एकक्षण

दर्शक दीर्घाबाट


ए, गुरु द्रोणाचार्य !
तिमीले अर्जुन बनायौ –
गान्धीव धनुधारी
लक्ष्यमा पुग्न महिलाका
भेषधारी, विनम्र
उर्वसीको सरापै खपे पनि
आफ्नो इमान जोगाउने !
 
तर हे द्रोण,
दुर्योधन र दुस्सासन
पनि बनायौ तिमीले
त्यही तिम्रो हातले
कुमालेले माटाका
भाँडा–कुँडा बनाएजस्तै !
 
भात खान आएका होइनन्
६ सय एक जवान यहाँ,
यो गोठ पनि होइन
अरुले भनेजस्तै, सत्य !
 
यो उँघ्ने ठाउँ पनि होइन
काम नपाएर चुरोट तान्ने
ठाउँ पनि होइन 
हे, द्रोण खोइ बुझेको?
 
सत्य र वचनको निम्ति
मसान कुर्ने हरिशचन्द्रहरु पनि
त होइनन् यिनीहरु
जसलाई जनताले पुर्‍याए यहाँ !
हो, कतिले बुझे
कतिले बुझेनन् यो
सत्ताको कुकुर–झगडाको 
थलो पनि हो, इतिहास !
 
सामन्त फाल्ने, तानाशाह फाल्ने
यस्तो 'गोठ' हरूले नै हो
तर घरी घरी नियम फेर्ने
मुखैले प्रजातन्त्रको मुकुण्डो लाएर?
 
को हो त्यो गोठालो अहँकारी
स्पेनका पागल वीर कथाका?
हो, शिष्य तिम्रै हे द्रोण !
नियम 'पागलको डायरी' होइन !
 
कहीं गल्ती त तिम्रै होइन?
तर्क, चिन्तन र छलफलको
यस थलोलाई खाली
हातै उठाएर, 'हुन्छ' र 'हुँदैन'
भन्न लगाएर, सुगा रटाउने?
यो स्थल–वर्गसङ्घर्षको हो,
शास्त्रार्थको मैदान र 
आदर्श समाजको कल्पनाको
यस ज्यासललाई हे द्रोण, 
आफ्नो शिष्यलाई के सिकायौ ?

बाँकि एकक्षण


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी