एकक्षण

पूँजीवाद ठगहरूको शासन व्यवस्था


प्यारा नाति–नातिना,
संरा अमेरिका
धेरै धेरै सम्झना र आशीर्वाद !
    तिमीहरू पूँजीवादी व्यवस्थाका नाइके देशमा छौ, तर पूँजीवाद के हो र यो कसरी सुरू र नेपालमा अहिले पूँजीवाद हो कि होइन भन्ने तिमीहरूको प्रश्नले तलका टुङ्गोमा पुगें। 
    एक, तिमीहरूको विषय विज्ञान भएको हुँदा आर्थिक जीवनको व्यवहारिक ज्ञानमा तिमीहरू अवगत रहेनौ,
    दुई, कलेज र होस्टलभन्दा जीवन धेरै व्यापक र जटिल छ, त्यो पनि अरू देशमा यसकारण नबुझ्नु स्वाभाविक छ,
    तेस्रो, नेपालका महँगा विद्यालयमा ७–८ कक्षाका छात्र–छात्राहरूसँग चामल कहाँबाट आउँछ भन्ने प्रश्न गर्दा – पसलबाट आउँछ, बोरामा फल्छ र थाहा छैन भन्ने उत्तर आएको चर्चा भएको थियो। 
    दूध, दही, तरकारी, चिउरा आदिबारे पनि व्यावहारिक जानकारी नभएजस्तै पूँजीवादी व्यवस्थाबारे तिमीहरूलाई जानकारी नहुनु स्वाभाविक छ। 
    खेतीपातीको विकाससँगै आफूले खाई उब्रेको धान, चामल, गहुँ, आलु वा अन्य सामान किसानहरूले बजारमा लगेर बेच्न सुरू गरे। पैसा वा मुद्राको  चलन कम हुँदा सामानलाई सामानसँगै साट्थे। सिकर्मीले बनाएको काठको सामान कामीले बनाएको हँसिया र बञ्चरोसँग साट्थ्यो भने तरकारी बेच्ने किसानले सार्कीसँग जुत्ता लिन्थ्यो। व्यापारको वृद्धि हुँदै गएपछि ठूल–ठूला व्यापारी, कारखानेदार र साहु–महाजन बढ्दै गए। ती साहुमहाजनले ठूलाबडा कर्मचारी र राजारजौटालाई भेटी चढाएर वा घूस खुवाएर कर मिनाहा गर्थे र धनी झन् झन् धनी हुँदै गए। प्रजातन्त्र र गणतन्त्रमा पनि घूसको लेनदेन, कर छुट, गरिबहरूलाई ठूलाले ठग्ने काम चालू हुँदै गयो। अमेरिका र बेलायतमा समेत स्वर्ग जाने र चन्द्रमामा जाने टिकट बेचेर मूर्ख जनतालाई ठग्छन्। 
    पूँजीवादी व्यवस्थामा 'विधिको शासन' भन्ने शब्दावली सार्‍है प्रचलित छ। अर्को भाषामा 'कानुनको शासन' हो। शासक दलहरूले आफ्नो फाइदाको निम्ति विदेशमा रोजगारीको नाममा युवाहरू पठाउन पाउने, सहकारी खोल्न पाउने, चिठा खोल्न पाउने, बैङ्कहरू खोल्न पाउने आदि आर्थिक कारोवारको संस्थाहरूको ऐन–नियम बनाउँछन्। आ–आफ्ना मानिसहरूलाई ती दलहरूले जनतालाई ठग्ने मेसो बनाई दिएका हुन्छन्। केही उदाहरण यी हुन् –
    एक, २०–३० वर्षदेखि म्यानपावर कम्पनीहरू खोलेर लाखौं लाख युवाहरूलाई घर–खेत बेच्न लगाएर वा ऋणमा डुबाएर विदेश पठाए – ५० हजारले पुग्ने ठाउँमा पाँच लाख लिएर। तर एक–दुई महिना अगाडि विनापैसाले ज्यामी पठाउने भयो अर्थात् २०–३० वर्षदेखि जनतालाई अरबौं अरब रूपैयाँ ठगे। 
    दोस्रो, काम लगाई दिन्छु भनी दलालहरूले भारत र अन्य देशमा चेलीबेटी बेचे, पछि थाहा पाएपछि ती दलालहरू पक्राउ पर्थे तर शासक दलका नेताहरूले छोड्न लगाउँथे। 
    तेस्रो, युनिटी वा ओरेन्टल नामका कम्पनी वा सहकारी संस्थाहरू सरकारले खोल्न दिए, ३ लाख ५६ हजार जनतासँग अरबौं रकम जम्मा गरे तथा आफ्नो नामबाट देश र विदेशमा लगानी गरे। सयौं जनताको उजुरीपछि तिनीहरूका नाइके पक्राउ परे, 'कानुनअनुसार केही हजार रूपैयाँ धरौटी राखेर तिनीहरू छुटे। तिनीहरूको कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरू जान्छन्, राष्ट्रपतिले शुभकामना पठाउँछन्, यसकारण जनताले पत्याउँछन्। ती सञ्चालकहरू आफै शासक दलका नेता र कार्यकर्ताहरू हुन्छन्, कानुन कमजोर बनाउँछन्, ज्यान सजाय गर्नुपर्ने ठग र भ्रष्टाचारीहरूलाई ६ महिना कैद र केही हजार जरिवानाको ऐन बनाउँछन्। 
    चौथो, नेपालीहरूलाई सजिलैसित अमेरिका, क्यानाडा, अष्ट्रेलिया र अन्य देशमा जान पाउने, व्यापार गर्ने, काम गर्ने गरी पठाउने नियम अर्थात राहदानी दिने ऐन सरकारले बनायो। त्यस ऐनभित्र बसेर सरकारका ठूलठूलो पदमा बस्ने सिंहदरवारका कर्मचारीहरूसमेत ती देशहरूमा गए। पहिले आफ्ना छोराछोरी पठाए, क्षेत्रफलले ठूल–ठूला देश भएको हुँदा काम गर्ने कामदारको कमी छ। त्यसैले तिनीहरूले नियम बनाएर सजिलै नागरिकता दिनु स्वाभाविक हो। तर नेपालका ठूला बडाले देशको गुप्त कुराहरू विदेशलाई बताएर वा भ्रष्टाचारको रकम विदेशमा राखेर कालो धनलाई सेतो पार्ने काम गर्न थाले। निर्वाचनमा शासक दलहरूले विदेशमा बसेका नेपालीहरूसँग पैसा लिएर तिनीहरूलाई 'भूतपूर्व' नेपाली भनी नेपालको समेत नागरिकता दिने वचन दिए। तिनीहरूलाई विदेशमा कर लगायो भने तिनीहरूले हामी नेपाली भन्नेछन् र नेपालमा कर लगाए 'हामी विदेशका नागरिक हौ' भनी कर छल्ने काम गर्छन्। तिनीहरूमध्ये कति विदेशीको हित हुने काममा संलग्न हुन्छन्। देश र जनताको अहितका काम गर्नेछन्। ठूलो पूँजी आएपछि नेपालका करोडपति तिनीहरू नाङग्लो पसलेसरह हुनेछन्। तिनीहरूको डलरले सरकारलाई समेत प्रभाव पार्छन्, देश झन् झन् कमजोर हुन्छ। 
    पाँचौ, यही रितले विदेशी केटीसँग बिहेवारी चलाएर विदेशी प्रभाव बढाउने र विदेशमा विदेशी चेलीहरूसँग नक्कली विवाह गरेर विदेशी ज्वाइँहरूलाई नागरिकता दिएर देशमा विदेशी प्रभाव बढाउने काम गर्दैछन्। शासक दलहरूले पैसाको बलमा ४० लाख विदेशीहरूलाई नागरिकता दिएको प्रचारमा आइरहेका छन्। 
    यी सबै काम शासकहरू र पूँजीपति, व्यापारी, बैङ्कपतिहरू मिलेर जनतालाई शोषण गर्छन्, ठग्छन् र लुट्छन्। 
    नाति–नातिना ! पूँजीवादी प्रजातन्त्र र गणतन्त्र भनेको धनीहरूको निम्ति, धनीहरूले निमुखा जनतालाई शासन गर्ने व्यवस्था हो भनेमा व्यवहारमा फरक पर्ने छैन। आजलाई यति नै भयो। 
आशीर्वाद !
माया गर्ने बाबा

बाँकि एकक्षण


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी