प्रमुख समाचार

नेमकिपा कालीकोटको आठौं जिल्ला सम्मेलन सम्पन्न

कालीकोट। नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्लाको आठौं जिल्ला सम्मेलन वैशाख १३ र १४ गते सदरमुकाम मान्म खाँडाचक्रमा सम्पन्न भयो। सम्मेलनले ऐनबहादुर शाहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला समिति गठन गर्‍यो।
   मान्मको प्रतिमा चोकमा सम्पन्न घोषणा सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं विदेश विभाग सम्बन्ध समिति प्रमुख प्रेम सुवालले संविधानसभा र सङ्घीय राज्य भारतीय विस्तारवादको एजेण्डा भएको र शासक दलहरूले ती एजेण्डालाई बेाकेर देशलाई अन्योलमा धकेलेको उल्लेख गर्नुभयो। 
    चार शासक दल एमाओवादी, नेका, एमाले र मधेसी मोर्चाले तीनजनाको सिफारिसमा जन्मसिद्ध नागरिकता दिने ऐन बनाएको नै देशघाती भएको, राष्ट्रपतिबाट बाधा फुकाउमा जन्मसिद्ध पाएकाका सन्तानलाई वंशजको नागरिकता दिने अर्को देशघाती काम गरेको र समानुपातिकमा एक प्रतिशत मत नपाएको पार्टीलाई प्रतिनिधित्व नगराउने निर्दलीय बाटो लिएको चर्चा गर्दै उहाँले चार शासक दलको उच्चस्तरीय राजनीतिक समिति खारेज नभएसम्म निर्वाचन भयमुक्त, स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित नहुने विचार व्यक्त गर्नुभयो।
     उहाँले निर्वाचित जिल्ला समितिले पार्टीको कार्यक्रम जनताको बीचमा पुर्‍याउने, विधानअनुसार सङ्गठन विकास र विस्तार गर्ने र भ्रष्टाचार, पक्षपात र अन्यायको विरोधमा निरन्तर सङ्घर्ष गर्ने विश्वास व्यक्त गर्नुभयो।
    पार्टीका केन्द्रीय सदस्य नवराज कोइरालाले कालीकोटमा भ्रष्टाचारीहरूलाई संरक्षण गर्न शासक दल एमाओवादी, नेका र एमालेका जिल्ला र केन्द्रका नेताहरू लागिपरेको चर्चा गर्दै नेमकिपाका कार्यकताको सङ्घर्षले भ्रष्टहरूले कालीकोट छाड्न बाध्य भएको उल्लेख गर्नुभयो। 
    अर्का केन्द्रीय सदस्य एवं दैलेखका अध्यक्ष जग्यबहादुर शाहीले माथिल्लो कर्णाली परियोजना नेपालीको हितमा नभएको दृष्टान्त पेश गर्दै बिप्पा सम्झौता गरेको एमाओवादी पनि टनकपुर र महाकाली सन्धि गरेका नेका र एमालेझैं राष्ट्रघाती भएको बताउनुभयो।  
     सुर्खेत पार्टीका प्रतिनिधि अङ्गबहादुर शाहीले पनि बधाई दिनुभएको घोषणासभामा नवनिर्वाचित जिल्ला पार्टी अध्यक्ष ऐनबहादुर शाहीले मार्क्सवाद,लेनिनवाद र माओविचारधारालाई आत्मसात गरी कालीकोटका जनताको बीचमा पार्टी सङ्गठन विस्तार गर्ने र जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    सम्मेलन तयारी समितिका संयोजक एवं पार्टी केन्द्रीय सदस्य नन्दबहादुर शाहीले सभापतिको आसनबाट नेमकिपाका कार्यकर्तालाई अराजनीतिक ढङ्गले भड्काएका र पार्टी तोडफोड गरेका नेका, एमाले र एमाओवादी आफै टुक्रिंदै गइरहेको र जनताबाट तिरस्कृत हुंदै गएको बताउनुभयो। नरदीप शाहीले उद्घोषण गर्नुभएको घोषणासभामा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ दैलेखका कलाकारहरूले सांस्कृतिक विधा प्रस्तुत गर्नुभएको थियो।
    तत्कालै बसेको जिल्ला समितिको बैठकले पार्टीको नियमित बैठक बस्ने, पार्टी प्रकाशनहरूको अन्तरक्रिया गर्ने र समाजवादको अपरिहार्यता र पूँजीवादको खराबीबारे जनतालाई बुझाउँदै जाने निर्णय गर्‍यो।
    यसअघि नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आठौं सम्मेलनको शुक्रबार उद्घाटन भयो।
    शुक्रबार सदरमुकाम मान्ममा आयोजित उद्घाटन समारोहमा नेमकिपाका केन्द्रीय सदस्य एवम् विदेश सम्बन्ध समिति प्रमुख प्रेम सुवालले एमाले र माओवादी नामले कम्युनिष्ट भनिए पनि कामले पञ्चायत र काङ्ग्रेसको बाटोमा गइरहेको बताउनुभयो। 
    उहाँले एक मधेश एक प्रदेश र पहाडमा जातजाती र भाषाको आधारमा १० र १५ प्रदेश बनाउनाले देश विखण्डन हुने चर्चा गर्दै संविधानसभा होइन संसद र स्थानीय निकायको निर्वाचन गरेर देशलाई निकास दिनुपर्ने विचार व्यक्त गर्नुभयो। 
    कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य बजिरसिंह विकले कम्युनिष्ट पार्टी जातजाति र भाषाभाषीको सङ्गठन नभएको तर वर्गीय मुक्ति गर्ने सङ्गठन भएको चर्चा गर्दै एमाले र एमाओवादीले कम्युनिष्ट दाबी गरे पनि जातीय सङ्गठनमा लागेकाले पूँजीवादी पार्टीमा पतन भएको चर्चा गर्नुभयो। नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष उकेश कवांले सरकारमा गएका पार्टीहरूले वैदेशिक रोजगारीको नाममा नेपाली युवाहरूलाई नोकरचाकरसरह विदेशमा बेचबिखन गरेको हुँदा ती सरकार मन्त्रीहरूविरुद्ध मानव बेचबिखन र देशद्रोहको मुद्दा चलाउनुपर्ने चर्चा गर्नुभयो।
    सम्मेलनको सफलताको शुभकामना दिंदै नेक्राशिसङ्घका केन्द्रीय सहसचिव नरदीप शाही, नेक्राविसङ्घका केन्द्रीय उपाध्यक्ष महेन्द्र शाही, नेमकिपा जुम्लाका प्रतिनिधि रणबहादुर रोकाया, नेमकिपा अछामका प्रतिनिधि वीरेन्द्रबहादुर शाहीले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो। 
    सम्मेलन तयारी समितिका संयोजक नन्दबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य सम्मेलन तयारी समितिका सचिव अर्जुन जीसीले र कार्यक्रमको सञ्चालन तयारी समितिका सदस्य खडगबहादुर शाहीले गर्नुभएको थियो। 
    उक्त कार्यक्रममा नेक्रासांसङ्घ कालीकोट र दैलेखका कलाकारहरूले सांस्कृतिक प्रस्तुतिहरू पस्केका थिए। 
 
 

वैदेशिक हस्तक्षेपविरुद्ध दैलेखमा सभा
वैशाख १७ देखि दल दर्ता सुरु
नेक्रामसङ्घको केन्द्रीय परिषद् हुँदै
अध्यक्ष रोहितसँग मन्त्रीद्वयको भेट
लेनिन जन्मजयन्तीमा कार्यक्रम
निर्वाचनबारे अन्तरक्रिया




अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी