एकक्षण

दुःखको कारण पँूजीवादी बन्दोबस्त


कृति
प्यारी बहिनी फूलमाया,
धेरै धेरै माया!
    पछिल्लो भेटमा तिमीले आफ्ना कतिपय साथीहरू घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा जान लागेको सन्दर्भ कोट्याएकी थियौ तर कार्य व्यस्तताको कारण तिमीसँग छलफल गर्न पाइनँ। त्यसकारण आज पत्रमार्फत महिला अधिकार, हाम्रो सामाजिक बन्दोबस्त, शिक्षा, रोजगारका विषयमा केही लेख्दैछु। 
    नेपालमा महिलाहरूको राजनैतिक, सामाजिक र आर्थिक स्थितिको कुरा गर्दा हामीले ध्यान पुर्‍याउनुपर्ने विषय भनेको विद्यमान राजनैतिक बन्दोबस्त नै हो। यसो भन्दा कानुनतः महिलाहरूको हक अधिकार, नीति निर्माणमा महिलाहरूको सहभागिता, महिलाहरूको राजनैतिक, सामाजिक नेतृत्त्व, आर्थिक पहुँच आदि कुराहरूको व्याख्या पनि पर्दछ। 
    अहिलेको हाम्रो सामाजिक बन्दोबस्त पँूजीवादी हो। सहर र गाउँमा समेत कामकाजी महिलाहरूको सङ्ख्या दिनदिनै बढिरहेको छ। अर्थोपार्जन गर्नतिर महिलाहरू नलागेमा हाम्रो परिवार पुरूषको कमाइले मात्र धान्न गार्‍हो छ। अर्कोतिर कामकाजी महिलाहरू अफिसको काम सँगसँगै घरायसी काममा पनि बाँधिएका छन्। घरमा खाना पकाउने, सरसफाइ गर्ने, लुगा धुने, बच्चा स्याहार्ने जिम्मेवारी पनि महिलाहरूमा नै छ। त्यसकारण शिक्षित महिलाहरू राजनैतिक र सामाजिक रूपमा अगाडि आउन सकिरहेका छैनन्। जबसम्म सर्वहारावादी संस्कृतिका अगुवा महिलाहरू राजनैतिक र सामाजिक नेतृत्त्वमा आउँदैनन्, त्यसबेलासम्म महिलाहरूलाई सङ्गठित गर्ने काम र राजनैतिक रूपले शिक्षित गर्ने काम हुनेछैन। केही हदसम्म त्यो भूमिका तिमीले पनि निभाउँदैछ्यौ भन्नेमा म विश्वस्त छु। 
    महिलाहरूले चुनावमा भोट दिन पाउने र खडा हुने हक (नेपालको सन्दर्भमा विसं २००८ मा) प्राप्त गरिसक्दा पनि कोटा पुर्‍याउने काम वा भनौं यति प्रतिशत महिला हुनुपर्ने भन्ने प्रावधान भएकोले खोजी खोजी भर्ने गरिन्छ। पूँजीवादी मुलुकहरूको संसदमा महिलाको सरदर उपस्थिति १० देखि १२ प्रतिशतमात्रै देखिन्छ। विकसित पूँजीवादी राष्ट्रहरूमै १२ देखि १५ प्रतिशत हाराहारीमा मात्र महिला सांसदहरू छन्। अझ मन्त्री परिषद्मा ६ देखि ८ प्रतिशतको हाराहारीमा मात्र महिलाहरू छन्। यसो हुनुको कारण त्यहाँको सामाजिक संरचना हो। त्यसैले अधिकार वा नेतृत्त्व विकासका आधारभूत सर्तहरू भनेको कोटा वा आरक्षण होइन, शिक्षा, रोजगार र अवसर हुन्। शिक्षा महिलाहरूको व्यक्तित्व विकासको पहिलो सर्त हो।
प्यारी फूल,
    हामी बाँचिरहेको पूँजीवादी बन्दोबस्तमा जोसँग पैसा छ, उसको सबै क्षेत्रमा पहँुच रहन्छ। यो व्यवस्थामा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण आधारभूत आवश्यकताका निमित्त व्यक्तिले सदा भौतारिरहनु पर्दछ। शोषण कायमै रहन्छ। सबैजना व्यक्तिगत सम्पत्ति थुपार्न प्रतिस्पर्धा गर्छन्। सम्पूर्ण सेवाका पेशाहरू वेतनभोगी पेशा वा तलबको निमित्त मात्र काम गर्ने पेशामा बदलिन्छ। व्यक्तित्त्व विकासमा समान अवसर हँुदैन। गरिब र शोषित–पीडितहरूले पढाइ, रोजगार, उपचारको अवसर पाउँदैनन्। बहुमत जनता शिक्षा र स्वास्थ्यबाट बञ्चित रहन्छन्। पेटभरि खाने समस्यामा नै जीवन अल्भि्कइरहन्छ। कुनै पनि समस्या सहजतापूर्वक समाधान भइरहेको हुँदैन। 
बहिनी,
    त्यही गरिबीका कारण महिलाहरू जीउ बेचेर भए पनि जीवन यापन गर्न र परिवार पाल्न बाध्य हुन्छन्। यसलाई पूँजीवादी समाजले पेशा बनाइदिएको हुन्छ। समाजवादी देशहरू चीन, सोभियत सङ्घमा क्रान्तिअघि ठूल्ठूला वेश्यालयहरू थिए। क्रान्तिपछि ती सबै बन्द गरिए र कतिपयलाई रोजगारी दिई व्यवस्थापन गरियो। दुःखको कारण छ भनी दार्शनिक गौतम बुद्धले भनेका छन्। दुःखको कारण पूँजीवादी व्यवस्था नै हो भन्ने विषयमा हामीले छलफल गरेका थियौं। तिमीले याद गरेको हुनुपर्छ। 
    रोजगारीको समस्याका कारण हाम्रा लाखौं दिदीबहिनीहरू विदेश जान बाध्य छन्। तेस्रो विश्वका महिलाहरू घरेलु कामदारको रूपमा विदेश गइरहेका छन्। तिनीहरू यौन उत्पीडनमा परेको समाचार आइरहेको छ। विदेशी सहरका डान्सबार, डिस्कोठेकजस्ता अश्लीलता प्रदर्शन गरी आयआर्जन गर्ने ठाउँहरूमा हाम्रा चेलीहरू पुर्‍याइएका छन्। नेपाली महिलाहरू अफ्रिकी देश नाइजेरियामा समेत पुगेको समाचार आएको छ। त्यसरी गएकाहरू शारीरिक र मानसिक यातना सहन नसकी विक्षिप्त भएर फर्किरहेको हामीले देखिरहेका छौं। 
    शिक्षाको अवसर नपाएपछि निम्नस्तरको कामको लागि विदेश जानुपर्ने बाध्यता रहेको पाइन्छ। पँूजीवादी बन्दोबस्तमा महिलाहरूको श्रमशक्तिलाई उपयोग गर्ने र श्रमिक महिलालाई सक्षम तुल्याउने काम विरलै गरिन्छ। घरायसी कामकाजका कारण पनि महिलाहरू श्रमशक्तिका रूपमा रूपान्तरित हुन सकिरहेका छैनन्। तर समाजवादी बन्दोबस्तमा त्यस्तो नहुने विषयमा क्युवाको उदाहरण लिनसक्छौं। समाजवादी  देश क्युवामा घरधन्दाको काम महिला र पुरूष दुवैको जिम्मेवारी रहने कानुनी बन्दोबस्त छ। महिलाहरूलाई बढी स्वतन्त्रता दिन गाउँ–गाउँमा धोविघर र शिशुशालाको व्यवस्था गरिएको छ। त्यसकारणले महिलाहरू उत्पादनशील काममा सहभागी हुन सजिलो भएको छ। त्यस्तै शिक्षा सबैको लागि अनिवार्य भएपछि स्वाभाविक रूपले महिलाहरू समाजको हरेक अङ्गमा पुरूषसरह अगाडि बढ्ने नै भए। क्युवाली क्रान्तिपछिको समाजवादी व्यवस्था र महिलाहरूको अवस्थाको विषयमा हामीले छलफल गरिसकेका छौं। 
    सरकारी कार्यालयका कामकाजी महिलाहरूलाई बच्चा जन्मने बेला बिदाको बन्दोबस्त छ र पुरूषहरूलाई पनि तलबसहित १५ दिनको सुत्केरी स्याहार बिदा दिइन्छ। पैतृक सम्पत्तिमा छोरीले पनि अंश पाउने अधिकारको बन्दोबस्त छ। महिला सांसदहरू २८ प्रतिशत छन्। निजामती सेवामा पनि महिला शैक्षिक जनशक्ति पहिलेभन्दा बढेको छ। 
फूल, 
    यति हँुदाहँुदै पनि नेतृत्त्व र नीति निर्माणको तहमा महिलाहरू पुग्न नसकिरहेको भन्ने कुरा उठिरहेको छ। यो कुरा यथार्थपरक छैन किनकि सम्भ्रान्त महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगार तथा नीति निर्माण तहमा पहँुच र उपस्थिति छ। तिनीहरू पूँजीवादी व्यवस्थाको खाँबो अड्याउने टेको हुन्। त्यसकारण समस्या महिलामात्रको होइन कामदार वर्गका महिलाको हो, जो ८० प्रतिशत छन्। त्यसैले कामदार वर्गका महिलाहरूको उत्थानको निमित्त अधिकार स्थापित गर्नुभन्दा अवसर प्रदान गर्नु आवश्यक देखिन्छ। वर्ग मुक्तिसँगै प्राप्त हुने शिक्षाको अधिकार व्यक्तित्व विकासमा समान अवसरले मात्र महिलाहरू माथि उठ्नेछन्, आफ्नै देशमा रोजगार पाउनेछन् र श्रमशक्तिको रूपमा सम्मान प्राप्त गर्नेछन्। त्यसैले बहिनी फूल, यही बन्दोबस्त प्राप्तिको लागि हामी लाग्नुपर्छ। परिस्थिति अनुकूल छैन, यद्यपि आफ्ना साथीहरूलाई वैदेशिक रोजगारीमा नजान र आफूसँग भएको सीपको प्रयोग यही माटोमा गर्न सम्झाउनेछ्यौ, उत्साहित गर्नेछ्यौ भन्ने कुरामा म विश्वस्त छु। 
    ल, त बहिनी यस्तै केही समस्या परेमा पुनः पत्रमार्फत लेखी पठाउनेछ्यौ भन्ने अपेक्षा गर्छु। अहिलेलाई बिदा!
सदा तिम्रो हित चिताउने, 
दिदी रोशनी

समाजवादी व्यवस्थाले मात्र महिलाको समस्या समाधान गर्छ
जनतामा छरिएको भ्रम हटाउनु पत्रको दायित्व हो
भ्ादौ ९ को कालो दिवस: नयाँ पुस्तालाई सन्देश
भ्ादौ ९ को कालो दिवस: नयाँ पुस्तालाई सन्देश
राजनीतिक अधिकारसँगै महिला अधिकार
अन्धविश्वास, कुसंस्कार र कुप्रथा अन्त्य जरुरी
लैङ्गिक समानताका निम्ति शिक्षा नीतिमा परिवर्तन आवश्यक
सिद्धान्तप्रति दृढ हुने आशा ― ३
'अग्रजप्रति शिर त्यसै त्यसै झुक्छ'– २



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी