समय सन्दर्भ

कसरी आउँछ संविधान?


भैरव रिसाल
    २० असोज २०७१। अझै टुङ्गो भएन ८ माघ २०७१ मा नेपालको संविधान आउने मुद्दा। माघ ८ मा नेपाललाई संविधान दिएनन् भने नेपालको संविधानसभामा बहुमत सदस्य सांसद भएका राजनीतिक दलहरूले भने नेपालको राजनीति पराजित हुनेभयो। यो पराजयको सम्पूर्ण दायित्व नेपाली काङ्ग्रेस, एमाले र एकीकृत माओवादी पार्टीमा साझा रूपमा केन्द्रित हुने हो। २०६३ को जनआन्दोलन नेपालको अन्तिम जनआन्दोलनको दर्जामा अङ्कित हुनेछ। त्यस उप्रान्त राष्ट्र आर्थिक समुत्थान र समृद्धिमा शिखरहरूको आरोहणतर्फ सम्पूर्ण शक्तिका साथ अग्रसर हुनेछ। त्यस परिप्रेक्ष्यमा सामाजिक न्याय, समानता र साम्य समाज कसरी स्थापना र सुरक्षित राख्ने? भन्ने जस्ता नयाँ उकाला खडा हुनेछन्, राजनीतिक मुद्दा छिन्निइसकेकोले त्यो मुद्दा त्यति असहज हुँदैन भन्नेमा ढुक्क थिएँ म। परन्तु नेपाली काङ्ग्रेस, एमाले र एकीकृत माओवादी दलहरूको चरम उत्तरदायित्वहीनता र बेइमानीका कारण नेपाल फेरि अर्को जनआन्दोलनको चर्को चक्करमा पर्ने नै भो। हिजो मध्याह्नसम्मको राजनीतिक उहापोह त्यही भन्छ। राजनीतिक इमान नहुनुभन्दा अर्को रोग केही नहुने रहेछ। दोस्रो जनआन्दोलन पहिलो जनआन्दोलन समेतका उपलब्धिहरूलाई संस्थागत गरी अन्त हुनेछ भन्ने जनताको अपेक्षा सार र स्वरूपमा रूपान्तरण हुन पाएन, कारण तीन ठूला दल नै हुन्। 
त्यसैको परिणाम हो आज !
    यो तीन दल राष्ट्रिय राजनीति, राष्ट्रिय हित आम जनताको चासो र नासोको पूर्ण उपेक्षा गर्ने, आफू आफ्ना र आफ्नो पार्टीको मात्र हितमा पूरै केन्द्रित हुने उत्तरआधुनिक सामन्तवादी चिन्तनले ग्रस्त हुनु यो आजको समसामयिक अवस्थाको प्रमुख कारण हो भन्ने लाग्छ। यी तीन दलले संविधान निर्माणबाट उच्च प्राथमिकता त के सामान्य प्राथमिकतासम्म दिएनन्, दिन चाहेनन्। अन्यथा २०६५ जेठ १५ देखि आजसम्मको समय यथेष्ट थियो, पर्याप्त थियो। घुमिफिरी ६ वर्षको समयलाई अपर्याप्त भन्ने तर्क नै छैन। मूलकारण या मूल दोषी त यिनै नेपाली काङ्ग्रेस, एमाले र एकीकृत माओवादी पार्टी नै हुन् सत्ताकाङ्क्षी अरू दलमात्र निमित्त मात्र हुन्। सङ्ख्या नै राजनीतिको सर्वेसर्वा हो भन्ने सङ्ख्यामूलक राजनीतिको यो प्रमुख आधार वा तत्त्व हुनेरहेछ। यही सङ्ख्याको आडमा एकथरि दलको भूइँमा खुट्टै छैन। ती ठूला र तीनका अनुयायी राजनीतिक दल आजको समस्या मूल जरो हुन्। यी तिनै दलले आफ्नो आधारभूमि जनता बिर्से। परिणामस्वरूप उपस्थित भएको हो आजको सक्कली अवस्था। यी दल र यिनका शीर्ष नेता र नेतृत्त्व यति गैरजिम्मेदार रह्यो औपचारिक संविधानिक दायित्वका घोर उपेक्षा गरे पार्टीको निरर्थक र अजरूरी कामलाई प्राथमिकता दिए त्यसको परिणाम हो आजको स्थिति।
किन आकर्षण विसर्जनवादतर्फ !
    फलाम तातेको बेलामा बल र बुद्धि लगाएर वस्तु उत्पादनको प्रयत्न गरेमात्र न चाहेको हतियार वा वस्तु निर्माण हुने हो ! नतातेको फलाम जति नै बलले पिटे पनि बाङ्गिनेसम्म पनि हैन त ! यी अस्तिबाट चिसो फलाम पिटेर मन लागेको हतियार बनाउने बृथा प्रयत्न भइरहेको छ। यस्तो बेमौकाको प्रयासबाट अरू त अरू ऊँट पनि बन्ने ढाँचा छैन। आफैले संविधानसभाको समयबद्ध कार्यतालिका बनाउने पार्टीहरू। अनि समयमा काम नगरेर त्यो कार्यतालिका निर्लज्जसँग उल्लङ्घन गर्ने। के के कस्तो कस्तो कुण्ठाको प्रतिविम्व हो यो। जनता नै सर्वेसर्वा लोकतन्त्रमा, अझ गणतन्त्रमा। यो सामान्य सिद्धान्त हो, साधारण आचारसंहिता हो। यति तथ्य आत्मसात गर्न राजनीतिको धुरन्धर पण्डित हुनैपर्दैन। यति सामान्य कुरा पनि आम जनताले बुझ्दैन भन्ने आत्मवञ्चना छ कि तपाई सत्ताकाङ्क्षी ठूला साना पार्टीका ठूला साना नेतामा? छ भने यस्ता भ्रमबाट मुक्त हुनोस्। अन्यथा तपाईं नेतामा र नेतृत्वमा बस्नेहरू नराम्ररी खुइलिनुहुन्छ र कामै नलाग्ने पत्रु र फाल्तु हुनुहुन्छ। त्यस्ले तपाईंलाई विसर्जन गर्ने डम्पिङ साइट पाउन पनि मुश्किल पर्छ। तपाईंले नेतृत्व गर्न सक्नुभएन, नेतृत्व दिन सक्नुभएन। अनि त्यस्तो नेतृत्व गर्ने गरिमामय पदमा किन लिसोझैं टाँसिएर बस्ने तृष्णा।  खरानी नै विसर्जनवादतिर आकर्षण।
दिल्लीका र जेलका पाहुना !
    तपाईं नेता हुन, नेतृत्वमा पुग्न, अझ शीर्ष तहमा पुग्न तपाईंले सानु कष्ट गरेको छैन। यो कुरा जनता राम्ररी बुझ्छ। तपाईं स्वयं खर्च जो भुक्तभोगी हुनु किन अबुझ भएको? तपार्इंका लामा लामा कष्टका जेलजीवन ! टाउकोको ५० लाख रूपैयाँ मूल्य घोषणा भएको भूमिगत जीवन ! तपाईंको काटिएको टाउको जुन झोलामा ल्याएर यी अहिले सहकर्मी पार्टीहरूको सरकारलाई बुझायो त्यही झोलामा रू. ५० लाखका नोटका बिटाले भरेर सिंहदरबारबाट निस्कन पाइने तत्कालीन सरकारहरूका निर्णय र सार्वजनिक घोषणाका क्षणहरू र साथै सशस्त्र जनयुद्धका समयमा तपाईंको टाउकोमाथि बम बर्षाउन चक्कर लगाइरहेका बम बोकेका हेलिकप्टरहरूको हुँकार सम्झन्छु र आजको रूझेको बिरालाको अवस्थाको तपाईं नेताहरूको अवस्था देख्दा छक्क लाग्छ। त्यो हिजो तपाईं कतिपय नेता नेपालमा सरकारका आँखामा बागी हुनुहुन्थ्यो। तर त्यही तपाईं नेपालको दक्षिण सीमा काट्नासाथ पूर्ण सुरक्षित हुनुहुन्थ्यो। दिल्ली त मावली, ससुराली, माइतीजस्तै सुरक्षित थियो तपाईंहरूका निम्ति। १२ बुँदे समझदारी पत्र दिल्लीमा तयार भएको हो र हस्ताक्षर पनि त्यहीं भएको हो। त्यो दिल्लीले तयार गर्‍यो कि गरेन स्पष्ट भएको छैन। अहिले माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' र उपाध्यक्ष सीपी गजुरेल भने तपाईंहरू दिल्लीको मेहमान हुँदा उहाँहरू उतैका जेलका पाहुना।  
अन्तनिर्भरतातर्फ उन्मुख !
    नेपालका दुई निकटतम छिमेकी राष्ट्र चीन र भारत पनि सहज र सरल राजनीतिक अवस्थामा छैनन्। दश वर्षमा छद्मस्वरूपका (सोनिया गान्धीका) मनमोहन सिंहको कोइलाखानी ठेक्का प्रकरणजस्ता काण्डबाट उम्की भारत नरेन्द्र मोदीको नेतृत्वमा रूपान्तरित भइरहेको छ। भारतकै एशोसिएसन फर डेमोक्रेटिक रिफर्मका अनुसार ५४३ जना निर्वाचित सांसदमध्ये ५५ प्रतिशत आपराधिक मुद्दाका अभियुक्त छन्। तीमध्ये पनि २१ प्रतिशत गम्भीर आपराधिक महिलासम्बन्धी र भ्रष्टाचार मुद्दाका अभियुक्त छन्। भारतको माथिल्लो अदालतले आपराधिक अभियोग लागेका व्यक्तिलाई मन्त्रिमण्डलमा नराख्न आदेश दिएको छ। तर मोदी मन्त्रिमण्डलमा १३ जना त्यस्ता अभियोगी मन्त्री रहेछन्। यो मुद्दा मोदीका लागि निल्नु नओकल्नु भएको छ। यता चीनमा भ्रष्टाचार र अनुशासनहीनता ताजा चुनौती छ भने सिञ्जियाङको अशान्ति, चीनको उत्तरी भाग र अन्य क्षेत्रको विषय आर्थिक स्थिति, सामाजिक न्याय र बजार अर्थतन्त्रबीचका समस्याकेा सम्बोधन गर्न चिनियाँ विशेषताको समाजवाद अघि सारेको छ। त्यहाँका समस्याको उपचार त्यो हुनसक्छ? प्रश्न भएको छ। अमेरिकी राष्ट्रपति आउँदो नोभेम्बरमा चीनको यात्रामा जाँदैछन्। चीनसँग अमेरिकाको साम्यवाद र पूँजीवादबारे हैन १) विश्वव्यापी तापमान नियन्त्रण २) इबोला महामारी सङ्कट ३) अन्तर्राष्ट्रिय आतङ्कवाद उन्मूलनबारे छलफल हुँदैछ। आज चीन अमेरिकाको अर्थतन्त्र अन्तनिर्भरतातर्फ उन्मुख छ।
अब बाहिर आउने हैन र !
    यस्ता अरू अरू सेरोफेरोमा रूमल्लिइरहेको नेपाल ६/७ वर्षको लामो समयसम्म पनि राष्ट्रको मूल कानुन संविधान बनाउन सकिरहेको छैन। गणतन्त्र, धर्मनिरपेक्षताजस्ता गम्भीर मुद्दा संस्थागत हुनसकेका छैनन्। यस्ता उपलब्धि हात पार्न सफल राजनीतिक दल र दलको नेतृत्व किन विफल भइरहेको छ नराम्ररी असफल भइरहेको छ। प्रश्न सरल छैन। एमाओवादी, माओवादी र अन्य सात दल एउटै पक्षको सङ्घर्षबाट आजको अवस्ार आएको भए चित्रका रेखाहरू एउटा शक्तिले चाहेअनुसार हुनसक्थ्यो होला। त्यो पनि कुन्नि राजनीतिको स्वभावै चिप्लो हुने, ज्यूँदो माछाजस्तै चिप्लो। हाम्रा सत्तालोलुप दलले त कता कता सत्ताकांक्षी दलले पनि चिप्लो राजनीति अँठ्याउन सकेनन्। राजनीतिक अवसरको चरम दुरूपयोग गरेर दलले र दलका नेताले। अपरिपक्व अभिव्यक्ति सार्वजनिक गरिदिने। फलाना, फलाना मन्त्रीले नेताले 'भोलि खुल्छ अवरूद्ध संसद' धेरैपल्ट भने अहँ खुलेको छैन त। यस्ताले आउँदो माघ ८ मा संविधान आउँछ भनेको कसरी पत्याउने? पत्याउने आधार के? प्रशासकीय स्वरूप, राज्यको पुनःसंरचनाका साथथै न्याय र निर्वाचन प्रणाली के कति र कस्तो? भन्ने गम्भीर र जटिल मुद्दामा हिजो यो पंक्ति कोर्दासम्म सहमति हुनसकेको छैन। अब कुनै आकस्मिक चमत्कार भएमा बाहेक भरेसम्म सहमति हुने लक्षण छैन।  आज शीर्ष तहमा आसीन १, २ र ३ नम्बरका सत्ताको ती दलका नेताले नेतृत्व गर्न सक्षम भएन। अब बाहिर आउने हैन 
र ?

पीटीए सदनमा ल्याउ
हुने नहुने भयो
मुद्दा छिनिएन
बुझे उताकाले, बुझेनौं यताकाले
जाऊँ न त पञ्चेश्वर नै
नेताले नेतृत्व लिन दिन सकेनन्
परिणामः मर्यादाहीनताको !
यसो गरौं, यसो भने नगरौं
नयाँ दिशाबाट थालनी गरौं



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी