|
पुरातात्त्विक सम्पदाको संरक्षणमा स्थानीय निकायको सक्रियता आवश्यक काठमाडौं। इन्द्रायणी ढापा खलःद्वारा टोखामा आयोजित लाखे महोत्सव– २०७२ को समुद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले बुधबार एक समारोहबीच गर्नुभयो। समारोहका प्रमुख अतिथि अध्यक्ष रोहितले सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरूको संरक्षणमा सरकारको ध्यान नगएकोले स्थानीय निकायहरू सक्रिय भएर ऐतिहासिक महत्त्वका मठ–मन्दिरहरू र परम्परागत नाचगानहरूको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो। स्थानीय निकाय र जनताको सहकार्यमा सरकारको सहयोगविना नै कला र संस्कृतिको जगेर्ना गर्न भक्तपुरको अनुभवबारे प्रस्ट्याउँदै उहाँले लाखे नाचको ऐतिहासिक महत्त्वबारे आलोचनात्मक अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। पर्यटन तथा संस्कृति मन्त्री कृपासुर शेर्पाले भूकम्पले क्षति भएका सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माण गर्न सरकारले १८० करोड बजेट छुट्याएको र दुईदेखि पाँच वर्षभित्र पुनःनिर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो। सांसद रामेश्वर फुँयालले टोखाको चाकुलाई सरकारले प्रवर्द्धन गर्न नसकेको विचार राख्नुभयो। सांसद मीरा ध्वजूले नाकाबन्दीबाट पाठ सिकेर सरकारले आफ्नो परम्परागत संस्कृति जगेर्नामा ध्यान दिई आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो। कार्यक्रममा संस्कृतिविद् प्रा.डा. चुन्दा बज्राचार्यले लाखे नाचको बारेमा बोल्नुभयो। टोखा नपाका कार्यकारी अधिकृत ऋषिराम अर्यालले 'नेपाली संस्कृति टोखाको सान, संस्कृति बचाउने हाम्रो अभियान' भन्ने नाराका साथ नगरपालिकाले काम गर्ने बताउनुभयो। विभिन्न राजनीति दलका प्रतिनिधिको आतिथ्यता रहेको लाखे महोत्सवमा ३० वटा समूहको लाखे नाच प्रदर्शन भएको आयोजक समितिका अध्यक्ष सूर्यमान डंगोलले जानकारी दिनुभयो।
|