कृषक कुना

मल नपाएर किसान बिचल्लीमा

बर्दिवास। चैतेबाली लगाउने बेला ढिलो हुँदै जाँदा पनि मल नपाएपछि महोत्तरी जिल्लाका किसान बिचल्लीमा परेका छन्। 
गहुँ, दलहन, आलु र अन्य चैतमा उत्पादन लिने बाली लगाउने बेला ढिला हुँदै गए पनि जिल्लाका बजारमा डीएपी, युरिया, फसफोरसलगायतका रासायनिक मल नपाएपछि किसान बिचल्लीमा परेका हुन्। तराईमा लाग्दो मंसिरदेखि २२ मंसिरसम्म गहुँबाली लगाउन उपयुक्त बेला मानिए पनि ठीक समयमा मल नपाएकाले यसपाली यो बाली लगाउन ढिला भएको किसानहरूले बताएका छन्।
मंसिर दोस्रो साताभित्रै लगाइसक्नुपर्ने दलहन र आलुखेती समेत मलको अभावमा हुन नसकेको जिल्लाको भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताएका छन्। गहुा, दलहन, आलु, र अन्य तरकारीलगायतका मुख्यबाली समयमै लगाउन नसकेपछि पारिवारिक गुजारा टार्ने चिन्ताले किसान पिरोलिएका छन्। जिल्लामा रासायनिक मलको आपूर्तिका लागि कृषि सामग्री संस्थानले अपारदर्शी ढङ्गले डिलरसीप बाँडेकाले आफूहरूले चाहेको बेला कहिले पनि सहज तरिकाबाट मल पाउन नसकेको किसानको गुनासो छ। जिल्लाका डिलरहरूले मल लुकाएर कृत्रिम अभाव बनाई कालाबजारी गर्ने गरेको किसानले बताएका छन्।
जिल्लामा करिब २० हजार हेक्टरमा गहुँबाली गरिने गरे पनि यसपाली भने अहिलेसम्म पाँच हजार हेक्टरमा समेत खेती लगाउन नसकिएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले स्वीकार गरेको छ। कृषि सामग्री संस्थान जनकपुर अञ्चल कार्यालयले भने मलको आयातमा ढिलाई भएकाले ठीक समयमा वितरण व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ। जिल्लाका किसानहरूले मलको पारदर्शी वितरण प्रणाली व्यवस्था गर्न माग गरेका छन्।

बाँकि कृषक कुना


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी