प्रममा नेमकिपाद्वारा एमाले अध्यक्ष ओलीको पक्षमा मतदान अध्यक्ष ओलीको प्रतिबद्धता

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) द्वारा हस्ताक्षरित पत्र प्राप्त भयो। उक्त पत्रमा उल्लिखित विषयहरू देश र जनताको पक्षमा छन्। यी विषयहरूप्रति नेकपा (एमाले) को समर्थन रहेको छ। पत्रमा उल्लेखित यी विषयहरूमा नेमकिपासंग जीवन्त छलफल एव्म परामर्श गरी कार्यान्वयनका कदमहरू अघि बढाइने छ। 
    काठमाडौं। व्यवस्थापिका–संसदमा आइतबार सम्पन्न प्रधानमन्त्री निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्रीका उम्मेदवार नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको पक्षमा मतदान गर्‍यो। 
    पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को अध्यक्षतामा आइतबार बिहान बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले 'देश र जनताको हितका पक्षमा पार्टीले अगाडि राखेका १२ बुँदाहरूमा प्रधानमन्त्रीका उम्मेदवार नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले समर्थन गर्दै कार्यान्वयनको प्रतिबद्धता जनाउनुभएकोले व्यवस्थापिका–संसदमा आज हुने प्रधानमन्त्री निर्वाचनमा के. पी. शर्मा ओलीको पक्षमा मतदान गर्ने' निर्णय गरेको थियो।
    नेकपा(एमाले) का अध्यक्ष के. पी. शर्मा ओलीले प्रधानमन्त्री उम्मेदवारमा आफ्नो पक्षमा सहयोग गर्न नेमकिपालाई पत्र पठाएकोमा पार्टीको तर्फबाट १२ बुँदासहित पार्टी सचिव सुनिल प्रजापति र सांसद प्रेम सुवालले अध्यक्ष ओलीलाई पत्र बुझाएपछि प्रधानमन्त्रीका उम्मेदवार ओलीले नेमकिपाले राखेका १२ बँुदामा समर्थन गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको हो। 
नेमकिपाले राखेका 
१२ बुँदा
१.    देश र जनताको हितविपरीत सन्धि र सम्झौता नगर्ने तथा नेपाल–भारत खुला सिमाना नियमित गर्न कदम चाल्ने,
२.    संविधान घोषणालगत्तै भारतले नेपालमा नाकाबन्दी लगाएको हुँदा पेट्रोलियम पदार्थ र अन्य उपभोग्य सामान बंगलादेशलगायत अन्य मित्र देशहरूबाट आयात गर्ने बन्दोबस्त गर्ने,
३.    भारतको निर्देशनमा संविधान संशोधन नगर्ने,
४.    सरकार सञ्चालन गर्न संयन्त्रको निर्माण गर्ने,
५.    भूकम्प प्रभावित संरचना पुनःनिर्माण गरी भूकम्प पीडितहरूको शीघ्र व्यवस्थापन गर्ने।
६.    उच्च माविसम्म अनिवार्य र निःशुल्क तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्ने,
७.    स्वास्थ्य उपचार निःशुल्क गर्ने,
८.    भ्रष्ट मन्त्री र उच्चपदस्थ कर्मचारीहरूलाई अविलम्ब कारबाही गर्ने,
९.    महँगी नियन्त्रण गर्ने र कालाबजारी गर्नेहरूलाई कडा कारबाही गर्ने।
१०. युवाहरूलाई स्वदेशमै रोजगारी दिने र बेरोजगार युवाहरूलाई भत्तासहित तालिम दिने,
११.    दलहरूबीच भागवण्डाको अन्त्य गरी योग्य व्यक्तिलाई नियुक्ति गर्ने व्यवस्था गर्ने। 
१२.    उल्लिखित बँुदाहरू कार्यान्वयन गर्न दुईपक्षीय सहमति गरी कार्यान्वयनको लागि बैठक र छलफललाई निरन्तरता दिने।
समर्थन भागवण्डाको लागि होइन 
    नेमकिपा सांसद प्रेम सुवालले संसदमा नेमकिपाले विगतदेखि सरकारको नीति तथा कार्यक्रम, बजेट, विधेयकबारे संसद र संसदका 
समितिहरूमा देश र जनताको हितमा विचार राख्दै प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। 
    उहाँले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीका उम्मेदवार खड्गप्रसाद ओलीले असोज १४ गते नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) लाई भेटेर प्रम पदमा समर्थन मागेको उल्लेख गर्दै त्यसबेला अध्यक्ष बिजुक्छेंले देश र जनताको हितमा नीति तथा कार्यक्रमलाई हेरेरमात्र समर्थन गर्ने जानकारी गराउनुभएको छलफलमा राख्दै ओलीजीको सरकारले देश र जनताको हितविपरीत सन्धि–सम्झौता नगर्ने तथा नेपाल–भारत खुला सिमाना नियमित गर्ने कदम चाल्नुपर्नेलगायत नेमकिपाले एमालेलाई लेखेको पत्रमा उल्लेख विषयबारे चर्चा गर्नुभयो। 
    सांसद सुवालले संविधान घोषणालगत्तै नेपालमा भारतले नाकाबन्दी लगाएको हुँदा पेट्रोलियम पदार्थ र अन्य उपभोग्य सामान बङ्गलादेशलगायत अन्य मित्र देशहरूबाट आयात गर्ने बन्दोबस्त गर्नुपर्ने नेमकिपाको पत्रमा उल्लेख भएको विषय राख्नुभयो। 
    उहाँले भारतको निर्देशनमा संविधान संशोधन गर्न नहुने बताउनुभयो। 
    सांसद सुवालले नेमकिपाले देश र जनताको विषयलाई प्राथमिकता दिने उल्लेख गर्दै भागवण्डा र सहुलितयको लागि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नेमकिपाले समर्थन नगरेको स्पष्ट गर्नुभयो। 
    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्रीका उम्मेदवार खड्गप्रसाद ओलीले नेमकिपाले राखेका देश र जनताका पक्षमा विषयहरूलाई जीवन्त छलफल एवं परामर्श गरी कार्यान्वयनका कदमहरू अघि बढाइने प्रतिबद्धता गरेकोले उहाँको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद सुवालले छलफलमा राख्नुभयो। 
    निर्वाचनमा ५८७ जना सांसदहरूको उपस्थिति भएकोमा एमाले अध्यक्ष ओलीले ३३८ मत प्राप्त गरी प्रधानमन्त्री पदमा निर्वाचित हुनुभयो भर्ने अर्का प्रत्यासी उम्मेदवार नेका सभापति सुशील कोइरालाले २४९ मत प्राप्त गर्नुभयो।
नेपालमाथि नाकाबन्दी लगाउनु आपत्तिजनक
    व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा सांसद प्रेम सुवालले समसामयिक विषयमा बोल्दै नेपाल र भारतको सम्बन्ध इतिहासजतिकै पुरानो भएको तर नेपालमाथि नाकाबन्दी लगाउनु आपत्तिजनक रहेको बताउनुभयो। 
    उहाँले भन्नुभयो, 'मित्र देश भारतले नेपालमाथि संविधान घोषणालगत्तै नाकाबन्दी लगाउँदै छ, एक मित्र देशले अर्को मित्र देशमाथि नाकाबन्दी लगाउँदैन, भारतले केही मधेसवादी दलहरूको अवरोधका कारण सामान नेपालभित्र प्रवेश नगरेको बताए पनि भारतीय सुरक्षा बलले भारतबाट नेपालतर्फ सामान बोकेको गाडी नपठाएको जनताले देखेका छन्।'
    सांसद सुवालले भारतले भूपरिवेष्ठित देश नेपाललाई समुद्रसम्मको पारवहन सुविधा दिनुपर्ने भन्दै नेपाल सरकारले नाकाबन्दी हटाउने र यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने काम गर्न नसकेको उल्लेख गर्नुभयो। 
    भारतीय राजदूतले नेपालको प्रमलगायत मन्त्री र अधिकारीहरूलाई बरोबर भेट गरेको समाचार आउँछ तर नेपालको राजदूतले आफ्नो कुशलता र योग्यता देखाउन नसकेको भन्दै सांसद सुवालले अयोग्य राजदूतहरूकै कारण नेपालको अर्थ कूटनीति सफल नभएको उल्लेख गर्नुभयो।
    झण्डै दुई महिनासम्म नाकाबन्दी हुँदा नेपाली जनताको जीवन कठिन भएको भन्दै सांसद सुवालले सरकारले बङ्गलादेशलगायतबाट ग्यास र चीनबाट तेल ल्याउने विकल्प तत्काल उपाय अपनाउनुपर्छ भन्नुभयो। 
    सांसद सुवालले संविधानको मसी नसुक्दै संशोधन गर्नु अदूरदर्शिता वा आत्मसमर्पण भएको उल्लेख गर्नुभयो।

बाँकि प्रमुख समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी