एकक्षण

स्वर्गको सपना !


(दृश्य–तीन)
(रातको ८ बजिसकेको थियो, ठूलो चाक्लो नाचघरमा बाजा बजिरहेको थियो र सँगैको दुई खुड्किलामाथिको खुला हलमा प्रजातन्त्रवादी नेताहरू र राजावादी 
(पञ्चायतवादी) नेताहरू मातृकाप्रसाद कोइराला, रवीन्द्रनाथ शर्मा, शैलेन्द्रकुमार उपाध्याय,मरिचमान सिंह, सूर्यबहादुर थापा आदि थिए। केही नेताहरू आरामदायी मेचमै बसेर आ–आफ्ना गिलास समाउँदै ख्याल–ठट्टामा व्यस्त थिए। गिलासहरूमा चिसो, तातो र रङ्गीबिरङ्गी पेयपदार्थ र थरिथरिका देशी र विदेशी दामी रक्सीहरू थिए। शारीरिक रूपले स्वस्थ केही नेताहरू हातमा गिलास समाउँदै युवा–युवतीहरूको नाच हेर्दै थिए। रवीन्द्रनाथ शर्माले गिरिजाबाबुको गिलासमा केही थप्न अनुमति माग्दा बायाँ हातले पुगेको इसारा गरे, भट्टराईजीको गिलासमा शर्माजीले थप्न खोज्दै थिए।)
भट्टराई – थप्नुस, रवीन्द्रजी किन डराउनुहुन्छ !? 
(हास्दै)। अरू गुप्तरूपले खान्छन् म पब्लिक्ली खान्छु – थप्नुस्।
शर्मा – पानी थपूँ?
भट्टराई – नाइँ, मेरो आँखा कमजोर छैन (गिलासलाई हेर्दै), रङ्ग अलि कडा चाहिन्छ, यहाँबाट अरू कतै जनसभामा जानुछैन।
शैलेन्द्र (टाढैबाट हाँस्दै) खाए पनि नखाएपनि बाघको मुख रातो छ (आफ्नो भरिएको गिलास सबैलाई देखाउँदै), म त यस मामिलामा सार्‍है बद्नाम छु, मेरो नामसँग अनेक स्क्याण्डल झुण्डिएको छ। यहाँ कसैलाई बद्नाम गर्ने, आलोचना र आत्मालोचना वा कुनै गुनासो छैन। यहाँ सबै पच्छ, निन्दा, प्रशंसा र विरोध आदि कर्कलोमा पानीसरह निर्लिप्त छ।
मातृका – हो, शैलेन्द्रजी यहाँ न राजाको खप्की खानुपर्ने छ न त घनिष्ट मित्रका महामहिमको चिप्लो तर तीतो सुन्नुपर्नेछ!
शैलेन्द्र – त्यसबारे त हामी सबै भुक्तभोगी छौं, तर आजको परराष्ट्रमन्त्रीहरूकै टिप्पणी भने नौलो छ, लिम्पियाधुरा राजा महेन्द्रले भारतलाई दिएको बताउँछन् र एकजना पूर्वपरराष्ट्रमन्त्री भने त्यसबारे आफ्नो अनभिज्ञता बताउँछन्। नक्कली काली मन्दिर र खोल्सा बनाएको भारतीय सेनाबारे त गिरिजाबाबुलाई पक्कै थाहा होला !
गिरिजा – थाहा पाए पनि, थाहा नपाए पनि तिनीहरू त्यहाँबाट हट्ने होइनन् र हामी तिनीहरूलाई लखेट्न सक्दैनथ्यौं ! बानेश्वरमा आएर जनताको कञ्चटमा पेस्तोल राख्न सक्नेहरूले सुदुर पश्चिम र महिनौं कुहिरो लाग्ने ठाउँमा के छोड्लान् ! मेरो बद्नामी संसद र देशभरि बानेश्वर काण्ड र टनकपुर काण्डले नै हो नि ! जूठो धेरै खाए पनि, सानो टुक्रा खाए पनि एउटै हो। नूनको सोझो गर्नुपर्ने थाहा पाएको भए अन्तर्राष्ट्रिय सहयोग लिंदा छुच्चा छिमेकीको एक चिम्टी नून पनि लिन नहुने इतिहासले बताउनेछ। एक चिम्टी नूनको बदलामा एक ट्रक नून दिनुपर्नेछ। भौतिक संसार यस्तै छ, मरेर पनि चैनसित कोही बस्न सक्ने म देख्दिनँ।
सूर्यबहादुर – हामीले ठूल्दाजुसँग जे जति हस्ताक्षर गर्‍यौं, मनलाई मिचेरै गरेका छौं, अपगाल र इतिहासमा बद्नाम हुने डरले राजनीति गर्ने हो भने राजनैतिक पदमा बस्नै हुन्न। यो त विवाह गरेपछि छोराछोरी हुने, तिनीहरूले दुःख दिने र तिनीहरूले गर्ने राम्रा र नराम्रा कामको परिणाम सुन्नुपर्ला भनी डराउने हो भने सबैले कृष्णप्रसाद भट्टराईजीलाई नै गुरू थाप्नुपर्नेछ। रक्सी खाएपछि लाग्छ भनेर पछुताउने हो भने रक्सी नखाए हुन्छ।(दुवै हात नचाउँदै अन्तमा हातका औंलाहरू मल्न थाले।)
मरिचमान – तर मलाई मेरो कामको कुनै पछुतो छैन, राजाको नेतृत्व स्वीकारेपछि राजाका विरोधमा अरूसँग मिल्न मलाई मेरो ब्रह्मले दिएन। ठूलो शक्तिको अगाडि झुक्दै जाने हो भने को–कोसँग मात्रै झुक्ने? त्यसको कुनै अन्त हुन्न। नेपालको जङ्गलले नेपालकै सेवा गर्नुपर्छ। (एकछिन रोकेर) हामी सबै सिंहदरवार मेचकै प्रडक्ट हौं, तर मलाई थाहा छ – जलस्रोत मन्त्री र वनमन्त्री कमजोर बनायौं र राम्रो मानिससमेत बिटुलिने मेच हो, दागबाट मुक्त हुन राजीनामा बाहेक अरू उपाय छैन। हामी सबै भुक्तभोगी हौं, एकले अर्कोलाई चिन्छौं र सिंहदरवारको फाइल र कर्मचारीहरूले हाम्रो मनभित्रको पनि भित्री कुरा थाहा छ, मुख र कान रातो पारेर बोलेर हाम्रो पाप पखालिनेछैन।
भट्टराई –     मरिचमानजी, तपाईंकै अडानले पञ्चायत ढल्यो, हामी सत्तामा पुग्यौं, धन्यवाद छ। हाम्रो पाप कत्तिले कोशी, गण्डकी, महाकाली र कर्णालीमा नुहाएर धोलान् र कतिले बनारसको गंगा र दिल्लीको यमुना नदीमा नुहाएर पाप पखालेलान्। व्यक्तिले पश्चाताप गरेर सन्धि सम्झौताका हस्ताक्षरहरू पखालिनेछैनन्, मनको क्लेश र पछुतोलाई बिर्साउन यही जल (गिलास देखाएर) ले घाँटीलाई पखाल्नुपर्छ। अरूलाई धोखा दिए पनि हामी आफूलाई धोखा दिन सक्दैनौं, होइन बी.पी. बाबु? (बी.पी. गम्भीर सोचमा थिए र सम्बोधनले हाँस्दै सबैतिर दृष्टि लगाए।)
बी.पी – थाहा नपाएर हुने दोष गल्ती हो भने थाहा पाएर गरेको अपराध हो, अपराध क्षम्य हुन्न। प्रजातान्त्रिक समाजवाद शब्द होइन, देखाउने दाँत होइन बरू सरकारमा गएपछि दलहरूले लागू गर्ने नारा हो। निर्वाचनमा मत बटुल्न समाजवादको नारा दिने, सरकारमा पुगेपछि सार्वजनिक सम्पत्ति निजीकरण गर्नु सिद्धान्तविपरीत हो। यस मामिलामा पश्चिमी देशका सरकारहरू वा भारतीय अर्थमन्त्रीले हामीलाई सिकाउनुपर्दैन। भारतका सरकारहरू समाजवादी सरकार होइनन्। मलाई सोभियत सङ्घ र पूर्वी युरोपेली देशका उदाहरण दिएर पूँजीवादको वकालत नगरे हुन्छ। नेपालमा मूर्ति चोरहरूले विदेशमा मूर्तिहरू बेचे पनि नेपाली जनताको धार्मिक भावनालाई हामी मेटाउन सक्दैनौं जसबारे हामी फरक मत राख्छौं। धनी र गरिब होला, शारीरिक रूपले वरिष्ठ र निम्छरो होला, तर विचारमा हामी दरिद्र र निम्छरो नहोऔं। कसै–कसैले सोध्छन् – नेपाली काङ्ग्रेसको समाजवाद के हो? समाजवादको निम्ति पश्चिमतिर मुख ताक्नुपर्दैन, गौतम बुद्ध नै 'एसियाको ज्योति' मात्र होइन, संसारका सबभन्दा पहिला समाजवादी हुन्– 'बुद्धम् शरणं गच्छामी, सङ्घ शरणम् गच्छामी' हो। प्रस्ट्याउन चाहन्छु – म मार्क्सवादी भए पनि कम्युनिष्ट होइन यसकारण म वैज्ञानिक समाजवादमा विश्वास गर्दिनँ, न त गान्धीको साम्यवादमा विश्वास गर्छु।
लावती – बी.पी. बाबु, म कान्छो व्यक्ति हुँ, तर देश सानो हुनुको अर्थ हाम्रो पार्टीको राप्रपाको अध्यक्षसमेत नियम, समझदारी र निर्णयविपरीत ठूल्दाइको एक राजाको आदेशले नियुक्ति हुन्छ, योभन्दा वैचारिक र निर्णयको दरिद्रता के होला? को कतिपटक प्रधानमन्त्री भयो भन्ने होइन, उसले हरेक पटक देश र जनताको दीर्घकालीन अहित के के गर्‍यो र आ–आफ्ना छोराछोरीको हितमा के के काम गर्‍यो भन्ने हिसाब–किताब गरौं !
सुवर्ण – प्रजातन्त्रले परिपक्वता नपाएसम्म भारतका शासकहरूले पनि सामन्ती संस्कार बोकेका छन्, नेपालको के कुरा !
गणेशमान – राणाजी, ग्रीसको गणतन्त्रले राज्यसँग फरक मत राख्ने सोक्रेटसलाई विष खुवाएर मार्‍यो, दार्शनिक राजामा विश्वास गर्ने प्लेटोलाई राजाले कमारा बनाई बेच्यो, विधिकै शासनलाई शिरोपर गर्ने प्लेटोको शिष्ट एरिस्टोटलले विधि त शासकहरूले शासकहरूकै हितमा बनाउने हुँदा व्याख्याबाट पीडितहरूलाई जोगाउन न्यायपालिकाकै सर्वोच्चतालाई अगाडि सारे। तर घूस लिएर जात र दलको भागबण्डा गरी भ्रष्टै भ्रष्टलाई न्यायमूर्ति बनाउँदा अहिले नेपालका  दलहरूले मुसालाई बाघ बनाउने ऋषिको कथा सम्झँदै छन्। सिस्नो रोपेर तुल्सीको आशा गर्नु व्यर्थ छ। दलहरूले पक्षपात गरे, त्यसैबाट तिनीहरूको अन्त निश्चित छ।
भीमबहादुर तामाङ – सबैलाई यथोचित सत्कार गर्छु, हामी सबै छोराछोरीको मन्त्री पदबाट पीडित छौं। न्याय मूर्ति र अदालतबारे विश्वनाथजीबाटै सुन्नु बढी उपयुक्त होला!
निधि र गजेन्द्र – उत्तम विचार ! लौ उपाध्यायज्यू।
उपाध्याय – आफ्नो पक्षमा हुने सबै निर्णय र विचार प्रजातान्त्रिक वा नागरिक भावनायुक्त हुँदैन, साथै विपक्षमा हुने सबै फैसला र विषय मिथ्या र प्रजातन्त्रविरोधी हुन्नन्। राजाले नियुक्त गरेका न्यायाधीशले राजाकै कामको विरोध गर्दा ज्यान सजाय रोज्यो तर राजासँग माफी मागेनन्। हो, कहिलेकाहीं मानिस मनोगत भावनाबाट प्रेरित हुने गर्छन्। त्यसबेला देश र जनताको हितलाई नै प्राथमिकता दिएको हुन्छ।
    आफ्नो पक्षमा संविधान नबन्दा राजा रिसाए, आफ्नो अनुकूलको संविधान बनाउन ठूल्दाइको सहयोगलाई विनम्रतापूर्वक अस्वीकार गर्दा ठूल्दाइ रिसाए, आफूलाई प्रजातन्त्रका सहयात्री सम्झने दलको पक्षमा फैसला नगर्दा मलाई फाँसीको माग गरे। यसकारण प्रजातन्त्रको अर्थ आफ्नो हित, आफ्नो पार्टीको हित, आफ्नो नेता र कार्यकर्ताहरूको हित नै प्रजातन्त्र होइन। आफ्नो काम लिइसकेपछि उखुको चोक्टा फालेजस्तै फाल्नु पनि प्रजातान्त्रिक धर्म होइन। मानिस र प्रजातन्त्रले कसैको गुण बिर्सनुहुन्न। सबैले सधंै गुण गर्न सक्छन् भन्ने होइन। सबै एक एक गरेर ज्येष्ठ नागरिकमा गनिनेछन्।
    साथी साथी रहेन, राजा आफ्नो भएन र मित्र झन् दुस्मन बने, बनेको संविधान च्यातियो र जलाइयो। आफ्नो देश आफ्नो बनेन, विदेशमा छोरी–ज्वाइँसँगै बस्न जानुपर्‍यो – ज्यानको माया लाग्नु स्वाभाविक हो तर मर्नलाई देशमै आइयो – प्रजातन्त्रको अभ्यास हुँदैन।
– (पर्दा खस्छ)

बाँकि एकक्षण


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी