एकक्षण

क्रान्तिकारी महिला नेतृ – रोजा लक्जेम्वर्ग – ५

पोलाय्‌ण्डमा समाजवादी पार्टीको स्थापना 

१८९२ मा पोली भाषाको 'कम्युनिष्ट घोषणापत्र' को संस्करण छापियो। पोलायण्डमा मार्क्सवादीहरु बढ्दै थिए। घोषणापत्रको भूमिकामा १० फ्रेबुअरीको दिन एंगेल्सले लेख्नुभएको थियो –'एउटा स्वतन्त्र बलियो पोलायण्डको पुनर्स्थापनाको सवाल पोलीयालीहरुको मात्रै होइन, हाम्रो पनि चासोको विषय हो।' सर्वहारा वर्गको नयाँ पुस्ताप्रति आंैल्याउँदै भन्नुभयो–'पोलायण्डको तन्नेरी सर्वहारा वर्गमात्र यसलाई प्राप्त गर्न समर्थन हुनेछ र सोही वर्गको हातमा यो सुरक्षित हुनेछ।' 

पोलायण्डमा त्यसबेला 'सर्वहारा–मजदुर पार्टी' बाहेक 'कामदार सङ्घ' भन्ने मजदुर पार्टी पनि काम गर्दै थियो। दुवै पार्टीमाथि रुसी साम्राज्यवादको उस्तै अत्याचार भइरहेको थियो। यसकारण दुवै पार्टीका नेताहरुले व्यवहारिक गतिविधिमा एकता स्थापना गर्ने कुरो आवश्यक देखे। यसकारण १८९२ मा दुवै पार्टी मिलेर 'मई दिवस' मनायो। १ मईको आन्दोलन सबभन्दा पहिले १८८६ मा संयुक्त राज्य अमेरिकाको सिकागो सहरमा भएको थियो। ८ घण्टाको कामको दिन र ज्याला बढाउ भन्ने मजदुरहरुको माग थियो। पहिलो दिन सिकागोका ४० हजार मजदुरहरुले हडतालमा भाग लिएका थिए र दोस्रो दिन ८० हजार मजदुरहरुले भाग लिएका थिए। तेस्रो दिन पूँजीवादी सरकारले हडतालीहरुमाथि गोली चलाएर धेरै मानिसहरु मार्‍यो र सयौंलाई घाइते बनायो। हिंसा र गोलमाल भड्काएको आरोपमा ४ जवान नेताहरुलाई फाँसीको सजाय दियो। १८८९ मा पेरिसमा संसारका मजदुरहरुको एक बैठक बसेर मई १ को दिनलाई 'अन्तर्राष्ट्रिय मजदुर दिवस' मनाउने निधो गरेको थियो। १ मई १८९० देखि संसारमा ८ घण्टाको कामको दिनको माग राखेर प्रदर्शन र हड्ताल सुरु भयो। 

१ मई १८९२ को दिन पोलायण्ड देशभरि मई दिवस मनाइयो। त्यस दिवसमा लोद्ज सहरमा मात्रै ६० हजार मजदुरहरुले भाग लिएका थिए। पुलिसले मजदुर दिवसलाई दवाउन खोज्यो, घमासान सङ्घर्ष भयो। पुलिसको गोलीबाट ४६ जवान मजदुरहरु मारिए र २०० भन्दा बढी मानिसहरु घाइते भए। वार्शा सहरमा मई दिवसमा ८ हजार मजदुरहरुले भाग लिए। मजदुर वर्गको एकता कति बलियो हुन्छ भन्ने प्रष्ट देखियो।  

रुसको साम्राज्यवादको निर्दयी अत्याचारबाट मजदुर वर्गले आफ्नो मुख्य शत्रुलाई चिन्यो। मुख्य शत्रुको विरोधमा लड्न मजदुर एकतालाई बुझ्न थाल्यो र 'सर्वहारा–मजदुर पार्टी' र 'कामदार सङ्घ' बीचको झगडा पनि टुङ्ग्यो। ती दुवै पार्टी मिलेर 'पोलायण्ड समाजवादी पार्टी' भन्ने नयाँ पार्टी स्थापना गरे र लियो जोगिचेस संस्थापक र एडेल्फ वास्की सम्पादक भएर 'मजदुरहरुको इच्छा' भन्ने एक मुख–पत्र पनि निकाले। तर पार्टीको त्यस मुखपत्रको भित्री शक्ति चाहिं रोजा नै हुनुहुन्थ्यो। त्यस एकता र पार्टी पत्रिकाले पोलायण्ड हल्लिन थाल्यो र पुराना नेताहरुको मुटुमा ढ्याङ्ग्रो ठोकियो। पदलोलुप र इर्ष्यालु ती पुराना नेताहरुले मार्टीन कैस्पूर्जाक र रोजाको पत्रमाथि 'फूटपारुवा' को फतुरहरु लगाउन थाले। रोजालाई राजनीतिमा अगाडि बढ्ने प्रेरणा दिनेहरुमा कैस्पूर्जा पनि एक थिए। पुराना नेताहरुले रोजामाथि अनेक झुटा आरोपहरु लगाउन थाले। 

क्रान्तिकारी महिला नेतृ – रोजा लक्जेम्वर्ग – ४
क्रान्तिकारी महिला नेतृ – रोजा लक्जेम्वर्ग – ३
क्रान्तिकारी महिला नेतृ – रोजा लक्जेम्वर्ग – २
क्रान्तिकारी महिला नेतृ – रोजा लक्जेम्वर्ग
जेनी मार्क्स – ७
जेनी मार्क्स – ६
जेनी मार्क्स – ५
जेनी मार्क्स – ४
जेनी मार्क्स – ३




अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी