समय सन्दर्भ

नयाँ क्यै छैन त? अनि !


भैरव रिसाल
२ चैत २०७१
    विद्यमान राजनीतिक माहोल सत्ताकाङ्क्षी राजनीतिक नेता र नेतृत्व अनुकूल छैन। आम र सर्वसाधारण जनताले सत्ताकाङ्क्षी नेता एवं नेतृत्वसँग जम्काभेट होला र शिष्टाचारवश भए पनि नमस्कार र अभिवादन गर्नु पर्ला भनी टाढैबाट बाटो छलेर हिड्ने राजनीति अख्तियार गरेको देखापर्छ। हो, यस प्रसङ्गमा एउटा विशिष्ट अपवाद भने छ। त्यो अपवाद भने अहिले प्रत्यक्षतर्फका या प्रत्यक्ष निर्वाचित सभासद् वा सांसदले चालू आर्थिक वर्षमा एकसेएक पन्ध लाख रूपैयाँ निर्देशिकाबमोजिम निर्वाचन क्षेत्र विकास सकार्यक्रमका नाममा खर्च गर्न पाउने एउटा आकर्षक योजना छ। उहाँहरूले आफूहरूलाई नितान्त अनुकूल हुनेगरी एउटा निर्देशिका नामको प्रतिरक्षा संयन्त्र पनि तर्जुमा गराई सक्नुभएको छ। निक्कै – ५ करोड हो क्यार– करोडको अतर्कसङ्गत, कुतर्कसङ्गत अडान राख्नुभएको थियो बजेट तर्जुमा हुँदाखेरि नै। यो आजको संयुक्त सरकार कति बलियो छ वा कति कमजोर छ सरसर्ती हेर्दा सोझो, सरल र इमानदार–तुलनात्मकरूपमा देखिने सभासद् पनि यो कार्यक्रम र योजनाको सार किं वा अन्तर्वस्तु सहजै आत्मसात गर्न नसक्ने साँच्चै हामी कसैले भने त्यो अवास्तविक र परिकल्पना ठहरिनेछ। राज्यका प्रत्यक्ष राजनीतिक पार्टीसँग आवद्ध व्यक्ति, राजनीतिक, आर्थिक, सामाजिक व्यक्ति र संस्थाबाहेकको सम्पूर्ण एउटै राय थियो। सरकारमा गएका राजनीतिक व्यक्ति वा जनप्रतिनिधि बाहेकलाई यस्ता पैसोसँग गाँसिएका मामिलामा किमार्थ गाँस्नुहुँदैन। गाँसियो भने बदमाशी नगरे पनि बद्नाम हुने अत्यधिक सम्भावना रहन्छ र सभासद्को ध्यान र समय संविधान बनाउनेतिर खर्च गर्नेतिर केन्द्रित हुन्छ भन्ने तर्क थियो। 
औचित्यहीन खर्च ! रोकौं 
    राजनीतिक र पार्टी स्रेस्ता मिलाउन समानुपातिकतर्फका र मनोनीततर्फका ३६१ सभासद्का मातहतमा खर्च गर्ने गरी प्रतिसभासद् रू. १५ लाख मिलाउने सरकारले प्रत्यक्ष निर्वाचित २४० जनाले समेत गरी अर्बौं रूपैयाँ छुट्यायो। जिल्लाका गाउँमा राज्यको रकम अधिकतम जानुपर्छ। यो मेरो दृढ धारणा र मान्यता पनि हो निःसन्देह। परन्तु सभासद् सोझै आवद्ध हुने गरी फुटेको पैसो पनि विनियोजन हुनुहुँदैन सबै दृष्टिबाट भन्ने सशक्त मान्यता र अडान पनि हो। पार्टी पद्धतिमा व्यक्तिमार्फत रकम खर्च हुँदा वा लगानी हुँदा हाम्रोजस्तो अल्पविकसित मुलुकमा राजनीतिक पार्टी, दल वा सङ्गठन लोकप्रिय नभइ व्यक्ति जनप्रिय हुने पृष्ठभूमि निर्माण हुन थाल्छ। अन्ततोगत्वा वा परिणाममा पद्धति वा प्रणाली प्रवल बलिष्ठ एवं बलवान नभएर व्यक्ति बलियो हुनथाल्छ, पद्धति, प्रणाली, विधि बलियो भए लोकतन्त्र, गणतन्त्र बलियो हुनथाल्छ व्यक्ति बलियो भए व्यक्तिवाद र अन्ततः अधिनायकवाद बलियो हुनथाल्छ र जनतन्त्रलाई खाइदिने यथेष्ठ सम्भावना रहन्छ। तसर्थ यस्ता सभासद् वा जनप्रतिनिधिमार्फत् जिल्ला वा गाउँमा पैसो किमार्थ जानुहुँदैन भन्ने मेरो तर्क हो। अर्को आर्थिक वर्षदेखि यसरी रकम जाने प्रथा बन्द नै हुनुपर्छ। यसपाला गएको रकम कसरी खर्च भो वा खर्च बाँकी छ त्यो बुझौं र खर्च नभएको रकम जिल्लाकै अन्य भरपर्दा संस्थाबाट संस्थागत पद्धति र प्रक्रियाद्वारा जिल्लामै खर्च गरौं। निर्वाचन क्षेत्र नभएका सभासद्को सिफारिसमा खर्च गर्न भनी गएको रू. १५ लाखको कुनै औचित्य नै छैन। तसर्थ त्यो पनि रोकौं। 
आफ्नो राष्ट्रको स्वार्थ रक्षा दायित्व
    आजको समय–सन्दर्भमा उठाउने गहकिला मुद्दा अरू नपाएर यस्ता प्रत्यक्ष राजनीतिसँग नगाँसिएका परन्तु परोक्षरूपमा राजनीतितर्फ प्रवृत्त यद्वा निवृत्त गराउने यस्ता मुद्दा उठाउन तत्पर भएको हुँ। नेपालको पार्टी राजनीतिले या प्रतिस्पर्धी राजनीतिले बाटो ठम्याउन सकेन। गन्तव्य पत्ता लगाउन सकेन। परिणामस्वरूप २०६४ चैत २८ गते निर्वाचित संविधानसभाले २०६९ जेठ १५ गतेसम्म एउटा संविधान देशलाई दिन सकेन फलस्वरूप आजसम्मका जनआन्दोलनहरूबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरू संस्थागत हुन सकेनन्। यो कमजोर पक्षलाई हिजो नराम्रोसँग परास्त पक्ष बोलकबोल हिजोको कार्यान्वयन भएन अविलम्ब कार्यान्वयन गर भन्दै धमिलो राजनीतिक पानीमा सलबलाउन थालेको छ। त्यो पराजित हिजोको अवशेषलाई सल्बलाउने प्राणेश्वर यिनै सत्तासीन र सत्ताकाङ्क्षी पार्टीहरूले दिएको हो। संसारमा विरलै हुने दोस्रो संविधानसभाले पनि १६ महिना निर्वाचन पछिसम्म पनि संविधान दिन सकेको छैन। यस्को मतलब यी राजनीतिक दलले परोक्षरूपमा परास्त शक्तिलाई पुनः गद्दी आरोहण गर्न निमन्त्रणा गरेको हो। यो होइन भने आधार छैन। २०६९ जेठ १५ गतेभित्रै ती प्राप्त उपलब्धि र प्रतिफलहरूलाई संस्थागत गर्न सकेको भए राष्ट्र अझ अगाडि बढिसकेको हुनेथियो। दुई छिमेकी मित्र राष्ट्रका सरकारका कार्यकारी प्रमुखहरू नेपालको विकासले फड्को मारोस् भन्ने चाहन्छन्। दक्षिणका प्रमुख दुईपल्ट आइसके। उत्तरका कार्यकारी प्रमुख नेपाल आउन खुट्टा उचालिरहेका छन्। तर भन्छन् कम्तिमा संविधान त आवस्। दुवै राष्ट्रको कर्तव्य हो आफ्नो राष्ट्रको स्वार्थ रक्षा। हाम्रो राष्ट्रको स्वार्थ रक्षा हाम्रो सरोकार हो। स्पष्टै छ यो त !
दल हो ठट्टा नगर व्यङ्ग्य नगर 
    नेपालको संविधान निर्माणजस्तो दुर्लभ, महत्त्वपूर्ण र संवेदनशील विषयलाई सत्ता गठबन्धनका दल र प्रमुख प्रतिपक्षको लाभ र सुविधा उपयोग गरिरहेको दलको नेतृत्ववाला मोर्चाले ठट्टाको रूपमा हास्यव्यङ्ग्यको रूपमा लिइरहेका छन्। भेटघाट द्विपक्षीय, त्रिपक्षीय, बहुपक्षीय र सर्वपक्षीय भन्छन्। एउटा पर्दा पछाडि अनौपचारिक भन्छन्, अर्को पर्दा खुलेपछि औपचारिकको संज्ञा लिन्छन्। अनेकौं यस्ता नौटङ्की नाटक गर्न थालेको सातवर्ष भो। सहमति रट लगाए फेरि प्रक्रिया भने अर्को कुर्सी हान्ने, माइक भाँच्ने र झण्डै झण्डै हात हालाहालको स्थितिमा उचाले। यो सहमति प्रक्रियाको सारहीन रटले डेढ महिना खायो। एउटा दलले फागुन १६ को शक्ति प्रदर्शन र शक्ति आर्जनको सफलतामा लामै समय गयो। फेरि भेटघाट पनि जुरेन सत्ताकाङ्क्षी दलहरू बीचमै पनि। एउटा दलका नेता सबै दलको बैठकमा आउन सक्तैनन्। थलिएका निकै वर्षदेखि। उनको स्वास्थ्यले धेरैजना मान्छेको जमघटमा जाने अनुमति दिंदैन। उनीसँग रोगप्रतिरोधी शक्ति छैन तर उनै दोस्रो ठूलो पार्टीको पहिलो ठूलो नेता छन्। त्यो पार्टीको शीर्ष पुरूष छन्। उनी किन शीर्ष नेता हुन हौसिए, उनलाई त्यसका लागि क–कल्ले –कुन –कुन शक्तिले उकेरा लाए, नेतामा छाने। त्यस रहस्यभित्र क–कसको के के स्वार्थ थियो र छ। यो गोप्य नै छ। उनलाई केही नहोस्। निरोगी भएर सय वर्ष बाँचुन् शुभेच्छा र शुभकामना। कथं तलमाथि पर्‍यो भने तलवितल पर्‍यो भने उचाल्ने र छान्नेहरूलाई हत्याको दोष लाग्दैन? जो मान्छे आफै उपर न्याय गर्दैन, अझ अन्याय गर्छ भने त्यस्ताले अरूउपर कसरी न्याय गर्छ भन्ने एउटा मान्यता। अनि राजनीति कसरी अघि सर्छ हँ। दल हो ! पार्टी हो ठट्टा नगर, व्यङ्ग्य नगर !
मोदी भेट भएनन्? जिज्ञासा 
    राजनीतिले गति नलिएको बेला, अझ पछाडि फर्कन लागेको बेला स्वादिलो समय–सन्दर्भ त्यसरी सम्भव हुँदो रहेछ र ! एउटा सारै सारै प्रखर एवं विलक्षण नेता १६ फागुनमा राजनीतिक तीर्थ दिल्ली हानिए। उनले स्पष्ट भने उनी आशिष लिन दिल्ली गएका होइनन्। तर गए किन गए उनै जानुन्। उनका पुराना गुरूहरू भेटे, गुरूदक्षिणा लगेका थिए थिएनन्, दिए दिएनन् उनै जानुन्। न अरू शिक्षोपार्जनका लागि गएका थिए त्यो पनि उनै जानुन्। उनले हिजो एउटा काठमाडौंको दैनिकमा नियमित स्तम्भमा लेखेका छन्, भारतलाई गुहार्न जाँदा ऊ आएर उत्पात गर्ने पनि होइन, गुहार्न नगए केही नगर्ने पनि होइन। उसले गर्ने काम उहिलेदेखि नै गरिराखेकै छ, नगर्ने काम हामीले गर भने पनि गर्दैन। उसको आफ्नै विदेश नीति र सामरिक स्वार्थ छ, त्यसैअनुसार काम गर्छ। यस्तो गुह्य त ज्ञान रहेछ नि ! अनि दिल्लीको हतार हतार दौडादौड किन त? यो प्रश्न कसैले गरेन? जिज्ञासा कसैले राखेन? यत्रो ज्ञानगुणको कुरो सार्वजनिक भयो। मेरो जिज्ञासा नि ! त्यसो भए किन त त्यत्रो धपेडी दिल्लीमा? कि क–कल्लाई भेट्न हानिएको, ती भेट हुन नसकेको प्रतिक्रिया हो? डा. बाबुरामजी के साँचै भेट नभएकै हो त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कि भेट्ने कुरा गर्ने योजना र कार्यक्रम नै थिएन वस्तुतः? कि भेटेर कुरा भए मोदीसँग? यो नि शुल्क जिज्ञासामात्र हो? 
व्यक्तित्त्वहरू आफ्नो हिजो हेरौं
    एउटा व्यक्तित्त्व बन्न सारै परिश्रम पर्छ, समय लामै लाग्छ। 'बुँख्याचा' बनाउन त समय, श्रम र बुद्धि खर्च हुन्छ भने राजनीतिक, सामाजिक, साहित्यिक, सास्कृतिक व्यक्तित्त्व निर्माण कति कष्टकर होला अनुमान गर्न सकिन्छ। परन्तु त्यस्ता व्यक्तित्त्वको विपरीत धार वा जनताको पक्षधरताबाट सत्ताको सुविधाको लाभको पक्षधरतातर्फ रूपान्तरण गर्दा जनताको आस्था, निष्ठा र विश्वास यति छिटो धराशायी हुँदो रहेछ। मान्छेलाई कल्पना गर्नै मुश्किल? अहिले नेतृत्वमा स्थापित वा आसीन व्यक्तित्त्वहरू त्यसै ख्याल ठट्टाले त्यहाँ पुगेको हो र? तर एउटै घटना र दुर्घटनाले त्यस्ता हिजोका ठूला व्यक्तित्त्वलाई एकैपल्ट पाताल पुर्‍याएका अनगिन्ती उदाहरण छन्। पैसोको तृष्णाले, यौनको तृष्णाले, राम्रो लाउने, मीठो खाने तृष्णाले, सुविधासम्पन्न बासस्थान, सवारीसाधन, विदेश भ्रमण आदिको क्षणिक वा आजीवन उपयोग, उपभोग र प्रयोगको तृष्णाले व्यक्तित्त्वहरूलाई कहाँबाट कता झार्छ? हाम्रो राष्ट्रका व्यक्तित्त्वहरूले यसो यसतर्फ घोरिए कति राम्रो हुन्थ्यो होला ! व्यक्तित्त्वहरू तपाईं आज जहाँ उच्चाटमा उभिनु भएको सजिलोसँग त्यहाँ पुग्नुभएको छैन, होइन। आफ्नो हिजोको सिंहावलोकन गर्नोस्, विहंगावलोकन गर्नोस् क्षणक्षण। ती सारा रील फनन घुम्छन्, तपाईं हमेशा पत्यार लाग्न गारो पर्छ होला। कहिले त रिङ्गता लाग्छ होला र भाउन्न हुन्छ होला। तपाईंले हिजो बिर्संदा बर्बाद हुँदैछ। राष्ट्र निर्धो बन्दैछ। देश युवाविहीन बन्ने भयावह घुम्तीतर्फ मोड्दै छ। व्यक्तित्त्वहरू ! तपाईं उत्तराधिकारीविहीन हुँदै हुनुहुन्छ। तपाईं आफ्नो उत्तराधिकार कसलाई हस्तान्तरण गर्ने हो सोच्नुभएको छ? व्यक्तित्त्वहरू अबेला हुन लाग्यो।
यो चाखलाग्दो उपमा हुनसक्छ 
    मेरा आदरणीय पाठकहरूको ध्यान केही दशक अगाडि आकृष्ट गर्न चाहन्छु। २०१०–१५ सालतिरको हो जुनबेला नेपाल कम्युनिष्ट पार्टीउपर डा. के.आई. सिंहको सिंहदरबार र सदरजेल विद्रोहपछि प्रतिबन्ध लागेको थियो। त्यस जमानामा जनतामा वामपन्थी चेतना विस्तार र व्यापक गराउने काम हामी विद्यार्थी कम्युनिष्ट पार्टीको निर्देशनमा तत्कालीन सार्वजनिक व्यक्तिहरू सिद्धिचरण श्रेष्ठ, पूर्णबहादुर 'मानव' र पूर्णबहादुर एमएहरू टोल टोलका सार्वजनिक पाटी, सत्तलमा दिउँसो काठमाडौं सहर र वरपरका काँठका मान्छेहरूलाई गाउँ गाउँ गई सहभागी हुन आग्रह गथ्यर्ौं १८–२० जना ३५–४० जनासम्म मान्छे जम्मा हुन्थे। यस्ता भेलामा महिला प्रायः शून्य नै हुन्थे। चेतना नगण्य थियो। वहाँहरू ३ जनाकै कुरा उपस्थितहरू राम्रोसँग सुन्थे। कुरोकति बुझ्थे। त्यो थाहा हुँदैनथ्यो। रहँदा बस्ता वहाँहरू राजीका कित्तातिर लाग्नुभो राजा महेन्द्रले संसदीय व्यवस्थाको हत्या गरी निरङ्कुश पञ्चायत ल्याएपछि। पूर्णबहादुर 'मानव' ले पञ्चायतको निर्वाचन गराउने निकाय निर्वाचन आयोगको एक सदस्यीय आयोगको प्रमुख आयुक्तको जागिर खानुभो। पूर्णबहादुर एमए र सिद्धिचरण श्रेष्ठले राजसभा स्थायी समितिको सदस्यको राजनीतिक जागिर खानुभो। राजतन्त्रको दासता किन स्वीकार्नु भो वहाँहरूजस्ता कम्युनिष्ट पार्टीले पत्याएका व्यक्तित्वहरूले यस्ता घटनाहरूको सूक्ष्म विवेचना गर्ने हो आज पनि काम लाग्छ भन्ने लाग्छ। पञ्चायत आएपछि कम्युनिष्ट पार्टीमा फूट आयो। डा. केशरजङ रायमाझीले कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्व कब्जा गरेपछि माथि उल्लिखित व्यक्तित्त्वहरू वाम नेताहरूको सम्पर्कबाट टाढा हुनुभो एकातिर अर्कोतिर दरवारले फकायो र आफ्नो कित्तामा तान्यो भन्ने मेरो अनुमान। वहाँहरूको उमेरले मोटरको, मासिक तलब र सुविधातर्फ लघार्‍यो होला। यो घटना चाखलाग्दो उपमा हुन्छ। 
तपाईंको उद्धारक तपाईं नै
    आजका सत्ताकाङ्क्षी नेताहरू? तपाईं आज आम जनताको पत्यारमा हुनुहुन्न। जनताका सेवाका निम्ति आफ्नो जीवन नै अर्पण गरेको भन्ने तपाईं नेता र नेतृत्वका लागि यो अपत्यार अत्यन्त ठूलो नोक्सान हो, क्षति हो। चुनावमा त जिते नि भन्ने तर्क होला। अघिल्लो चुनावमा दुवै क्षेत्रमा हारेको होइन र? पछिल्लो निर्वाचनमा क्षेत्र परिवर्तन गरी जितेको होइन र? तैपनि हारेको होइन र तपाईंले त? चुनाव कसरी जित्नु भो त्यो कथा त तपाईंलाई पूरै हेक्का होला। बिर्सेको भए सम्झन खोज्दा नराम्रो हुँदैन। तपाईंको निर्वाचनमा कति पैसो खर्च भो। त्यो प्रभूत राशी के के, कुन कुन शर्त र बोल कबोलमा कता कताबाट कति―कति आयो। त्यो तपाईंलाई पूरै त थाहा नहोला। तर दस लाख रूपैयाँदेखि माथिको रकम दिनेहरूको नाम नामेसी पक्कै सम्झना होला। त्यो पैसाको गुन नतिरे अर्को चुनावमा खुइलिन पर्ला। त्यागी, समर्पित एवं प्रतिबद्ध लार्क्यालहरूको मनोनयनमा एउटा प्रयोजनको निम्ति गराइएको हस्ताक्षर अर्कै उद्देश्यको जाली काममा कीर्ते गर्नुको पछि के निहितार्थ थियो। त्यो तपाईं ठालु नेताहरूले बकपत्र गर्नैपर्दैन। आम मान्छेलाई गतार्थ भइसक्यो। अङ्क कति हो त्यो मात्र आउन बाँकी न हो। हिजो तपाईं नेतृत्वमा पुग्न आजको उच्चातमा पुग्न गरेको कठोर श्रम, पाएका अमानवीय कष्ट र खेपेको क्रुर र पाशविक दमन र उत्पीडन आजकै अनिर्णय चलखेल विचलनका लागि हो? मलाई लाग्छ पक्कै होइन। अनि किन त आज यो चोर बाटोमा? प्रपञ्च र लटरपटरमा? देश बरबादीतर्फ धकेलिइरहेको छ। सात खर्ब रूपैयाँ व्यापार घाटा छ। तपाईं नेतृत्व र नेता भने संविधान बनाउनेतिर लाग्नु हुन्न मुद्दा टुङ्ग्याउनेतिर होइन टन्काउनेतिर आकाश–पाताल जोड्दै हुनुहुन्छ। गम्भीर हुनुहोस्। तपाईंको उद्धारक अरू हैन तपाईं आफै हो। तपाईं राजनीतिक सिद्धिचरण, पूर्णबहादुर 'मानव' र पूर्णबहादुर एमए हुनुहोला ?

बाँकि समय सन्दर्भ


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी