाडि बढ्ने सन्देश पनि विद्यमान छ। 
'अब जे जति बाँकी छन्, मेरा जीवनका क्षण
बाँच्छु पीडा पचाएर, सजिलै हार मान्दिनँ। 
मैलेमात्र यहाँ हैन पाएको दुःख वेदना
मलाईमात्र एक्लै यो परेको होइन पीडा
हजारौं छन् मझैं दुःखी, हजारौं छन् नि आहत
सुख्खैसुख सधैं भोग्ने जिन्दगी कसको छ र?
'एक्ली छैनौ तिमी आमा' भन्दै दिएर साहस
आउँदै छन् नयाँ मान्छे दिंदै हिम्मत राहत।
जिन्दगीका उकाली र ओराली सब बुझ्छ म
मृत्युविरूद्धको युद्ध लड्छु, आजन्म जुझ्छु म।
    घाइते आत्मालाई विश्वास दिलाउँदै कविका दृढता प्रस्ट हुन्छ –
मेरा विश्वास ठाडै छ धरहरा ढले पनि
ढल्दैन भावना मेरो आँधीबेरी चले पनि
हार्न सक्दैन नेपाली पहिरोले पुरे पनि
मिल्छन् पर्वतका साथै तराई र चुरे पनि
    स्वार्थले जातीयता र क्षेत्रीयताका पक्षपातीहरूलाई समेत कविले एक गर्ने मन्त्र फुक्दै नैतिकताको ज्यान फुक्ने कविले सन्देश सुनाउँछन्। 
गाउँकी दुखिया यौटी भन्छिन् रे 'लिन्नँ राहत'
'मभन्दा दुखियालाई लग्न देऊ' भन्छिन् अरे
तर सक्नेहरू चाहिं लुट्नमै व्यस्त छन् अरे।
    समाजमा सज्जन र दुर्जन भएको प्रस्ट छ, धनी र गरिब तथा शोषक र शोषित छन्। यसकारण कवि प्रस्ट पार्छन्  
केही धनीहरूका झन् छैनन रे शुभ लक्षण
बनी निर्लज्ज भन्छन् रे –'पाएको नलिने किन?'
केही युवाहरू अल्छी निर्लज्ज भतुवा बनी
थाप्छन् रे हात माग्ने भै विदेशीको घुँडामुनि। 
    कविको प्रहार ठीक ठाउँमा पुग्छ –
बलिया पनि कुद्छन् रे आईएनजीओ र एनजीओ
मुख ताक्ने विदेशीको कस्तो बानी परेछ यो?
अरूको भतुवा बन्ने, माग्ने बानी सपार्नु छ
अरूकै भरमा बाँच्ने भावना पर सार्नु छ
एनजीओले बिगारेको चेतना अब मार्नु छ।
    कविले बाटो पनि देखाएका छन् –
बुढी छु तर आत्तिनँ, निर्माणतिर लाग्छु म
भत्केको घरको खाँबा जम्मा पारेर गाड्छु म
ढुङ्गा–माटो बटुल्दै यो गारो आफै लगाउँछु
अर्काको आशमा बाँच्ने चुत्थो बानी भगाउँछु।
    अनुभूति भागमा सत्यमोहन जोशीदेखि अनेक व्यक्तित्त्वहरू, विद्यार्थीहरूका समेत भोगेका क्षणहरू र भावहरू समेटिएका छन् भने अभिलेख/विविध भागमा ९० सालको भूकम्पका अभिलेख भूगोलपार्कको स्तम्भबारे प्रा.डा. भवेश्वर पंगेनीको 'सबैको सिको' र अन्य पत्र र समाचारहरू सङ्गालिएका छन्। 
    ३६० पृष्ठको यस 'शब्द संयोजन' अङ्क समसामयिक छ, आकार–प्रकार र छपाइ एवं कागज स्तरीय छ। देशी र विदेशी लेखक, कवि र कलाकारहरूको स–साना परिचयसमेत भएको भए पाठकहरूले थप जानकारी पाउने थिए। यस मासिक प्रकाशनका सम्पादन र अन्य क्षेत्रका सबै व्यक्तित्त्वहरूप्रति साधुवाद र नियमित प्रकाशन भइरहने विश्वास छ।

बाँकि विचार विश्लेषण


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी