एकक्षण

अन्तर्राष्ट्रिय महिला दिवस र राजनीतिक संस्कार – १


कृति
    गत वर्षहरूमा झैं यस वर्ष नेपालमा पनि गैरसरकारी संस्था/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा विभिन्न महिला सङ्घ सङ्गठन तथा राजनीतिक दलहरूले नारी दिवस वा महिला दिवसको नाममा तामझामका साथ कार्यक्रम गरे। लाखौं रूपैयाँ खर्च गरेर पाँचतारे होटल, रेष्टुराँ, रिसोर्टहरूमा महिला मुक्तिका फुस्रा गन्थन मन्थन गरी भव्य रूपमा मनाइएका समाचारहरू पनि प्रकाशन भए। सम्भ्रान्त वर्गका महिलाका ती गफले रात–दिन वनपाखा, घाँस–दाउरा गर्ने, इँटा भट्टामा काम गर्ने, गिट्टी कुट्ने, ढुङ्गा–बालुवाको भारी खेप्ने श्रमिक तथा काम गरी खाने महिलालाई समेटेन। ती कामदार वर्गका महिलामा महिला दिवसको सन्देश नपुगेको पनि छापामा नआएका होइनन्। यी र यस्ता समाचार र गतिविधिले अबका वर्षहरूमा पनि निरन्तरता नपाउलान् भन्न सकिन्न। जब जनताले यथार्थ थाहा पाउनेछन्, बुझ्नेछन् यस्ता गतिविधि र डलर खेती पूर्णविराम हुनेछन्। 
    महिला दिवस वा नारी दिवसको सही नाम र मर्म श्रमिक महिला दिवस हो। आर्थिक, सामाजिक र राजनीतिक रूपमा श्रमिक महिलाहरूको अधिकारको लडाइँको रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी भएको हो। ८ मार्चका धेरै ऐतिहासिक महत्त्वहरू छन्। ८ मार्चलाई मजदुर, किसान, शारीरिक श्रम र बौद्धिक श्रम गर्ने सर्वहारा  वर्गका लागि सङ्घर्ष गर्न ऊर्जा दिने दिन पनि हो। सन् १९०९ फेब्रुअरी २८ मा अमेरिकी समाजवादी श्रमिक महिलाहरूले राजनीतिक अधिकारको लागि विशाल प्रदर्शन र सभा गरेका थिए। मुख्यतया मतदानको अधिकार महिलाले पाउनुपर्ने माग थियो। सन् १९१० मा अमेरिकी श्रमिक महिलाहरूको सङ्घर्षलाई समर्थन गर्दै समाजवादी आन्दोलनका नेतृ क्लारा जेट्किनले कोपनहेगनमा भएको दोस्रो अन्तर्राष्ट्रिय श्रमिक महिला सम्मेलनमा एउटा प्रस्ताव राख्नुभयो। त्यो प्रस्तावमा 'अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुपर्ने' उल्लेख थियो। 
    अन्तर्राष्ट्रवादी कम्युनिष्ट नेतृ क्लारा जेट्किनको सो प्रस्तावलाई समर्थन गर्दै सो सम्मेलनले सबै मुलुकमा हरेक वर्ष एकै दिन श्रमिक महिला दिवस मनाउने निर्णयका साथ नारा पनि तय गरेको थियो –'महिलाहरूलाई मतदानको अधिकारले समाजवादी सङ्घर्ष थप मजबुत हुनेछ।'
    पहिलो विश्वयुद्धभन्दा अगाडि धेरै पूँजीवादी राष्ट्रहरूमा महिलाहरूलाई मतदानको अधिकार थिएन। त्यस समय संसदलाई प्रजातान्त्रीकरण गर्ने विषय महिलालाई मतदानको मुद्दासँग जोडिएको थियो। महिलालाई उद्योगधन्दा र कलकारखानामा, ज्यासलमा श्रमिक वा नोकरको रूपमा राखिन्थ्यो र देशको अर्थतन्त्र धान्नमात्र प्रयोग गरिन्थ्यो। त्यस समय युद्धसँगै आएको भोकमरी र महँगीले सारा श्रमिक महिला र गृहिणीहरूलाई राजनीतिक अधिकार प्राप्त गर्न सङ्घर्ष र पूँजीवादी अर्थतन्त्रको विरोधमा तयार गर्‍यो। 
    जुलुश र प्रदर्शनले मात्र राजनीतिक परिवर्तन नहुने र महङ्गी कम नहुने हुँदा राजनीतिक अधिकारमा मतदानको अधिकार पनि चाहिने र श्रमिक महिलालाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमार्फत समाजवादको झण्डामुनि एकताबद्ध गर्ने बाटो अगाडि बढाइयो। सोहीअनुरूप पहिलो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस १९१० मार्च १९ मा मनाउने निर्णय गरियो। त्यो दिन जर्मनको इतिहासमा १८४८ को क्रान्तिमा पर्सियाका राजाले जनताको सशस्त्र विद्रोहको अगाडि महिलालाई मतदानको अधिकार स्वीकार गरेका थिए। पछि त्यो अधिकार दिइएको थिएन। त्यसपछि सन् १९१८ देखि मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालियो। यसरी  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालेदेखि समाजवादी आन्दोलन थप गतिशील भयो। समाजवादी आन्दोलनको पृष्ठभूमि तयार गर्ने श्रमिक महिला आन्दोलनका कारण बुर्जुवा वर्ग अप्ठेरोमा पर्दै गएको इतिहासको घट्नाक्रमले देखाउँछ। यस दिवसले धेरै गृहस्थ तथा अशिक्षित महिलाहरूलाई पनि राजनीतिक रूपमा सचेत गर्न सफल भयो र समाजवादी आन्दोलन अघि बढ्यो। साथै त्यतिबेलाका अगुवा महिलाहरूले सङ्घर्षको निम्ति पत्रपत्रिकाको प्रकाशन र प्रचार प्रसारलाई जोड दिएका थिए।

बाँकि एकक्षण


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी