एकक्षण

स्वर्गको सपना !


(दृश्य–दुई)
    (दिउँसोको १२ बजेको थियो, भोजनको निम्ति प्रजातन्त्रवादी नेताहरू लामो र ठूलो टेबुल वरिपरि बसेका थिए। काँटा–चम्चा हरेकको स्थानमा व्यवस्थापूर्वक राखिएको थियो। ठाउँ–ठाउँमा चिसो र तातो पानी एवम् बियरका सिसी र गिलासहरू थिए। बीपी कोइराला, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लहरै आ–आफ्नो स्थानमा बसे, अनि अन्य नेताहरू आ–आफ्नो स्थानमा पालैपालो बसे। कुनै थालमा भात थिएन, दुइटा गहुँका रोटी, हरियो तरकारी, रिकापीमा प्याज, काँक्रो, गाजरका टुक्राहरू, नून र सलाद, स–साना कचौरामा दुई दुई टुक्रा माछा थियो। एकै छिनमा खानापछि केही फलफूल खाँदै थिए भने कोही मिश्रीका स–साना टुक्रासहित सोप मुखमा राख्दै चपाउँदै थिए। पत्रकार आएर फटाफट फोटो खिच्न थाल्यो।)
पत्रकार – जय नेपाल ! (बी.पी. र सबैलाई अभिवादनक गर्दै) म यहाँहरू सबै नेताहरूको सुस्वास्थ्यको कामना गर्छु र ६०–७० वर्षको तपाईंहरूको राजनैतिक जीवनलाई समीक्षा गर्दा पूर्ण सफल, सफल वा मिश्रित के अनुभव गर्नुभयो भन्नेबारे थाहा पाएमा जनतासम्म पुर्‍याउने अवसर पाउने थिएँ र नयाँ पुस्ताले सच्याउने, परिमार्जन गर्ने वा नयाँ नीति ल्याउन प्रेरणा पाउने थिए। 
    (टेपलाई बी.पी.तिर लग्यो।)
बी.पी – सिद्धान्त र नीति त समय र परिस्थितिअनुसार निर्माण हुन्छ। देशमा राणा शाहीको अन्धकार युगमा तत्काल जनतालाई ठूल्ठूलो सचेत  आन्दोलनको सम्भावना नहुँदा मित्रहरूसँग गुहारेर हामीले बन्दुक बोक्यौं। २००४–००५ सालमा राणाविरोधी 'कानुनीराज' को पक्षमा सहर–सहरमा सत्याग्रह थाल्यौं। तर आज जस्तो जनताको राजनैतिक चेतना उठिनसकेको हुँदा भारतमा जस्तो यावत जनतालाई सडकमा उतार्न नसक्दा छिटो परिवर्तनको निम्ति सशस्त्र क्रान्ति थाल्नुपरेको हो। 
पत्रकार – २००७ सालपछि काङ्ग्रेसले नातावाद, क्रिपावाद र एउटै जात र परिवारलाई अगाडि ल्याउँदा भारतीय समाजवादी मित्रहरू डा. लोहियाहरूले आलोचना पनि गरेका थिए। यसबारे आज पनि नेपालमा काङ्ग्रेसलाई यस आरोपबाट मुक्त गर्न सकेका छैनन्नि !?
बी.पी.– नेपालमा गणतन्त्र स्थापना भए पनि संस्थागत भइसकेको छैन, जसरी २००७ सालमा राणाशाही ढलिसक्दा पनि प्रशासन र बुद्धिजीवीमा समेत पुरानो छाप थियो। त्यस्तै २५–३० वर्ष पुरानो पञ्चायती र राजतन्त्रको गर्भबाट जन्मेको प्रजातन्त्रको पुनःस्थापना र गणतन्त्रमा पुरानो युगको गर्भको रगतको टाटा हुनु स्वाभाविक हो। सात दलको आन्दोलन, माओवादी गृहयुद्ध र मधेसवादी एवम् जनजाति आन्दोलनलाई गणतन्त्रको प्रसवमा सुडेनीले कैंची प्रयोग गरेजस्तै हो। तर यावत जनता शिक्षित र सुसंस्कृत हुने अवसरबाट बञ्चित हुँदा केही क्षेत्रका निश्चित परिवारका योग्य व्यक्तिहरू ल्याउनुपर्ने बाध्यतालाई इन्कार गर्न सकिन्न, सामन्ती समाजका दागहरू जनता र नेताहरूमा समेत बाँकी रहन्छ। तर यसलाई लामो कालसम्म राखी राख्नुहुन्न, यावत जात–जातिलाई पनि योग्य बनाउनु जरूरी छ।
(टेपको माइक सुवर्ण शमशेरतिर सोझियो।)
सुवर्ण शमशेर– म प्रजातन्त्रप्रति समर्पित थिएँ र हुँ। तर प्रजातान्त्रिक शक्तिभित्र पनि कहिलेकाहीं पारिवारिक, जातीय र समूहको तानाशाहीलाई भोगेको हुँ। राजाको आँखामा मेरो कलकत्ता बसाइ र ख्यातिको कारण भारतवादी भएँ भने सामाजिक सम्बन्धको कारण भारतको आँखामा म राजावादी भएँ। पार्टीको माझमा म सामन्तवादी, पूँजीवादी र सुविधामुखी तथा खतरा नमोल्ने कायर भएँ। तर म प्रजातान्त्रिक आन्दोलनमा आतङ्कवादविरोधी हुँ, यसबारे पार्टीमै म आलेाचित छुँ, दुःख यसैमा छ। तर म आफ्नो दृष्टिकोणमा प्रस्ट छु। मलाई कुनै पश्चाताप छैन। मेरा छोराहरू पार्टीप्रति कति बफादार छन्, मलाई थाहा छैन, त्यो तिनीहरूमै भरपर्छ। (पत्रकारको माइक भट्टराईजीतर्फ मोडियो)। 
भट्टराईजी – तुलनात्मक रूपले म सार्‍है आनन्दको जीवन बिताउँदै छु। छोराछोरी नहुनु स्वयम् ठूलो सन्तोषको विषय हो। नत्र पूर्वप्रधानमन्त्रीको छोरो हरेक रात एउटा न एउटा होटलमा सुत्छ, रक्सी नभई हुन्न र अनेक स्काण्डलबारे अखबार रङ्गिन्छन्। छोराछोरी मन्त्री हुन्छन्। भ्रष्ट, कालाबजारी र विदेशी एजेन्टहरूको कारण मेरो मुखमा मात्रै होइन पार्टीको झण्डामा समेत दाग लाग्थ्यो। यस अर्थमा मेरो जीवन पूर्ण सफल छ। म पूर्ण रूपले सन्तुष्ट छु। (पत्रकारको टेपको माइक सर्वमान्य नेतातिर पुग्छ।)
गणेशमानजी – मेरो साहस, मेरो समर्पण, मेरो सहृदयता र पार्टीको सिद्धान्त, नीति निर्णयप्रति बफादार रहँदा रहँदै जीवनको अन्तमा ती सबै मेरा कमजोरी सम्भि्कयो, मेरो परिवार र छोराछोरीले समेत मेरो पीडा र आत्म–समीक्षालाई सम्झन सकेनन्। मेरो नामलाई बेचेर खानेको कमी छैन। निःस्वार्थ रूपले देश र जनताको सेवा गर्ने मेरो भावना नै मेरो कमजोरी बन्यो, कस्तो दुर्भाग्य! राजनीतिलाई मैले सरल रेखा सम्झें, त्यसैमा अडें, त्यो मेरो अडान असत्य सावित मेरै पार्टीले गर्‍यो। तर म भन्छु – मेरो दृष्टिकोण सही छ, समय बित्दै गर्दा सत्य सावित हुँदै जानेछ। यस अर्थमा म पूर्ण सफल छु। (पत्रकारको क्यामेरा र माइक गिरिजाबाबुतिर सोझियो।)
गिरिजा – मलाई भ्रष्टाचारको ठूलो र धेरै आरोप छ, तर मैले आफ्नो निम्ति होइन पार्टी र प्रजातन्त्रको निम्ति गरें। त्यसो नगरेको भए न पार्टी चल्थ्यो, न पार्टी सरकारमा पुग्थ्यो, न प्रजातन्त्र दिगो हुन्थ्यो। तर जहाँसम्म छोराछोरीको मायाको आरोप र धृतराष्ट्रको उपमाको प्रश्न छ – सारा नेताहरू यस कलङ्कबाट मुक्त छैनन्, अवसर नपाएरमात्रै यसबारे चोखो देखिनु संयोग हो। जसलाई पार्टी र प्रजातन्त्रलाई जोगाउनु छैन, उनी त फकिरै हुन्, फकिरलाई केही चाहिन्न। मैले जे गरें ठिक्कै गरें, तर मबाट काम लिएका कार्यकर्ता र कति व्यक्तिहरूले आज आफ्नो भक्ति, मालिक र खेमा फेरे, मलाई तिनीहरूबाट विश्वासघात भएको सम्झन्छु। जसले स्पष्ट बोले तिनीहरूबाट मलाई धोखा भएन, मसिनो र मलाई खुसामती गर्नेले मलाई पछाडिबाट छुरा हाने। तैपनि मेरो बाटोमा म सफल छु। मैले युवाहरूलाई होमिन उत्साहित गरें, सानु दाइको सिद्धान्त र नीतिका म एक इमानदार सिपाहींमात्र हुँ।
 (बी.पी.ले वातावरण अलि गर्मी हुने देखेर पत्रकारलाई हातले इसारा गरी बिदा दिए।)
बी.पी. – साथीहरू, अहिले सबै आ–आफ्नो मनको बह पोख्न स्वतन्त्र हुनुहुन्छ।
गजेन्द्रनारायण सिंह – म सुवर्णजीसँगै रहें, तर आखिर मैले मधेसको मुद्दालाई बोक्नैपर्‍यो, किनभने म पहाडी थिइनँ। हो, वामपन्थीहरू वर्गलाई प्राथमिकता दिन्छन्, प्रजातन्त्रवादीहरूले जात र क्षेत्रलाई प्राथमिकता दिएको देखें। म राजनीतिमा निरन्तर रहें, मेरो काम पूरा भएको थिएन, तर अरूले मेरो नारालाई कसरी अगाडि लाने हो म अन्योलमा छु। जहाँसम्म सुवर्णजी र मेरो सम्बन्धको विषय छ – कसैले पनि आफ्नो घरको पैसा खर्च गरी राजनीति गरेको छैन, त्यस कुरामा विश्वास गर्ने म पनि एकजना हुँ।
निधि: म प्रजातन्त्रको आन्दोलनको निम्ति आफ्नै जनतामा भरपर्नुपर्ने र विदेशको सहयोगलाई प्राथमिकता दिएमा हामी कहिल्यै मुक्त हुनेछैनौं र हामी विदेशीको निम्ति मात्रै हुनेछौंभन्नेमा अटल छु। तर आफ्नै छोराछोरीले बाबु–आमाको नाउँ बेच्ने गरेका छन्, त्यसमा हामी लाचार छौं। भन्दैछन् – इमानदार र देशभक्त नेताहरूका छोरा–छोरीहरूले मन्त्री पदमा बसेर हामीलाई नर्कमा पठाउने काम गर्दैछन् – छोराछोरी पदमा बसेर रक्सी खानेमात्र होइन घूस र अखाद्य वस्तु सबै खान्छन्, दलाल, भ्रष्ट र भँडुवाहरूकै घेरामा बसेका छन् – जनतालाई मान्छे गन्दैनन्, दुःख यसैमा छ। यस्तो हुने हामीलाई कहाँ थाहा थियो र! (अत्यन्त दुःखको भावले लामो सुस्केरा हाले।)
सि.के. प्रसाइँ – निधि बाबु, किन पीर मान्नुहुन्छ? गान्धीको छोरो बम्बईमा रक्सी खाएरै मरे, नेहरूकी छोरीले 'देशमा इमर्जेन्सी लगाए, राजेन्द्रप्रसादका छोराले एक किसानलाई गोली हानेर मारे, सन यात–सेनका नाती हलिउडमा सिने कलाकार भए, स्तालिनकी छोरी स्वेतलानाको अर्कै कथा छ, कति देशका राष्ट्रपति र प्रधानमन्त्रीका छाराछोरीहरू अनेक स्कान्डेलमा फसेर जेलमा होलान् ! विपक्षीहरूले सत्ता पक्षको कमजोर विन्दुमा हानेर आफू सत्तामा पुग्न अनेक जालझेल गर्छन् र कुटिल काम गर्छन्। मातृका बाबु र बी.पी. बाबुको बीचमा राजाले खेले, गिरी परिवारमा मात्र होइन पञ्चायतकै दिलबहादुर श्रेष्ठका परिवारमा पनि खेले। त्यसको फल दरवारमा पनि सक्नेले कुटिल खेल खेली दरवार र राजतन्त्र समाप्त पारे। यसकारण नेताहरूले आफ्ना छोरा–छोरीलाई सत्तामा ल्याउन कुनै प्रकारको हस्तक्षेप गर्नैहुन्न। तिनीहरूको योग्यतामै सबै छोड्नुपर्छ, त्यही नै त्याग हो, त्यही नै योग्य बनाउने बाटो हो। कसो तारणी बाबु? (तारणीतिर फर्केर !)
तारणी – दियालो, उज्यालो आदि पत्रिका चलाउँदा आफूलाई गर्व अनुभव हुन्थ्यो, महाकाव्य र कथाहरू लेख्दा मन फुक्का हुन्थ्यो र आनन्द लाग्यो, सत्ता सङ्घर्षभन्दा कर्तव्य मेरो पर्याय रह्यो। मैले सानुदाइलाई नै नेता मानें, एकजना नेता भएसम्म पार्टीले सिद्धान्तको बाटो लिन्छ। व्यक्तिगत महत्त्वाकाङ्क्षीहरूलाई शत्रुले हातमा लिएपछि पार्टीमा चिरा पर्न थालिहाल्छ, त्यहाँ सिद्धान्त र नीतिभन्दा पद र पैसाले प्राथमिकता पाउँछ, अनि देश र जनताप्रति समर्पित राजनैतिक दल नाफाखोरहरूको अखडामा परिणत हुन्छ।
सरोज – प्रजातन्त्र पुनःस्थापना गर्न मैले आफूलाई समर्पित गरंे, मलाई अलिकति पनि पछुतो छैन। म आफ्नो जीवनलाई पूर्ण सफल ठान्छु, म आफ्नो बाटोमा लागिरहें, लागिरहनेछु, किनभने शत्रु निर्मम हुन्छ भन्ने मलाई थाहा थियो।
(मंगला भाउजु र नोना कोइराला ध्यान दिएर सुनिरहेका थिए।)
क्रमश :

बाँकि एकक्षण


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी