समय सन्दर्भ

स्वरुप र सार ठीकसँग ठम्याऊँ

भैरव रिसाल 

नेपाल मजदुर किसान पार्टीको छैटौं महाधिवेशन उ ! आइपुग्यो प्रवेशद्वारमै। आउँदो शुक्रबार प्रस्तावित ऐतिहासिक महाधिवेशनको औपचारिक समुद्घाटन हुँदैछ कला संस्कृति र सभ्यताको विशिष्ट स्थान ओगटेको परम सुन्दर, स्वस्थ र स्वच्छ भक्तपुर नगरको शिरानबाट काठमाडौं सदर टुँडिखेलसम्म विशाल पैदल र्‍यालीको रुपमा उपस्थित अपार जनसमुदायको माझमा। हुन त नेमकिपाको गौरवपूर्ण विगतमा यस्ता विशाल– भक्तपुर सहरदेखि काठमाडौं सहरसम्म–पैदल र्‍याली धेरैपल्ट सम्पन्न भइसकेका छन्। तथापि विद्यमान नयाँ पुस्ताका निम्ति यति लामो पैदल यात्रा – र्‍याली सहज लाग्दैन किनकि वर्तमानमा यातायातको सुविधा प्रशस्त छ पहिलेको तुलनामा। भक्तपुर–काठमाडौं पैदल यात्रा ! र्‍याली !! बाफरे बाफ !!! भनी जिब्रो टाक्नेहरू पनि कहाँ कम छन् र ! भक्तपुर सहरको शिरानभागदेखि खर्पनमा बिहान सखारै तरकारीको भारी बोकेर ल्याई काठमाडौंका ठाउँ ठाउँमा बिक्री गरी त्यही खर्पनमा घण्टाघरतिर बागबजारको मुखमै सार्वजनिक रुपमा पिसाब गर्ने खुलामूत्र स्थानबाट खुर्पी पिसाबले भिजेको माटो उठाएर त्यही खर्पनमा बोकेर मलको रुपमा प्रयोग गर्ने स्वाभिमानी, स्वावलम्बी आदर्श किसान कतिजना त अझै हुनुहोला, पर्सिको र्‍यालीमा कतिजना सहभागी हुनसक्नु होला। त्यो एउटा कुरा हो भने त्यस्ता क्रियाकलाप सक्रिय जीवन शैली प्रत्यक्ष देख्ने, अनुभूत गर्ने म भने यो पंक्ति कोरुञ्जेल जिउँदैछु। भक्तपुर, ठिमी, नगदेश, बोडेदेखि पैदल काठमाडौंका त्रिचन्द्र कलेजसम्म पढ्न आएका ज्येष्ठ नागरिक पनि कति जना हुनुहोला। त्यस्ता कतिजनाको त खुट्टामा जुत्ता पनि हुँदैनथ्यो। त्यस्ता व्यक्तित्व पर्सिको र्‍यालीमा आउनु होला कि नआउनुहोला। बडा जिज्ञासा छ। 

काम गरिखानेहरूको र्‍याली 

आँट्यो भने धेरै थोक गर्न सकिन्छ भन्ने उपमा दिन मन लाग्छ। अलिदिन अघिमात्र एउटा रंगीन फोटो पत्रिकामा हेरेको थिएँ। थाइल्याण्ड हो कि म्यानमारको हो। बौद्ध भिक्षुहरूको लामो लस्कर गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट तत्कालीन राजा सुद्धोधनको राजधानी कपिलवस्तुको तिलौराकोटसम्मको २५ किलोमिटर बाटो नाङ्गा खुट्टाले पैदल यात्रा गरे। आस्था, निष्ठा र प्रतिबद्धता भए यस्ता यात्रा सहजै गर्न सकिंदो रहेछ भन्ने यो एउटा प्रमाण हो। हाम्रो २१ गतेको पैदल र्‍यालीको बाटो त त्यति लामो छैन। अब निपर्सि २१ गते शुक्रबारको भक्तपुर–काठमाडौं पैदल र्‍यालीमा त्यही खर्पनमा दिनहुँजसो भादगाउँदेखि काठमाडौंसम्म तरकारी बेच्न आउने अनुकरणीय किसानहरूका छोराछोरी, नातीनातिनी, पनाती पनातिनीहरू कति सङ्ख्यामा सहभागी हुने हुन्? मेरो तीव्र जिज्ञासा छ त्यो आफ्नै आँखाले हेर्न र बाबु बाजेप्रतिको उत्तरदायित्व पूरा गर्न। तर मलाई पूर्ण विश्वास छ ती आदर्श किसानका आज प्रायः पढेका, सुकिला लुगा लगाउने, जुत्ता मोजा लगाउने सन्तान ठूलो सङ्ख्यामा सहभागी हुनेछन्, उत्साह र उमङ्गका साथ र बितिसकेका पुर्खाको सम्मान गर्नेछन् भने बाँचेकाहरूलाई सन्तोष र हर्ष, खुशी तुल्याउनेछन्। त्यो र्‍यालीको र र्‍यालीमा आफूले निर्वाह गरेका भूमिकाको फोटोहरू पनि देखाउने छन् र सन्तुष्ट पार्नेछन्। वास्तवमा यो घटना वा आयोजना एउटा अवसर हो मूलतः नयाँ पुस्ताका लागि, युवा वर्ग र किशोर वर्गका निम्ति। भक्तपुर जिल्ला कला–काष्ठ, पाषाण, मृत्तिका, कागज कलाका र कलाकारिताको उत्कृष्टताका लागि विशिष्टताका लागि नाम कमाएको भक्तपुरले र्‍यालीमा पनि नाम र इज्जत उकास्नेछ, अझै प्रतिष्ठा कमाउने छ। यो र्‍याली भक्तपुरवासीको हैन हो सम्पूर्ण काम गरिखानेहरूको। 

संविधान चाँडो पाउने निम्ति 

काम गरिखाने जनताको भविष्यको रेखा कोरिइसकेको छैन किनकि अझै संविधान आउने तिथि, मिति, गते तोकिएको छैन। उही मूक बिम्ब एक वर्षभित्र भन्ने सुगारटाइकै पुनरुक्ति भइरहेको छ। हाम्रो कामदार जनताको, समाजवादउन्मुख संविधान निर्माणका लागि हाम्रो नेपाली सशक्त दबाबको वातावरण निर्माण गर्न निर्णायक समेत हुनसक्छ तर यो र्‍याली पनि विशाल, यति विशाल एवम् बृहद् हुनुपर्छ यो भक्तपुर टुँडिखलेदखि काठमाडौं टुँडिखेल जोडिने गराउने प्रयत्न हुनुपर्छ, त्यो भगीरथ प्रयत्न हुनुपर्छ, यसका निम्ति नेमकिपाका कार्यक्रम र मतदातामात्र हैन सम्पूर्ण देशभक्त, कामदार जनता–किसान, मजदुर, डकर्मी, सिकर्मी, ल्होकर्मी, कलमजीवी बुद्धिजीवी, शिक्षक शिष्य सबै सहभागी हुनु जरुरी छ। यो र्‍याली जति विशाल यो जति ठूलो यो त्यति नै चाँडै कामदार जनताको पक्षको बडो समाजवादउन्मुख संविधान आउन सक्छ। यो नेपालीको विशाल आकारले, गगनभेदी आवाजले, नाराले सभासद्हरूलाई ऊर्जा दिनेछ, बल र शक्ति सञ्चार गराउनेछ किनभने त्यो  र्‍याली किसानको हो, मजदुरको हो र हो सम्पूर्ण कामदार जनताको। हो आयोजना र आह्वान नेमकिपाको, हो निम्त्ति नेमकिपाको छैटौं महाधिवेशनको। तर र्‍याली त हो किसानहरूको, मजदुरहरूको, क्रान्तिकारी बुद्धिजीवी वर्गको र सम्पूर्ण कामदार जनताको। यसकारण पनि यो नेमकिपाको आयोजनामा आयोजित भएको नठानी सम्पूर्ण समाजको प्रगतिशील रुपान्तरण चाहने सङ्गठित असङ्गठित समस्त कामदार वर्गको हक र अधिकारको निम्ति हो। यो सार सबैले आत्मसात गरी सहभागी हुनु जरुरी देख्छु। यस्ता अवसर वा मौका यदाकदामात्र आउँछन्। तसर्थ सम्पूर्ण काम गरी खानेले भाग लेऊँ। 

सारैसारै महत्त्वपूर्ण छ र्‍याली 

सरकारले गति लिन सकेको छैन। थुप्रो संवैधानिक निकाय पूर्ण हुन सकेका छैनन्, मानव अधिकार आयोग त रित्तै छ। बल्ल बल्ल संवैधानिक समिति गठन भो र यो पंक्ति कोरुञ्जेल हिजो प्रधानन्यायाधीशको सिफारिस भयो। अरु निकायको नियुक्ति काँचै छ। संविधानसभामा सरकारले मनोनीत गर्ने २६ सदस्य नियुक्त हुनसकेका छैनन्। राजदूतहरू थुपै्र खाली छन्, मन्त्रालयहरू निकैवटा नेतृत्वविहीन छन् किनकि सचिव खाली छन्। यता स्थानीय निकायको निर्वाचनको मिति तोक्न सकेको छैन। संविधानसभामा दुईठाउँबाट जित्ने सभासद्ले छोडेका चार ठाउँको उपनिर्वाचन कहिले हुने टुङ्गो छैन। संविधानसभाको पहिलो अधिवेशन नै निरर्थक र सारहीन विवादको निहुँमा ६३ दिनपछि माघ ८ मा मात्र प्रारम्भ भयो। नियमावली बनाउने निहुँमा अरु झण्डै डेढ महिना संविधानसभा र व्यवस्थापिका―संसद विषयसूचीविहीन भए। यस्तो कुरुप र अनुत्तरदायी अवस्थाको घेराबन्दीमा राखियो मुलुकलाई। साँच्चै भन्ने हो भने अझै भिजिविलिटी स्पष्ट छैन नेपाली राजनीतिक अन्तरिक्ष र आधारभूतबीच। नेपालको राजनीतिक विमान कहाँ कसरी अवतरण गर्छ र गराउँछन् राजनीतिक दलहरू र तिनका नेताहरू। धेरैपल्ट दुर्घटना गराइसके नेपालको राजनीतिक वायुयानको। सबैभन्दा ठूलो दुर्घटना २०६९ जेठ १५ को मध्यरातमा भएको कायरतापूर्ण र बेइमानीपूर्ण विघटन संविधानसभाको गरिनु हो। नेपाली राजनीतिक विमान चालक पाइलट–नेता–हरूमा आपतकालीन अवतरण गराउने योग्यताको नितान्त अभाव छ। यस्तो खतरनाक परिदृश्यमा बसी शुक्रबार हुने नेमकिपाको र्‍याली सारै अर्थपूर्ण हुँदा सफल पारौं। 

बढी सतर्कता जरूरी छ: 

एकथरि राजनीतिक पार्टीहरू नेमकिपाको भक्तपुर–काठमाडौं र्‍यालीले आफ्नो राजनीतिक भविष्य नै गञ्जागोल पार्छ भन्ने अनिष्ट चिन्तन र चिन्ताबाट नराम्ररी आतङ्कित छन्। यो वास्तवमा काल्पनिक मनोत्रास हो, मानसिक रोग पनि हो। यो प्रयास प्रगतिको, अग्रगमनको, समाजको प्रगतिशली रूपान्तरणको विपक्षमा किमार्थ छैन। हो, प्रगिममनको, प्रतिक्रान्तिको, यथास्थितिको भने परिपक्का विपक्षमा छ। ती तत्त्व वा त्यस्ता व्यक्तिले पक्कै पनि सच्चिने प्रयास गरे भने जनता ज्ञानी छ, बुद्धिमानी छ, आफूलाई जनताको पूरै पक्षमा उभ्यायो भने अवश्य मौका दिन्छ। परन्तु कामदार जनतासँग सिङ्गौरी खेल्न खोजे हातमा दही जमाएको छ भनी मौन भने रहँदैन। सरकारले गति नलिएको, गति लिन नसकेको, गतिलिन नखोजेको अन्योलपूर्ण अवस्थामा यस्ता र्‍यालीको ओज र ऊर्जा स्वभावतः बढी सार्थक र प्रभावकारी हुने गर्छन्। यो स्वाभाविकै हो तसर्थ पनि नेपालको विद्यमान राजनीतिक परिदृश्यमा नेमकिपाको भक्तपुर–काठमाडौं पैदल र्‍यालीको दृश्यभन्दा पनि अदृश्य महत्त्व र शक्ति मेरो विचारमा बढी सशक्त छ। अग्रगमन नचाहने, यथास्थितिमा रूमल्लिरहन चाहने र अझ  प्रतिगमनको दिवास्वप्न देख्नेहरूका लागि शुभ छैन यथार्थमा। यसर्थ प्रस्तावित र्‍याली सफल हुन नदिन यथाशक्य कोसिस गर्छन्। गत निर्वाचनमा प्रत्यक्षतर्फ रूख, हँसियाहथौडा बाटुलो रातो घेरामा रहेको चिह्न, सूर्यमा एक छाप हान्ने र अर्को समानुपातिक मतपत्रमा भने गाईमा ढ्याप छाप हान्ने भ्रान्ति वा सिद्धान्तहीन वा कायर वा राजनीतिक अक्कलवादीहरू अरू खतरनाक हुने अवस्था आउन सक्छ। यस्ताहरू र्‍याली भाँड्ने दुर्नियतले घुसुवाको रूपमा छिर्न सक्छन्। आयोजकहरूको बढी सतर्कता जरुरी छ।  

उही अवस्थामा फर्कनेमा ध्यान  

महिना चैत छ, गते २१, बार शुक्रबार, समय दिउँसो छ। क र्‍याली सुरू हुने समयमा आइपुग्न सबेरै सकल उढ्नुपर्‍यो, उद्घाटन समारोह सकिएपछि घर वा वासस्थान फर्कनु छ। चैतमा अपराह्न आकासमा गड्याङगुडुङ हुने, हावाहुरी चल्न सक्ने अवस्था हुनसक्छ। तापक्रम ३३ डिग्रीसम्म पनि उक्लन सक्छ। यसर्थ र्‍यालीमा सहभागी हुनेहरूले छाता बर्सादी वा ओड्ने एउटा ल्याउनु आवश्यक होला। हावाहुरी आयो भने खासगरी युवाहरूले आफ्नो सुरक्षाको भन्दा ज्येष्ठ नागरिक धोब्वा धोमा वा फुफू निनी र आएका छन् भने केटाकेटीको सुरक्षा र हेरचाहतर्फ बढी ध्यान दिनुपर्ला। अझ एक धोमा एक युवा, एक धोब्वा एक युवा तोकिदिनु बढी व्यावहारिक गराउनुपर्ला। खानेपानीको प्रशस्त बन्दोबस्त हुनैपर्‍यो। खानेपानी सुरक्षित त पक्कै हुने नै छ। प्राथमिक र प्रारम्भिक स्वास्थ्योपचारको बन्दोबस्त, रक्तचापको, श्वास प्रश्वासको आपतकालीन परीक्षण र प्रथम 'तहको उपचार सेवा, चिनी (सुगर) रोग भएकाहरूका निम्ति चकलेट ल्याएर आ–आफैले लिने स्थिति बसाल्नुपर्ने, छारेरोगका बिरामीलाई सहभागी नहुन आग्रह, रिङ्गता लाग्नेहरूलाई भाग नलिन आग्रह, रक्तचाप परीक्षण, ज्वरो नाप्ने उपकरण र्‍यालीका बीच बीचमा स्वास्थ्यसेवी, स्वास्थ्यकर्मीहरूको बन्दोबस्ततर्फ सारै नै जिम्मेवार हुनुपर्ला। खानेपानी सकभर मान्छे मान्छेले नभए स–साना समूहमा खानेपानी हुनैपर्ने। समयमा नै खाजा खाने किसानहरू, मजदुरहरूका लागि खाजा खाने कसरी समय निकाल्ने? ध्यान दिनु जाती होला। यथाशक्य बाटोमा बेच्न राखिएका खाना नखाने आग्रह गर्नैपर्ला !घरबाट निस्केकै स्वस्थ अवस्था घर फर्कने अवस्थामा बनाउन ध्यान दिनुपर्छ।  

घुम्ती शौचालय र सरसफाइ 

हामीकहाँ सार्वजनिक सरसफाइलाई प्राथमिकता दिने परम्परा, बानी र अभ्यास कमजोर छ। मैले सुनेको कुरा एउटा अङ्ग्रेज पानी (पेय) खानु अघि शौचालय छ कि छैन ! खानेकुरा खानु अघि चर्पी छ कि छैन। त्यो पुष्टि गरेर मात्र पिउने र खाने गर्छन् रे। बिसर्जन गर्ने ठाउँ नभए ग्रहण नै नगर्ने गर्छन् रे। यो निकै घतलाग्यो मलाई। मलाई पूरै सम्झना छ नेमकिपाले एउटा पैदल र्‍याली गरेको थियो भक्तपुर–काठमाडौं नयाँ बानेश्वरसम्म। त्यो र्‍याली पनि विशाल थियो। त्यो संविधानसभा  

(पहिलो) को निर्वाचन अघि वा पछि हो याद भएन। त्यतिबेला आ–आफूले ल्याएको खाजा खाएकोजस्तो लाग्छ। अहा कति राम्रो? अनि घुम्ती शौचालयको व्यवस्था पनि थियो। भक्तपुरबाट टुँडिखेल आएको पहिलो हो क्यार पैदल र्‍यालीमा मलाई सम्झना भएसम्म घुम्ती शौचालय प्रयोगको सेवा थिएन, भए क्षमा पाऊँ। हो ! घुम्ती शौचालय सुविधाको बन्दोबस्त गर्नैपर्ला। मलाई पूरै सम्झना छ भक्तपुर नयाँबानेश्वर पैदल र्‍यालीमा नेमकिपाले गरेको समारोहपछिको सरसफाइ र घुम्ती शौचालयको सार्वजनिक प्रशंसा भएको थियो र सञ्चार माध्यमले पनि मुक्तकण्ठले सराहना गरेका थिए। कतिजना सार्वजनिक व्यक्तित्त्वले त्यो सरसफाइबाट प्रभावित भई मसँग नेमकिपाको यस्तो प्रयास र दूरदृष्टिको निकै तारिफ गर्नुभएको थियो। यो हो नेमकिपाको सरसफाइप्रतिको धारणा दृष्टिकोण र अभ्यास। मैले संसदीय एउटा टोलीको अगुवाइ गरेको थिएँ नेपाल वातावरण पत्रकार समूहबाट। त्यो टोलीले भक्तपुर नगरको सरसफाइको थलोमै अवलोकन भ्रमण गर्दा सफाईबाट प्रभावित नगरपालिकामा नेमकिपाको नेतृत्वको मूरीमूरी प्रशंसा गरेको थियो। २१ गतेको र्‍यालीमा घुम्ती शौचालय र सरसफाइ स्तर अझ उच्च पार्ने पक्का छ।  

नेतृत्व त्यतै केन्द्रित हुनुपर्ला: 

नेपालीमा एउटा उखान छ 'बिहे गर्ने हतारमा केटी माग्नै बिर्सिएछ ! यो उखान हो केटी मागेर बिहा गर्ने जमानाको। प्रेम विवाहको युगको हैन। मैले र्‍यालीबारे लामो गथासो गरें। नेमकिपाको समग्रमा छैटौं महाधिवेशनको सन्दर्भमा उपर्युलिखित भक्तपुर–काठमाडौं पैदल र्‍याली सार हैन स्वरूप हो। संसारमा यस्ता घट्ना, परिघटना थुप्रै भएका छन् जो सारमा शून्य छ वा केही छैन, परन्तु स्वरूपमा धूमधाम, धूमधडाका छ। सार वा अन्तर्वस्तु मूल कुरा हो, प्राण हो। स्वरूपलाई अनेकौं सक्कली किं वा नक्कली पदार्थ वा उपकरणले नानाथरि सिङ्गारपटार गर्नसकिन्छ। तर, त्यसबाट सार वा अन्तर्वस्तुको गुण स्तर बढ्न सक्तैन। यसो भनेर सारलाई मात्र महत्त्व दिने, स्वरूपको उपेक्षा गर्ने भन्ने कदापि र किमार्थ होइन। आजको विश्वव्यापी समस्याको उचित सम्बोधन हुन सकेको छैन आजतक निष्पादित वा निष्पन्न दर्शन, सिद्धान्त, उपायले। यसर्थ आजको विश्व समस्या सम्बोधन हुने निरापद उपचार वा हथौडीको खाँचो देखापरेको छ। मार्क्सवाद, लेनिनवाद र माओ विचारधाराको प्रयोगलाई समयसापेक्ष गर्नु जरूरी हो वा हो भने के हो? कसरी गर्ने? कार्यनीति, कार्य रणनीति, के कस्तो हुनुपर्ने? मार्क्सवादी दर्शन, लेनिनवादी कार्यनीति र माओविचारधारालाई व्यवहारमा ल्याउन के–कस्ता रणनीति ठम्याउनु जरूरी छ नेमकिपाको छैटौं महाधिवेशनले? मेरो विचारमा सार पक्ष यो हो, अन्तर्वस्तु यो हो। नेमकिपाको नेतृत्वले सार र अन्तर्वस्तु ठहर्‍याउने मुद्दामा आफूलाई केन्द्रित गर्ने र स्वरूप पक्षको खोटरहित क्यारीका निम्ति कार्यकर्ताले सम्पूर्ण जिम्मा लिने गरी कार्य विभाजन गरेकै होला नभए गर्नुपर्ला। पार्टी अध्यक्ष का. रोहितद्वारा प्रतिपादित जनताको प्रजातन्त्रले बढी समय लेला। नेतृत्व त्यतै केन्द्रित हुनुपर्ला।  

जनताको प्रजातन्त्र ! नयाँ दिशा?
कति रूमल्लिने अमूर्त बिम्बमा
ठूलो हुन नसक्ने ठूला मान्छे
कुन मितिबाट एक वर्ष
मेरो अनुपस्थितिको बकपत्र !
'शासक दलहरूको दास मानसिकता नै जलविद्युत् विकासको बाधक हो'
जिल्ला–जिल्लामा नेमकिपाको ४० औं स्थापना दिवस
संविधानसभाको पहिलो कार्यसूचीबारे परामर्श बैठक
नेक्राविसङ्घको अबको सङ्घर्ष



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी