समय सन्दर्भ

नत्र तपाईंको औचित्य के?


भैरव रिसाल
१६ चैत, २०७१ 
    आजभोलि दुर्भाग्यको राजनीतिक माहोल खडा हुँदैछ। मुलुकको राजनीति सहमति, सहकार्य र सहयात्रातर्फ गइरहेको छैन बरू असहमति, एक्लाएक्लै यात्रा र असहकार्यतर्फ उन्मूख भइरहेको बडो तीव्रतासाथ। त्यसैको समष्टिगत परिणाम हो आजको मूठभेद र घम्साघम्सी। यसका प्रमुख कारण र कारक के के हुनसक्छन भनी सूक्ष्म रूपमा केलाउँदा प्रायः सत्ताकाङ्क्षी राजनीतिक दलका नेता र नेतृत्व दार्शनिक छैनन्, सिद्धान्तनिष्ठ छैनन्, कुनै पनि राजनीतिक दर्शन, सिद्धान्तप्रति निष्ठावान छैन, आस्था छैन अनि प्रतिबद्धता त कता हो कता ! कुनै पनि राजनीतिक दर्शन र सिद्धान्तप्रति दृढ अवस्थामा मात्र भइदिएको राजनीतिको रोडम्याप–राजमार्गको रेखाङ्कन गर्न सहज र सुगम हुन्थ्यो। यो निष्कर्ष कुनै नयाँ दर्शन वा खोजी वा पुरूषार्थ होइन सामान्य हो, साधारण हो। यदि पार्टी, नेता र नेतृत्व दर्शनअनुरूप गठित, सञ्चालित भइदिएको भए आजको मूठभेडको भयावह स्थिति कदापि आउने थिएन। आजका सत्ताकेन्द्रित राजनीतिक दलहरू र तिनका नेता र नेतृत्व स्वयं उद्योगपति, व्यापारी, व्यवसायी भए वा भ्रष्टाचारी, ठेकेदार र विचौलिया भए वा तिनका मतियार, त्यति पनि नभए उनीहरूका एजेण्ट भए वा त्यो ठग वर्गको गोटी भए मुठीको माखो भए। फलस्वरूप नेपाली देशभक्त आम सर्वसाधारण जनता पीडित भयो, आहत भयो, महँगी, अभाव र बेथितिबाट आक्रान्त भयो। मर्नु न बाँच्नुको दोसाँधमा पर्‍यो। 
यति नै पर्याप्त, किम् अधिकतम्?
    देशको मूल राजनीति यसरी प्रत्यक्ष नै परोक्षबाट भ्रष्टाचार, व्यवसाय, उद्योग र व्यापारले नराम्रोसँग आक्रमण गरेपछि, आक्रान्त भएपछि आउने नतिजा त यही आज नेपालले, नेपाली जनताले जे–जस्तो भोगिरहेछ त्यही हो। यो अनौठो र आश्चर्यजनक कदापि र कुनै दृष्टिबाट पनि होइन। आज राजनीतिक दलहरू योग्य, सिद्धान्तनिष्ठ, सक्रिय र वातावरणको दृष्टिबाट यति अनन्य सुन्दर, जलवायु र वातावरणको दृष्टिबाट नाति शीत, नाति उष्ण या समशीतोष्ण मुलुकमा पर्दापर्दै पनि गति लिन पाएन हाम्रो राष्ट्र नेपालले। आजको युगमा पनि नेपालसँग यति प्रभूत र अपार जलस्रोत छ। यस्तो दुर्लभ जलसम्पदा, त्यो पनि नुनिलो पानी हैन शुद्ध, स्वच्छ र निर्मल पानी, गुणस्तरीय पानी ! कति र कुन मुलुकसँग छ यस्तो सम्पन्न, समृद्ध र प्रधान कति राष्ट्र छन् यो विश्व ब्रह्माण्डमा। यस राष्ट्रको उर्वराभूमि र उर्वर माटोमा हजारौं जातजाति र प्रजातिका रूख–विरूवा–वनस्पति, जडिबुटी, फलफूलका विरूवा झण्डै सुनजस्तै महँगो यार्सागुम्बा, दुर्लभ औषधिका कच्चा पदार्थ वनस्पति, गुच्ची च्याउको कस्ले कहाँ खेती गरेको छ हँ नेपालमा? कस्तुरी मृग, हिंऊचितुवा, पाटेबाघ, एकसिङ्गे गैडा, गोही, हात्ती, थरिथरि र जातजातिका माछाको कल्ले, ककल्ले खेती गरेको छ र पालेको छ र हुर्काएको छ र? मात्र चोरी–शिकारी, चोरी, कटान, चोरी–सङ्कलन नगरिदिए नै पर्याप्त भयो। यो ज्ञान किन नपलाएको हाम्रा राजनीतिक दल, तिनको नेतृत्व र नेतामा? यति भइदिए नै पर्याप्त हुने थियो। किम् अधिकत्म?
ऐक्यबद्धता कि नपुंसकता?
    बेथितिको पराकाष्ठा नाभ्यो। एक जना ६० वर्ष पुग्न लागेका अविवाहित इमानदार वरिष्ठ डाक्टर गोविन्द केसी चिकित्सा शिक्षा नीति नआउञ्जेल निर्धारित पूर्वाधार र मापदण्ड नपुर्‍याएका मेडिकल कलेजहरूलाई सम्बन्धन नदेऊ, स्वास्थ्य फाँटका माफियाको कब्जामा जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्र नपार, सरकार स्वयम्बाट गठन भएको चिकित्सा शिक्षा नीत सिफारिस समितिबाट प्रतिवेदन नआउञ्जेल सम्बन्धन दिन हतार नगर भनी पाँचौंपल्ट आमरण अनशन बसेको आज (सोमबार) नौ दिन भइसक्यो। सरकार कानमा ठेडी कोचेर बसेको छ। एउटा वार्ता टोली बनाएर पठायो केसीसमक्ष। तर केसीले कारबाही गर्न माग गरेकै व्यक्ति शिक्षामन्त्रीले नै नेतृत्व गरेको समिति बनायो जुन डा. केसीमात्र होइन सम्पूर्ण आन्दोलन र अनशन पद्धतिकै घोर उपेक्षा र अपमान थियो। मेरो एउटा जिज्ञासा ! आज डा. केसीको अवस्थामा स्वयं प्रधानमन्त्री सुशील कोइराला भएको भए त्यो समिति वा टोली उहाँलाई मान्य हुनेथियो? यो त डा. केसीको आस्था र निष्ठाउपर मौन र अघोषित निर्मम आक्रमण नभए के हो? नेपालका विशिष्ट स्थान हासिल गरेका व्यक्ति वा व्यक्तित्त्वको आचरण र व्यवहार हेर्दा छक्क लाग्छ। हालै पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई केसी अनशन स्थान गएछन् र ऐक्यबद्धता सार्वजनिक गरेका छन् र आफू प्रधानमन्त्री भएका बेला डा. केसीका माग पूरा गर्न नसकेकोमा दुःख प्रकट पनि गरेछन्। अस्ति पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एमाओवादी अध्यक्ष का. प्रचण्ड र अरू अरू पनि नेता डा. केसी सामु उभिएर ऐक्यबद्धता प्रकट गरेछन्। त्यो नपुंसकता हैन? 
सुनकाण्ड स्मरण नै 
पर्याप्त !
    कुरै न हो अहिले निकै चर्चाको शिखर चढिरहेका एमाले दलको सरकारमा नेतृत्व गरिरहेका अति महत्त्वाकाङ्क्षी हालका प्रथम उपप्रधानमन्त्री तथा गृहमन्त्री स्वनामधन्य वामदेव गौतमले सम्बद्ध संसदीय समितिमा महिला हिंसा तथा बालिका बलात्कार र त्यसपछि हिंसाका असङ्ख्य जघन्य अपराध नियन्त्रण गर्न सरकार नितान्त असमर्थ भयो, निरीह भयो भनी कटु आलोचना हुँदा स्पष्ट भनेछन्, सङ्क्रमणकालमा, अन्तरिम कालमा यस्ता घटना भइरहन्छन्, पीडितले नै प्रतिरोध र प्रतिकार गर्नुपर्छ भन्नेजस्तो आशयको। क्या सटीक उत्तर ! ६ वर्षे बालिका पूजा शाह जस्ताले कसरी प्रतिकार वा प्रतिरोध गर्ने? यस्तो नपरोस् ठाडो जवाफ वामदेवका वा तिनीहरू भए यस्ता अपराधको प्रतिरोध या प्रतिकार गर्न सक्थे होलान्? के भनेको होला यो? के वामदेव केटाकेटी छन् ! गृहमन्त्री वामदेवले परराष्ट्रमन्त्री एमालेकै महेन्द्रबहादुर पाण्डेसँगको मिलेमतोमा ठूलो धनराशी कति कति हो उनको चलखेल अध्यागमन कार्यालयमार्फत गरिने र गर्दैआएको भिसा (प्रवेशाज्ञा) प्रक्रिया विदेशी निजी कम्पनीलाई सुम्पने प्रपञ्च मिलाउन लागेछन्। तर त्यो राष्ट्रघाती षड्यन्त्रको पोल खुल्यो, उदाङ्ग भयो वामदेव–महेन्द्रबहादुर कर्तुत। तब वामेदव आगो भएछन् निरीह र एकप्रकार छायाँ प्रधानमन्त्री सुशील कोइरालासँग र ठाडै बाझेछन्। यो संवेदनशील विषयको सूचना प्रधानमन्त्रीकै कार्यालयले चुहाएको पनि भन्न बाँकी राखेनछन्। वामदेव को हुन्, उनको चरित्र कस्तो हो? भन्ने जिज्ञासा भए २०५३ फागुन २९ मा पुनर्गठित लोकेन्द्रबहादुर चन्द मन्त्रिमण्डलका गृहमन्त्री र उपप्रधानमन्त्री रवीन्द्रनाथ शर्मा अर्थमन्त्री छँदाका सुनकाण्डले ती दुवैलाई पहेलपुर गराएको संस्मरण नै पर्याप्त होला जस्तो लाग्छ। 
विदेशी जासुस छ्याप्छ्याप्ती रे !
    अँ त ! वामदेव महोदयको प्रसङ्गमा एउटा चर्चित प्रसङ्ग त छुटेछ भन्या ! त्यो हो शेरबहादुर देउवा गृहमन्त्री छँदा थापाथली साइटको आफ्नै घरको झ्यालबाट सडक आन्दोलन हेरिरहेका एकजना किशोर विद्यार्थीको हत्या भयो प्रहरीको गोलीबाट। प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला। हो सहिद परिवारका एक सदस्यका निम्ति चीन सरकारले एउटा छात्रवृत्ति उपलब्ध गराएछ। त्यो छात्रवृत्तिमा काम्रेड वामदेवको आफ्ना सुपुत्रलाई मिलाएर पठाए रे। यो हो होइन स्पष्ट भएन। परन्तु त्यसपछि त्यो कुराले निकै चर्चा भएको थियो। एकीन के हो स्पष्ट हुन पाए वामदेवको अरू परिचय स्पष्ट हुन्थ्यो। अँ ! अर्को प्रसङ्ग पनि छुट्न लागेछ झण्डै ! त्यही भिसा प्रकरणमा का. वामदेवले यसरी विदेशी निजी कम्पनीमार्फत व्यवस्थित गर्दा नेपाल राष्ट्रकै गोपनियताको मर्यादा र राष्ट्रकै सङ्घीयता, संवेदनशील अस्मिता आदि उपर पनि प्रभाव पर्नसक्छ भन्ने तर्क गर्दा अहिलै पनि विदेशी जासुस देशभर छ्याप्छ्याप्ती छन् खै त? भनी नयाँ रहस्य उद्घाटन गरेछन्। यो रहस्य अरूबाट सार्वजनिक हुनु र स्वयं उपप्रधान र गृहमन्त्रीबाट, त्यो पनि संवैधानिक निकायको औपचारिक बैठकमा ! अत्यन्त गम्भीर मुद्दा हो। सम्बद्ध समिति यस्ता कुरा गृहमन्त्रीले सार्वजनिक गर्दा पनि किन मौन रह्यो। गृहमन्त्रीको मुखबाटै यस्तो संवेदनशील कुरा उठ्दा समिति किन मौन? अरूले भनेको भए एउटा कुरा, तर स्वयं गृहमन्त्रीको मुखारविन्दबाट उद्घाटित मुद्दा किन ढाक छोप? त्यो उनको भनाइको रेकर्ड उतार गरी सूक्ष्म रूपमा केलाएर मुद्दा अघि बढाइनुपर्छ र वामदेवलाई निलम्वन र कुरा हो रहेछ भन्ने हदैसम्मको सजाय हुनुपर्छ। यो राष्ट्रघाती कुरा हो। 
बाटो छेक्न किन राजनीतिमा?
    नेपाल सरकार नेपालका मन्त्री र पार्टी नेताहरू नेपालको द्रुततर विकास र सम्मुनतितर्फ अघि बढ्न र समृद्ध हुन स्रोत छैन, पैसो छैन, विज्ञ, विशेषज्ञ छैन, प्राविधिक जनशक्ति पर्याप्त छैन छैन भन्ने जस्ता दरिद्रता, अकिंञ्चनता र हीन मनोवृत्ति बारम्बार पुनरूत्त गर्ने दीर्घ रोगग्रस्त छन्। बजेटमा विनियोजन गरेको पूँजीगत या विकास परियोजनाका प्रभूत राशी खर्च गर्नै सक्दैनन् र रकम थुप्रिएर मुद्राको तरलता बैङ्कमा धेरै रकम सञ्चित भएर अर्थतन्त्र नै अन्योन्याग्रस्त भइरहेछ एकातिर। अर्कोतर्फ नेपाली आफूसँग भएको पैसो देश विकासको पावन कार्यमा लगानी गर्न धैर्यसाथ प्रतिफल प्राप्त गर्न प्रतिस्पर्धामा लामबद्ध छ। उपमाका लागि माथिल्लो तामकोशीको ४५६ मेगावाटको जलविद्युत् परियोजनाको शेयर किन्न अनुमान गरिएभन्दा आठ गुना बढी रकमको आवेदन परे रे। ३५ अर्ब रूपैयाँ लगभग खर्च पर्ने सो माथिल्लो तामाकोशी परियोजनामा उन्नाइस अर्ब रूपैयाँका शेयर खरिदका आवेदन परेछन्। सो शेयर आम र सर्वसाधारण जनताका लागि खुलेको होइन। सीमित परिधि र परिवेशका मान्छेका लागि मात्र हो त्यो शेयर। अब गम्भीर प्रश्न उपस्थित भयो नेपालीहरूसँग कहाँ पैसो छैन? सो राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी परियोजनामा ठेकेदारमार्फत कार्यरत साढेआठ सय मजदुरले आफूहरूले पनि शेयर किन्न पाउनुपर्छ भनी धेरै दिन हड्तालै गर्न बाध्य भए तर उनीहरूको मुद्दा अझै छिनिएको छैन। मेरो विचारमा परियोजनामा पसिना चुहाउने सबै श्रमिकले शेयर पाउनुपर्छ अन्यथा अन्याय हुन्छ। सरकारको पार्टीको नेतृत्व गर्नेहरू अलि छात्ती चौडा पार्नोस, इच्छाशक्ति दृढ पार्नोस्। किन सातो छात्ती ! सानो मन ! विकासको इच्छाशक्ति नै छैन किन राजनीतिमा? बाटो छेक्न? 
तामाकोशी र चिलिमेको सन्देश
    यो तामाकोशी शेयर लगानीमा देखापरेको अनुमानको नितान्तविपरीत उत्साहको प्रवल प्रवाहले नेपालको जलविद्युत् विकास र विस्तारको सम्भावनाले एउटा उत्कृष्ट सकारात्मक प्रक्षेपण गरेको छ। जनताको यसप्रकारको हुटहुटीको अन्तररात्माको चाहना र आकाङ्क्षाको नेपालमा अर्थशास्त्रको एवं समाजशास्त्री र मानवशास्त्रीहरुले सम्बोधन गर्न सकेनन् भने यो मुलुकमा अनर्थ हुनेछ। नेपाल र नेपालीको ढुकढुकी पटक्कै नबुझेको भन्ने प्रमाणित हुनेछ। तपाईंको विद्वता एवं विज्ञताको कुनै उपादेयता हुनेछैन, नितान्त पत्रु सावित हुनेछ, इतिहासले यही सावित गर्ने पक्का छ। तपाईं विज्ञ र विद्वत वर्गको र तपाईंको आधारभूत पढाइमै त कतै असङ्गति छैन? यसो घोत्लियोस् न एकपल्ट ! चिलिमे र यो माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा उम्लिएको शेयर लगानीको उमङ्गले एउटा नयाँ प्रस्ताव प्रस्तुत गरेको छ। अब आइन्दा यस्ता आयोजनामध्ये एकसय मेगावाटसम्मका जिल्लाका जलविद्युत् आयोजना निर्माणको सही र आधिकारिक अध्ययन र विश्लेषण गरौं र कति लागत पर्छ त्यो निकालौं। त्यस लागतअनुसारको शेयर निष्काशन गरौं। त्यसमा अधिकतम शेयरमा जिल्लाको मात्र अधिकारमा केन्द्रित गरौं। एउटा उपयुक्त निश्चित अवधिभित्र सम्बद्ध जिल्लाको शेयर लगानीले पाएन भने मात्र तल्लो र माथिल्लो टतीय क्षेत्रका जनताका निम्ति शेयर लगानीको ढोका खोलौं। त्यसबाट पनि शेयर बाँकी रहे अन्य वित्तीय संस्थाका निम्ति मौका दिऊँ, सय मेगावाटसम्मका परियोजनामा विदेश नगुहारौं। सय मेगावाट माथिका जलविद्युत् परियोजनाको सन्दर्भमा भने पहिलो प्राथमिकता सरोकारवाला जिल्ला, अनि तल्लो र माथिल्लो तटीय जिल्लाहरु, अनि देशव्यापी शेयर किन्ने अवसर दिऊँ। त्यसबाट पनि पुगेन भने विदेश गुहारौं। चिलिमे र माथिल्लो तामाकोशीको सन्देश यही हो। 
एउटा संविधान त 
दिनोस् !
    अब अन्तमा जाउँ राजनीतितिरै। समग्रमा राजनीतिलाई २०४७ वैशाखदेखि अहिलेसम्म सत्तामा चढेका र हाल सत्तासीन दल, तिनका नेता र सम्पूर्ण राजनीतिलाई नितान्त बेवारिसे पारे। यस प्रसङ्गमा २०६५ वैशाख १५ गतेसम्म नेपालको राजनीति बिगार्ने वा बन्न नदिनेमा प्रमुख भूमिका राजाहरुको र राजतन्त्रको पनि रह्यो भन्नु राजतन्त्रप्रतिको विरोधको पूर्वाग्रह होइन। गरौं भनेकोभए २०४७ देखि जलविद्युत्तर्फ ध्यान लगाएको भए वा विकास आयोजनाहरुका निम्ति बिजुली अपरिहार्य हुन्छ भन्ने सामान्य आत्मसात गरिदिएको भए आज आधा जिन्दगी अँध्यारोमा लुकाउन कहाँ पर्थ्यो र ! ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी ३ बन्न दुई दसक कहाँ लाग्थ्यो र ! यस २०४७–२०७१ का २४ वर्षमा धेरै पार्टी र राजा स्वयंले पनि बेला बेला राज गरे। परन्तु एउटा बिजुली आयोजनासम्म पनि दिन सकेनन्। यो दृष्टान्त हो नेपालको मूल स्वरुप र सार बुझ्न। अब पसौं आजैतिर। एउटा संविधान दिन सकेन ६०१ जनाको पल्टनले। यी ६०१ त तलबभत्ता खाने महादेवका गण नन्दी भृङ्गीजस्ता मात्र हुन्। असली फुलीवाला जर्णेल का. प्रचण्ड, का. केपी ओली र नेपाली काङ्ग्रेसमा त को को हुन स्पष्ट छैन सुशील हुन् कि देउवा ! वा को को, को को ! वा सबै। तराई पार्टीहरु त झनै भद्रगोल ! आज नेपालले एउटा संविधान पाए चीनका राष्ट्रपति सी जिन पिङ नेपाल आउन तयार छन्। सबैले जोड गरे अमेरिकी राष्ट्रपति ओबामा पनि यसो एकछिन भए पनि टुपुल्किन्थे होला। अहँ सबै बिगारे आजाका ठूला पार्टीका ठूला नेताले। तिनलाई बिगारे ती दलका ठूला मुनिका नेताले तिनलाई पनि ती मुनिका साना नेताले। मुलुकमा अब के हुन्छ भन्न सक्ने कोही छैन। नेता हो संविधान दिने योग्यता राख्नोस्। नत्र तपाईंको औचित्य के?

बाँकि समय सन्दर्भ


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी