एकक्षण

नयाँ प्राचार्य

अप्सरा
दृश्य–एक
    (भर्खर नयाँ नियुक्त एक उच्च माविका प्राचार्य कृष्ण आचार्य आफ्नो कोठामा टेबुल अगाडिको मेचमा बसिरहेका छन्। अगाडि र  दाँया–बाँया पनि एक–एक वटा मेच राखिएका छन्। भित्र एउटा क्यालेण्डर छ। कापीमा केही लेख्न बसेका छन्।)
हरिहर– (कोठामा प्रवेश गर्छ)  झुकेर नमस्ते गर्छ। चिफ सर, सबभन्दा पहिले म हजुरलाई प्राचार्य नियुक्त हुनु भएकोमा बधाई दिन चाहन्छु। मेरो नाम हरिहर प्रजापति हो, केहीवर्ष अघिदेखि मैले एक पाठ्यपुस्तकको प्रकाशनको काम गर्दैछु, काठमाडौंको डिल्लीबजारमा एउटा पुस्तक डिपार्टमेन्ट छ, बागबजारमा मेरो सप्लाई सेन्टर छ र देशका विभिन्न जिल्लामा मेरो प्रकाशनका शाखाहरू छन्। 
    मैले २–४ वर्ष अगाडि हजुरको विद्यालयमा विज्ञान र गणितको पुस्तकमार्फत् सेवा गरेको थिएँ। मैले विद्यालयको पुस्तकालयमा सन्दर्भ पुस्तकहरू प्रदान गरेर तथा केही शिक्षण तालिमहरूमार्फत् पनि सेवा गरेको थिएँ। (एक क्यालेण्डर र डायरी दिंदै) यो मेरो प्रकाशनको क्यालेण्डर र यो डायरी हो हजुर !  यसरी मैले हजुरको नियुक्तिमा बधाई ज्ञापन गर्न हाम्रो प्रकाशनको क्यालेण्डर र डायरी टक्र्याउन पाएकोमा म सार्‍है गर्वको अनुभव गर्दैछु। हजुरजस्तो नयाँ नेतृत्व पाएर यो उच्च माविले धेरै प्रगति गर्ने विश्वास गर्छु। 
    (प्राचार्य क्यालेण्डर र डायरी ओल्टाई–पल्टाई हेर्छन्।)
कृष्ण आचार्य – क्यालेण्डर र डायरी बडो रङ्गीन र आकर्षक छ। पुस्तकहरू पनि राम्रै हुने अनुमान गर्छु।
हरिहर – प्राचार्यज्यू, मैले पहिले पनि यस विद्यालयलाई पाठ्यपुस्तकमार्फत् सेवा गर्दा त्यसबेलामा गणितका सरलाई केही उपहार पनि चढाएको थिएँ। उहाँ अहिले अन्तै जिल्लामा सरुवा हुनुभएको हुँदा म आफै आएर हजुरलाई दुःख बिसाउँदै छु। उहाँ यही विद्यालयमा हुनुभएको भए अन्य विद्यालयमा पनि हाम्रो प्रकाशनले सेवा गर्न पाउने थियो। उहाँले लेख्नुभएको गणितका पुस्तक पनि हामीले विभिन्न जिल्लाका धेरै विद्यालयमा पुर्‍याएका छौं र हरेक वर्ष हाम्रो प्रकाशनले एक दुई लाख रुपैयाँ भेटी पनि चढाउने गरेको छ।
कृष्ण – विद्यालयमा तपाईंको प्रकाशनका पुस्तकहरू राख्दा अन्य विद्यालयलाई पनि व्यक्तिगत सहयोग गर्नुभएको छ?
हरिहर – प्राचार्यज्यू पनि ख्याल–ठट्टा गर्नुहुन्छ। भेटी अगाडि नै नटक्र्याई हामी कहाँ सेवा गर्छौं र हजुर?
कृष्ण – कस्तो सहयोग कसलाई कसरी गर्नुहुन्छ?
हरिहर– ओहो ! प्राचार्य सर, कस्तो थाहा नपाएकोजस्तै भोलाभाला प्रश्न गरेर मलाई लज्जित पार्नुहुन्छ !
    कुनै पनि विद्यालयको सञ्चालक समितिका अध्यक्षज्यू, प्राचार्य सर वा गणित, विज्ञान र अङ्ग्रेजीका सरमध्ये एकजनाले सहयोग नगरी हाम्रो व्यापार नै कसरी अगाडि बढ्छ हजुर?
कृष्ण – के सञ्चालक समितिका अध्यक्षज्यूहरूले पनि प्रकाशकहरूसँग 'सहयोग' लिने गर्छन्?
हरिहर – निजी विद्यालयहरूका सञ्चालक समितिका अध्यक्ष आफै पनि शेयरहोल्डर वा अंशियार हुन्छन् र उहाँ सार्‍है भलाद्मी भएमा प्राचार्य वा अन्य शिक्षकहरूमार्फत् हाम्रो सेवा चालू हुन्छ र कुनै–कुनै विद्यालयमा अध्यक्ष र सरहरू यस्तो व्यापारमा ध्यान दिनुहुन्न भने हाम्रा एजेन्टहरूले जिल्ला–जिल्लामा विद्यालयका कर्मचारीहरूमार्फत् काम फत्ते गर्छन्।
    (कोठामा अर्को व्यक्तिको प्रवेश र प्राचार्यलाई नमस्कार गर्छ, प्राचार्यले नजिकको मेचमा बस्ने सङ्केत गर्छन्, नवआगन्तुक मेचमा अदवसाथ बस्छन्।) 
हरिहर – (नमस्ते गर्दै उठ्छन्।) हजुर, समय दिनुभयो। धेरै 
आभारी छु। म फेरि हजुरसँग सम्पर्कमा रहन्छु र सरको मसँग घरको र विद्यालयको फोन नम्बर र मोबाइल नम्बर पनि छ। धन्यवाद सर ! बिदा ! (बाहिर जान्छन्।)
    (विद्यालय प्राचार्यले पनि बिदाइको हात हल्लाउँछन् र नयाँ आगन्तुकतिर हेर्छ।) आगन्तुकले अभिवादन गर्छन्।) 
कृष्ण – नमस्ते ! (अभिवादन फर्काउँछन्)
    नवआगन्तुक – प्राचार्य सर, मेरो नाम विष्णु श्रेष्ठ हो। मैले अन्य उच्च माविहरू र क्याम्पसहरूमा पनि कापी, कलम, फाइल वा सबै प्रकारका स्टेशनरी सामान सप्लाई गरी सेवा गर्दैआएको छु। एउटा एउटा विद्यालय र क्याम्पसमा वर्षमा ३०–३० र ३५–३५ लाखको स्टेशनरी सामान सप्लाई गर्छु। यस जिल्लामा मात्रै होइन देशभरि हाम्रो शाखा छ।
    यसकारण प्राचार्यज्यूले यस विद्यालयमा सेवा गर्ने अवसर दिनुभएमा हाम्रो फर्मले पनि उचित सेवा गर्ने थियो।
    प्राचार्यज्यू, मैले कर्मचारीहरूमार्फत् थाहा पाएँ, अहिले यस विद्यालयलाई स्टेशनरी सामान पुर्‍याउने फर्मले भन्दा एक प्रतिशत कम मूल्यमा राम्रो गुणस्तरको सामान उपलब्ध गर्ने अवसर दिनुहोला भनी आग्रह गर्न चाहन्छु। 
कृष्ण – तपाईंको फर्मले के–के सामान सप्लाई गर्छ?
विष्णु – कार्यालयलाई चाहिने रजिष्टरहरू, फाइल, परीक्षाको निम्ति आवश्यक कापी, कलम, इरेजर, साइनपेन, डटपेन, विभिन्न प्रकारका हाइलाइटर पेनहरू, विद्यालयलाई चाहिने अन्य सबै शैक्षिक सामग्री र पुरस्कारको निम्ति चाहिने सबै सामान हामीले उपलब्ध गराउन सदा एक कल घण्टी आउनासाथै हाम्रो व्यक्ति हजुर सामुने उपस्थित हुनेछ। 
कृष्ण – पहिले हाम्रो विद्यालयलाई तपाईंले कहिल्यै सामान सप्लाई गर्नुभएको थिएन?
विष्णु – हो, प्राचार्यज्यू, मैले केही वर्ष अगाडि यस विद्यालयमा सेवा गर्ने अवसर पाएको थिएँ, तर यहाँका विज्ञान शिक्षक र अङ्ग्रेजी शिक्षकको माग र कर्मचारीहरूको दबाबलाई सहन सकेनौं र त्यसबेला हाम्रो  आजको जस्तो स्थिति पनि थिएन, हामी भर्खर फष्टाउँदै थियौं, त्यसैले हाम्रो पक्षले सेवा गर्ने अवसर पाएन। 
कृष्ण – हाम्रा शिक्षकहरू र हाम्रा कर्मचारीहरूको के–कस्ता माग र दबाब थियो?
विष्णु – वर्षमा एकजना विद्यार्थीलाई काठमाडौंको नाउँ चलेको महँगा कलेजमा भर्ना गर्ने जिम्मा र कर्मचारीहरूका छोरा–छोरीहरूलाई आर्थिक सहयोग वा केही प्रतिशत व्यक्तिगत सहयोग !
कृष्ण – ती सहुलियत दिनुभएन त साहुजी?
विष्णु – त्यसबेला म सानो व्यापारी थिएँ, मेरा अन्य प्रतिद्वन्द्वी मभन्दा ठूलो थियो, त्यसैले म पछि हट्नुपर्‍यो। अहिले त म हजुरकै छोरा–छोरीलाई विदेशमा मेडिकल पढाउन सहयोग गर्नेथिएँ। प्राचार्यज्यू, यसबारे मेरो एउटै मात्र आग्रह हो – मैले पाँच वर्ष यस विद्यालयमा मैले सामान सप्लाई गर्न पाउनुपर्छ। (एकक्षण रोकेर) सर, तर यो मेरो शर्त होइन ! म आँट गर्नसक्छु भन्ने अनुरोध मात्रै हो। 
    (नयाँ आगन्तुकको प्रवेश)
कृपाराम –  (नमस्ते गर्दै) नमस्ते प्राचार्यज्यू !
विष्णु – समय दिनुभयो सरले, आभारी छु मेरो नाम कार्ड ! (कार्ड दिंदै र निस्कन्छन्)     
कृष्ण – (कृपारामलाई बस्ने सङ्केत गर्छन्, कृपाराम मेचमा बस्छन् ) तपार्इंको परिचय?
कृपाराम – प्राचार्यज्यू, हजुरको नियुक्ति हाम्रो परिवारलाई सार्‍है खुशीको समाचार बन्यो। योग्य व्यक्ति, उपयुक्त पदमा आसिन भएपछि संस्था र देशको द्रुततर प्रगति गर्न बेर छैन। म यस विद्यालयमा चार वर्षदेखि आवश्यक ड्रेस सिलाईमा सेवा गर्दै आएको छु, सर ! अन्य विद्यालय र कलेजको ड्रेसभन्दा हाम्रो विद्यालयका छात्र छात्राहरू बाटोमा हिंड्ने बेलामा हाम्रो विद्यालयको सबैले नाम लिन्छन् र ड्रेस चिट्टिक मिलेको हुँदा हाम्रा छात्र–छात्राहरू सार्‍है योग्य र फुर्तिला देखिन्छन्। जसरी चार वर्षदेखि सेवा गर्दै आएको छु – यस्तै आउने वर्ष पनि विद्यालयको सेवा गर्ने अवसरको निम्ति दर्शन गर्न आएको हुँ, प्राचार्यज्यू।
कृष्ण – अरु विद्यालय वा कलेजको पनि ड्रेस तपार्इंले नै जिम्मा लिनु भएको हो कि कृपारामजी?
कृपाराम – प्राचार्यज्यू , मेरो फर्म ठूलो छैन, यही विद्यालयको मात्रै म ड्रेस सिउँछु। बरु मेरो टेलरिङ्गको कोट, सुट वा अन्य सबै प्रकारका लुगा तयार गर्छ–राष्ट्रिय पोशाकदेखि महिलाहरूको ब्लाउज, कुर्ता, मिनिस्कर्ट, पाइन्ट सबै सिलाई हुन्छ। मेरो फर्ममा महिला सेक्सन अलग्गै छ, हजुर ! दिनको १०–२० जना तालिमप्राप्त महिला टेलरहरू काम गर्छन्। भनेको समयमा ड्रेस डेलिभरी गर्नु नै मेरो तेलरिङ्गको विशेषता हो सर !
    प्राचार्यज्यू, मैले फित्ता ल्याएको छु, अजमाउनुस् अर्थात् मेरो सीप  जाँच्नु भए हुन्छ, म २४ घण्टाभित्र एकजोर सुट तयार गर्न सक्छु। (फित्ता झिकेर कृष्णको नाप लिन तयार हुन्छ।)
कृष्ण –ठीकै छ –कृपारामजी मैले पत्याएँ, तपाईं आफ्नो सीपमा जरुरै अब्बल हुनुहोला।
(म्याडम – प्राचार्यज्यूको श्रीमतीको प्रवेश)
कृपाराम – दर्शन म्याडम, मेरो त अहोभाग्य हो, मैले म्याडमको निवासमा आउने सौभाग्य पाएँ।
म्याडम – कुराकानी भयो, हजुरसँग (कृष्णलाई हेर्दै) उहाँ त सार्‍है सिपालु र भनेको समयमा डेलिभरी दिनसक्ने टेलरिङ्ग हो उहाँको ! हामी केही मिसहरू उहाँको टेलरिङ्गमा पुगेका थियौं।
कृष्ण – ठीकै छ, कृपारामजी आउनुभयो, बधाईको निम्ति धन्यवाद ! अब २–४ महिनापछिमात्रै नयाँ सेशन सुरु हुन्छ। त्यसबेला आवश्यक भए खबर गर्न लगाउँछु। 
कृपाराम – हजुर म त जहिले पनि  सेवामा हाजिर, सेवा गर्दै आएको विद्यालय हो, म्याडमलाई सबै कुरा जाहेर छ। 
म्याडम – हो, उहाँप्रति विद्यालयको कुनै गुनासो सुनिएको छैन सर !
कृपाराम – धन्यवाद म्याडम ! प्राचार्यज्यू दर्शन पाएँ, मैले। लाख भयो, म बिदा पाउँ, नमस्ते !
कृष्ण – नमस्ते !
म्याडम – पौने १० बज्यो ! भूजा तयार भइसकेको छ। 
(पर्दा खस्छ !)

क्युवाका महिला
ल्हासाको पुरानो क्षेत्रको संरक्षण परियोजना सम्पन्न हुँदै
मारिया योलान्दा फेरर गोमेज
एसेला डे लोस सान्तोस तमायो
क्युवाली नेतृ भिल्मा एस्पिन गुइलोइस
कसले बनायो 'जलमग्न'?
तिम्रो पोल खुल्यो
फरक समाज, फरक भूमिका
लेखाजोखा नगरकोटमा



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी