कोरियाली जनताको न्यायपूर्ण सङ्घर्षको पक्षमा नेमकिपा

भक्तपुर। नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको आयोजनामा शुक्रबार कोरियाली मजदुर पार्टीको ७० औं स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो। 
    कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले दुई कोरियाबीच शान्तिपूर्ण पुनःएकीकरण हुने आशा व्यक्त गर्नुभयो। 
    उहाँले प्रजग कोरियाको साम्राज्यवादविरोधी सङ्घर्षप्रति ऐक्यबद्धता जनाउँदै कोरियाली जनताको न्यायपूर्ण सङ्घर्षको पक्षमा नेमकिपा उभिने बताउनुभयो। 
    अध्यक्ष रोहितले कोरियाली मजदुर पार्टी, जनता र नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
    नेपालका लागि प्रजग कोरियाका राजदुत किम योङ हकले भूकम्पपछि नेपालमा राजनीति जटिलता थपिएको भन्दै नेपालले समस्याको समाधान छिटो निकाल्ने आशा व्यक्त गर्नुभयो। राजदूत हकले सङ्घर्ष सजिलो नभएको तर समस्याको सामना गरी विजय प्राप्त गर्न सकिने भन्दै कोरियाली मजदुर पार्टीको नेतृत्वमा शक्तिशाली सेना र पार्टीको वरिपरि जनता एक ढिक्का छन् भन्नुभयो। 
    नेपाल कोरिया मैत्री सङ्घका अध्यक्ष प्राध्यापक माणिकलाल श्रेष्ठले कोरियाली मजदुर पार्टी कोरियाली क्रान्तिबाट जन्मिएको पार्टी भएको भन्दै कोमपामा किसान, मजदुर र क्रान्तिकारी बुद्धिजीवीको नेतृत्व रहेको बताउनुभयो। उहाँले भन्नुभयो, 'कोमपाको झण्डामा किसान, मजदुर र बुद्धिजीवीको प्रतीकस्वरुप हँसिया, हथौडा र कलम छ।' प्राध्यापक श्रेष्ठले सहयोगको नाममा अमेरिकी साम्राज्यवाद दक्षिण कोरियामा आएर जापानको ठाउँ लिएको बताउनुभयो।
    कोरिया पुनः एकीकरण सहयोग समितिका सचिव सरोजराज गोसाईले अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गू देशहरूसँग लडिरहेको एउटा एसियाली सानो देश कोरियाको शासक पार्टी कोरियाली मजदुर पार्टीको स्थापना दिवसले नेपाली जनतालाई नझुकी सङ्घर्ष गर्न प्रेरणा दिन्छ भन्नुभयो। 
    कोरिया अध्ययन मण्डलका सदस्य धीरेन्द्रमान बिजुक्छेंले कोरियाली मजदुर पार्टीको नेतृत्वमा कोरियाले अतुलनीय प्रगति गरको बताउनुभयो। 
    नेमकिपा विदेश सम्बन्ध समितिका प्रमुख प्रेम सुवालको सभापतित्वमा भएको कार्यक्रममा सहभागीको तर्फबाट कोरियाली मजदुर पार्टीलाई पठाइने शुभकामना सन्देश पारित गरिएको थियो। कार्यक्रममा पार्टी विदेश सम्बन्ध समितिका सदस्य सुरेन्द्रराज गोसाई र रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो।  
 
 
 
 
 

बाँकि प्रमुख समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी