समय सन्दर्भ

यता ध्यान गएको छ?

भैरव रिसाल 

३० चैत २०७१ 

पानी संसारकै सर्वाधिक चासो र सरोकारको मुद्दाको रूपमा उपस्थित भएको छ आज विश्व रङ्गमञ्चमै। मानिससँग प्रत्यक्ष सम्बन्ध राख्ने तरल भौतिक पदार्थ हो, वस्तु हो। मान्छेको सिङ्गो शरिरमा पानीको मत्रा किं वा अंश सबैभन्दा बढी हुन्छ। त्यस्तै अन्य प्राणीको शरीरमा पनि पानी नै बढी होला। यसको अपवाद पनि होला कुनै प्राणीमा। फलफूलमा पनि प्रायः पानीकै मात्रा बढी हुने देखिन्छ। हो, सुख्खा फलफूलमा तयारी अवस्थामा पानीको अंश कम देखिन्छ। उदाहरणका लागि ओखर, कागती, बदाम, काजु, पेस्ता, आरू, बदाम, खुर्पानी आदिलाई लिन सकिन्छ। तर तीमध्ये पनि कतिमा तैलपदार्थ, स्निग्ध तत्त्व अत्यधिक हुनेगर्छ। कति जिनिसमा हाम्रा नाङ्गा आँखाले देख्न सक्दैनन् भने कतिपय वस्तुमा रूपान्तरण गर्दा ठाडै देख्न सकिन्छ। तैल पदार्थमा तार्दा समेत पानी सुक्छ। पहिले नै प्रकृतिले भरेको पानीको मात्रा घामको या अन्य ऊर्जाको माध्यमबाट या आवाको माध्यमबाट पृथक गर्ने या सम्बद्ध वस्तुमै अन्तरायण गराउने पद्धति या व्यवहार विज्ञान एउटा वा एउटी गृहस्थ या गृहिणीले सरलै या सहजै प्रयोग गरेको स्पष्ट छ। सामन्य त गेडागुडी त निश्चित समयसम्म पानीमा भिजाए वा पानीमा उमाले पूर्ववत् आकार प्रकारमा रूपान्तरण हुनेगर्छ। कति त अङ्कुरण गर्छ। बढ्छ। उपमाका लागि क्वाँटीलाई सजिलै लिन सकिन्छ। आलुमा त ८० प्रतिशतभन्दा बढी मात्रा पानीकै हुनेगर्छ। यस्तो लेख्नुको आशय पानीको महत्त्व कति छ भन्ने देखाउन नै हो। प्रकृतिले के के मा कुन कुन वस्तुमा के के लुकाएर राखेको के के? भटमासमा दूध, मकैमा तेल अन्तर्निहित गराएको हुने रहेछ। भटमासको दूध व्यवसायिक रूपमा उपस्थित छ भने मकैको तेल अरू तेल खान नहुनेहरूका लागि स्वयं चिकित्सकले सिफारिस गरेको हुन्छ। यी सम्पूर्ण विषयवस्तुको अन्तर्वस्तुहरूबारे हाम्रो पुरानो समाजले, समुदायले के कसरी लिन्थ्यो कुन्नि ! तर हाम्रो समुदायमा आफूले सूक्ष्म या मसिनो गरी जानेको कुरा पछिल्लो पुस्तालाई नभन्ने, कथं भनिहाले पनि बुझ्ने गरी न भन्ने बौद्धिक अनुदारवादले समुदायलाई नोक्सान पार्‍यो। अन्ततः पानीमा पनि यही फर्मुला लागू भयो। पानीबारे हामी नजान्ने पो त भयौं।  

राजकुलो, सुनधारा र पोखरी 

यसको तात्पर्य भनेको पानी भनेको जीवन हो, जीवन भनेको वस्तुतः पानी हो भन्ने सिद्ध हुन्छ स्वतः नै। मान्छे पनि सर्वप्रथम जन्मेपछि आमाको दूध चुस्छ जुन दूध तरल हुन्छ र दूधमा पानीको मात्रा अधिक मात्र हुँदैन सर्वाधिक हुन्छ। अनि मान्छे मर्ने बेलामा पनि पानी नै खोज्दो रहेछ। भिजेको घाँटीबाट प्राणवायु फुत्त निस्कन सहज हुनेरहेछ। हाम्रो समुदायमा चलन चल्तीमा नै छ आमाको मुखमा, बाबुको मुखमा आखिरमा एक घुट्को पानी हाल्ने मौका पनि पाइनँ। कति संवेदनशील छ यो भनाइ ! नेपाली पुर्खाले पानीको महत्त्व, महिमा र गरिमा कसरी आत्मसात गरेको रहेछ। काठमाडौं खाल्डोलाई हराभरा बनाउन, जीवन्त राख्न र बाक्लो बस्तीमा यथेष्ठ पानी पुर्‍याउन पोखरी बनाउने, ती पोखरी, धाराहरू, र इनारहरू कहिल्यै नसुक्ने गराउन बार्‍है महिना बार्‍है काल पानी पुनर्भरण गर्न राजकुलोहरूको बन्दोबस्त गरिएको रहेछ। अझ गहुँ, मकै, कोदो आदि पिँध्न घट्ट स्थापना र सञ्चालनको बन्दोबस्त गरिएको रहेछ। आजको काठमाडौं सहरमा घट्टे कुलो बनाइएछ। घट्ट कहाँ कहाँ थियो त्यस्को नामोनिशान पनि छैन अहिले, तर अहिले पनि घट्टे कुलो टोल भने अवशेष नै छ। एउटा बस बिसौनीको नामा नै 'घट्टेकुलो' छ। तर यथार्थमा अहिले न घट्ट छ न छ कुलो नै। नाम भने छ घट्टेकुलो। २९ चैतको कान्तिपुर दैनिकमा ललितपुरको एउटा राजकुलोको कथा उल्लेख छ। टीकाभैरवबाट पाटन सहरको उत्तर छेउको कुपण्डोलमा त्यो राजकुलोको पानी आइपुग्थ्यो। त्यति लामो राजकुलोको पानी आइपुग्दा कुलो वरपरका गाउँमा कयौं पोखरी, इनार, धारा, कुवा र यहाँसम्म कि पाटनका सुनधारासम्म चलेको थिए। अहिले कुलो चल्दैन। सुनधारा सुके। कुलोको स्थूल र सूक्ष्म सम्बन्ध धारा, पोखरी, इनार आदिसँग अन्योन्याश्रित सम्बन्ध हुनेरहेछ। आजको पुस्ता हामीले यस्तो सूक्ष्मता आत्मसात गर्न सकेनौं।  

त्यो भेक मिनी कुलेखानी रे ! 

हाम्रै भक्तपुर जिल्लाको उत्तरी भेग र खरिपाटी भएर भक्तपुर नगरको पूर्वोत्तर भेगको निम्ति सिंचाइको पर्याप्त सुविधा पुर्‍याउन र सहरी क्षेत्रको पानी समस्या हुन नदिने र सहरको त्यो खण्डलाई रसिलो पार्न आधारभूत भूमिका निर्वाह गरेको थियो लामो समयसम्म। अहिले के अवस्था छ म पूर्ण अवगत छैन। तर केही काल अघिसम्म त्यता जाँदा कुलो–राजकुलोमा कल कल गरी सङ्लो पानी आफ्नै गतिमा अनवरत बगिरहेको भने थियो। त्यो राजकुलो जीवन्त थियो क्षेत्रफल र पानीको मात्रा कति थियो त्यो भने मालुम छैन। जिल्लाका सम्पूर्ण सरोकारवाला संस्था र व्यक्ति तथा व्यक्तित्त्वको गम्भीर ध्यान यसतर्फ केन्द्रित हुन जरूरी छ। राजतन्त्र उन्मूलन भइसकेको आजको वस्तुस्थितिमा किन लाग्ने राजकुलो संरक्षण र विस्तारमा भन्ने तर्क पनि आउन सक्छ। मैले बुझेसम्म राजकुलो भनेको राज्यले उत्तरदायित्व बहन गर्ने कित्ता हो भनेको मात्र हो। राजकुलोको राजा वा राजसंस्थासँग कुनै पनि सरोकार छैन। तसर्थ भक्तपुरले त्यो खरिपाटीतिरको कुलो टीकाभैरव–कुपण्डोल राजकुलो र कति सम्भव छ काठमाडौंको घट्टेकुलोको संरक्षण, पुनःस्थापना र सुचारू, सञ्चालनतर्फ ध्यानाकर्षण र कार्यान्वयन समयको सशक्त माग हो। भक्तपुरकै उत्तरपूर्व भेगमा अझै पानी स्रोत भरपर्दो छ मैले सुनेअनुसार। केही अघि खरिपाटीतिरका बटुकृष्ण अधिकारीको प्रस्तावमा नेपाल क्रान्तिकारी किसान सङ्घका गोविन्द दुवालको बन्दोबस्तमा पानीसँग सम्बद्ध विज्ञहरूको एउटा टोली स्थलगत अध्ययनमा त्यता गएको थियो। त्यो टोलीका विज्ञहरूले त्यहाँ स्रोत सरसर्ती अवलोकन गरेपछि टुङ्गोमा पुगे रे र भने रे साँचै यो ठाउँ पानीका आँखाबाट 'मिनी कुलेखानी' हुन्छ। त्यहाँ एकीकृत बुहुमुखी जल उपयोग आयोजना कार्यान्वयन गर्ने हो भने भक्तपुर नगर खानेपानीको सङ्कटबाट मुक्त हुन्छ र विद्युत् कटौतीबाट पनि मुक्त हुन्छ रे ! त्यसपछि के भो थाहा छैन।  

खोलोलाई कुलो गराएपछि? 

एउटा अभियान आयोजना भयो २०७१ चैत २८ गते बिहानै बागमती सुन्दरीजलदेखि सुन्दरीघाटसम्मको २८ किलोमिटर दुवै किनारामा बागमतीलाई दिलैदेखि माया र सम्मान गर्ने। विशाल जनसमुदाय र करबलले माया देखाउनेहरू लाम लागे। दुई किनाराकै लम्बाइमा ५७ किलोमिटर पुग्छ रे। जम्मा भएका मान्छेको सङ्ख्या एक लाख बीसहजार देखि एक लाख पैतीस हजारसम्म भयो रे। तीमध्ये केही बागमती मै पसे, टिप्न हुने वस्तु, फोहोर जम्मा गरे, गर्नसम्म गरे। काठमाडौं खाल्डो सुख्खा सहरमा परिवर्तन हुँदैछ। भूमिगत पानीको दोहन अत्यधिक भइरहेको छ। सिमेन्ट र पीचको अन्धाधुन्ध प्रयोगले भूँइमुनीको पानीको पुनःभरण–रिचार्ज–न्यूनमात्रा छ। यही ढाँचा हो भने काठमाडौं खाल्डो कास्कीको अर्मला भासिएजस्तै कुन दिन भासिन्छ भन्न सकिँदैन। यस्ता सम्भावित विपत्तिलाई पनि उपेक्षा गर्ने अवस्था छैन। काठमाडौं खाल्डोको नदी सभ्यता, जमीनको चिस्यान, पानी, अझ कलकल बगेको सङ्लो र निरापद पानीको खाँचो टार्न, यस खाल्डोका नदी खोलालाई जीवन्त पार्न, नदी खोलाका पानीमा जैविक, भौतिक र रासायनिक तत्त्व सन्तुलित समिश्रण स्वतः प्राकृतिक रूपमा नै सम्पन्न पारी ती बागमतीलगायत यहाँका नदी खोलामा माछा, गाँडे माछा, गड्यौला, गँगटाजस्ता जलचरहरूको सुरक्षित आश्रयस्थलका रूपमा स्थापित गर्नु आज हरेक नेपालीको उत्तरदायित्व हो भन्ने लाग्छ। यसै सेरोफेरोमा गत शनिबार धेरै मान्छे भेला भए ५६ किलोमिटरको मानवसाङ्ले बनाए। तर यस घटनाले खोला संरक्षण गर्नुपर्छ, जोगाउनुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ। नदीहरू, खोलाहरूलाई सिमेन्ट र ढुङ्गाका बलिया पर्खाल लगाएर सरकारी तहबाटै खोलालाई कुलामा साँगुर्‍याएको देखापर्‍यो। यो बिलकुलै नकाम हो। खोलाको जमीन निमिच्ने, ढल सोझै खोलामा मिसाउने काम कठोर तरिकाले नगर्दासम्म राम्रो नतिजा आउला र? 

श्रद्धाञ्जली कि उद्धार दुवैलाई 

पूर्वमन्त्री र पूर्वसांसद सलिम मिया अन्सारीलाई श्रद्धाञ्जली र सभामुख सुवास नेम्वाङलाई बधाई। हिजोको सङ्कटबाट नेम्वाङलाई अस्ति रातिबाट आफू मरेरै भए पनि सलिमले उद्धार गरे, हिजोको संविधानसभा बैठक शोक प्रस्तावमार्फत श्रद्धाञ्जली प्रकट गर्दै समापन भयो। यस्तै अघिल्लो सोमबार २३ चैतको बैठक पनि दुई मृतात्मा पूर्वसभासद् र पूर्वराज्यमन्त्री रामनाथ ढकाल र महेन्द्रलाई श्रद्धाञ्जली व्यक्त गर्दै अन्त भएको थियो। त्यो मृत्युको र संविधानसभा स्थगनको श्रृङ्खलाले नेपाल संवैधानिक राजनीतिक सङ्कट कति लामो कलाखण्डसम्म धान्छ भविष्यवाणी सम्भव छैन। अहिले संविधानसभा नै ६०१ जनाको जम्बो आकारको छ। पूर्वसांसद र पूर्वसभासद्हरूमध्ये बाँचेकाको सङ्ख्या पनि कहाँ सानो छ र? कालकलाको बात संविधानसभाको बैठक कहिलेलाई बोलाउँछन् सभाध्यक्षले र त्यस समयको अन्तरालमा कुन वा को पूर्व वा बहालवाला सभासद् वा सांसदको कालगतिले प्राण छाड्छ वा कथं त्यस्तो नभए त्यो दर्जाको कस्ले इच्छामरण–आत्महत्या गर्छ र अर्को एक साताको राजनीतिक सङ्कट टार्ने श्रृङ्खला धान्छ। यो पनि समाजशास्त्रीहरूले अनुसन्धान गरेर सङ्कटकाललाई गुन लाउने हो कि? पूर्वसांसदको निधन हुँदा संविधानसभाको बैठक किन बन्द गर्ने? संविधानसभा–पहिलो–चारवर्ष – १४ सय ६० दिन खेर फालेर अवशान – हत्या गरियो। अब यो आजको परम्परामा पुनर्विचार गरी शोक र श्रद्धाञ्जलीमा मात्र अलमलिने हो भने संविधान २०७४ मंसिर ३ सम्म पनि अहँ ! ८० को उमेर कटेका पूर्व यस्ता कति दर्जन छन् कित? तसर्थ संविधान बनाउने हो भने। सरोकारवालाको मात्र यस्तो विधि बनाउन्, बैठकको दोस्रो सत्र त्यही दिन बोलाऊ।  

धाँधली गर्न पनि कमजोर ! 

थोरै पनि सामाजिक प्रतिष्ठा र सार्वजनिक जीवन भएका व्यक्तिहरूले सरकारको र सरकार चलाइसकेका र सरकार चलाइरहेका पार्टीहरूको सार्वजनिक चर्चा परिचर्चा गर्न नै छोडिसके वा न्यून गर्दैछन्। निष्कर्ष हो फोहोर चलायो छिटा पर्ने र गन्हाउने आशङ्काले। तपाईं सत्ताकाङ्क्षी दलहरूले जनता माया मार्नु भो, जनतालाई आफ्नो प्रभूत सम्पत्ति बटुल्ने साधन मात्र बनाउनु भो। हो। यो मामलामा सबै राजनीतिक प्राणी बराबर हुनुहुन्न, घटीबढी पक्कै छ। परन्तु चोखो कोही हुनुहुन्न। यो निष्कर्ष भने पक्कापक्की हो। के कति भ्रष्ट छ, कलङ्कित छ, दोषी छ यो विश्लेषण गर्न यो कलम दक्ष छैन र छैन पर्याप्त सामग्री पनि। कृपया तपाईं राजनीतिक प्राणीहरू नै आ–आफैं अडिट गर्नु बेस होला। अप्ठेरो परे अर्को दलको समकक्षीको सहयोग लिंदा र सहयोग गर्दा अझ दुरुस्त हुन्छ किनकि सर्पको खुट्टा सर्पले नै देख्छ। जनताको सारै ठूलो आस्था र विश्वास गुमाई सक्नुभो। अब त्यसको भर्ताल सम्भव छैन। राजनीतिलाई कमाउने माध्यम, भ्रष्टाचारको स्रोत, अख्तियार दुरुपयोगको पूर्वाधार बनाउने प्रवृत्तिलाई अभ्यासमा उतार्ने काम गरेपछि अवश्यंम्भावी परिणाम त यही हैन र? अस्तिको बाग्लुङको रिक्त सभासद्को उपनिर्वाचनको मतगणनाको नतिजा विश्लेषण गर्दा एकीकृत माओवादी पार्टी त धाँधली गर्ने मामलामा पनि काङ्ग्रेस–एमालेभन्दा निकै कान्लामुनी रहेछ। एमाओवादीले आफ्नो योग्यताबमोजिम धाँधली गर्दा गर्दै पनि जमानत जोगाउनसम्म पनि सकेन। खसेको मतको दुई प्रतिशत मत पनि पोल्टामा पार्न सकेन। यो लेख्दा पूर्वाग्रह राखिएको लाग्ला एमाओवादीलाई। तपाईं आफैं विनाआग्रह पूर्वाग्रह नराखी सूक्ष्म किसिमले केलाउनोस् यही टुङ्गोमा पुग्नु हुने पक्का छ। विशेष किम् अधिकम् ! जान्नेलाई धेरै किन?  

अनियमितताको धरहरा ! 

गएको आइतबार नेपालको महालेखा परीक्षकको विभागले अघिल्लो आर्थिक वर्षको लेखा परीक्षणको आधिकारिक तस्वीर, ऐना राष्ट्रपतिलाई बुझायो। प्रतिवेदन उत्साहजनक छैन र चित्तबुझ्दो पनि छैन। यो लिखतमा उल्लेख भएअनुसार महालेखाले चार हजार ६१८ संस्थाको लेखा परिक्षण गर्दा २३ खर्ब, ५४ अर्ब, १२ करोड बेरुजू पाएको छ। त्यसमध्ये रु. दुई खर्ब ७३ अर्ब, १२ स्रोत बेरुजू पत्ता लगाएको किटान गरेको छ। यसपालाको बेरुजू गतवर्षभन्दा १२ दशमलव ३५ प्रतिशतले बढी हो रे ! यस्को तात्पर्य सुशील कोइराला सरकार अघिल्लो सरकारभन्दा १२.३५ प्रतिशतले भ्रष्ट, बढी अनियमित र बढी बेकम्मा छ। स्वयं प्रधानमन्त्री सुशीलले सोझै स्वीकारेका छन् उनको सरकार र उनका मन्त्रीहरू बढी भ्रष्टाचारसँग गाँसिएका छन् रे ! विजोक तर उनी अहँ ! केही गर्ने हैसियत राख्दैनन्। प्रधानमन्त्री सुशीलले आइतबार खरिपाटीको सेनाको एउटा कार्यक्रममा बडो राम्रो अनुप्राश मिलाएर सेनाको प्रशंसा गरे र भने सेना विधिको शासनबाट सञ्चालित एक उत्कृष्ट, व्यावसायिक र मर्यादित सुरक्षा सङ्गठन हो। फेरि उनले मस्तिष्कमा समझदारी, काँधमा जिम्मेदारी तथा हृदयमा इमानदारीको भावना राखी देशको सेवामा समर्पित हुने निर्देशन दिए। सम्भवतः यो उनको लिखत भाषण नेपाली सेनाले नै तयार गरेको हुनुपर्छ। त्यही दिन सार्वजनिक गरेको नेपाली सेनाको बेरुजु २०७०–७१ को धेरै करोड रुपैयाँ उल्लेख छ। बिस्कुट, दूध, औषधि, पिकअप, स्पेयर पार्ट, सवारी साधन, निर्माण सामग्रीदेखि हेलिकप्टर खरिदसम्म पनि अनियमित भयो भनी औंला ठड्याएको छ। पिकअप खरिदमा रु. ३६ लाखदेखि हेलिकप्टर खरिद पेश्कीमा एक करोड २७ लाख, २७ हजार ७२० अमेरिकी डलरको प्रश्न उठाएको छ। त्यस्तै अरु अरु मन्त्रालय स्वयं अर्थ मन्त्रालयको बेरुजु धेरै पार्ने पाँच मन्त्रालयमा सूचिकृत छ। अब मस्तिष्कमा समझदारी, काँधमा जिम्मेदारी तथा हृदयमा इमानदारीको प्रधानमन्त्री सुशीलको त्रिपदीय अनुप्राश साहित्यको प्रयोग जान्नेका लागि हो या समग्र सुशासनका लागि हो अन्योल भो, भ्रम हो। भनाइ र गराइ बिल्कुलै मिलेन। सङ्गत, तर्कसङ्गत उद्गारमात्र काम लाग्छ। 

कि वाहियात नै हो? 

एक छेस्को बाहिरी संसारतिर ! अन्तमा निथार–पिथार ! संसारमा एउटा नयाँ घटना भएको आधा शताब्दी पछि क्युवा–सानो मुलुकसँग विशाल भूभागको अधिपति र विश्वको पहिलो शक्ति संयुक्त राज्य अमेरिका थाकेको छ। यो कदापि भुल्नुहुन्न अमेरिकी राष्ट्रपति बाराक हुसेन ओबामाले क्युवासम्बन्धी नयाँ पाना थप्ने क्रममा उनको देशले अहिलेसम्म ग्रहण गरेको नाकाबन्दी, बहिष्कार र अस्पृश्यताको अहंवादी नीतिले काम गर्न सकेन, क्युवालाई गलाउन सकिएन दाजु फिडेल क्यास्ट्रोले सत्ता छोडेपछि क्युवा गल्छ भन्ने संरा अमेरिकी साम्राज्यवादी घमण्ड पनि भाइ राहुल क्यास्ट्रोको क्युवा झन एक टङ्कारले अघि बढेपछि ओबामा मात्र होइन सिङ्गो साम्राज्यवाद गल्ने युग आएपछि अब पुरानो बदली नयाँ राजनीतिद्वारा क्युवालाई गलाउन ओबामा प्रशासन क्युवा प्रवेश गर्दैछ। यो अमेरिकी आन्तर्य क्यास्ट्रो बंशले मात्र बुझेको छैन बरू सम्पूर्ण देशभक्त क्युवालीहरूले सूक्ष्मरूपले बुझेका  छन्। अमेरिकी त्यो सानो एउटा टापुमा सम्पूर्ण प्रतिकूल परिस्थितिमा पनि क्युवा विघटन होइन प्रगतिउन्मुख भइरहनु अमेरिकी अहँलाई ठाडो चुनौति सावित भएर आज ओबामा राहुलसँग आने सामने र पारस्परिक चासोको मुद्दामा नजिक हुने अवस्था आएको हो, मतभेदका मुद्दाहरू थाती राख्न सहमत भएजस्तो लाग्छ। आजको विश्व अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जर चीन नटेक्दाको भन्दा धेेरै भइसकेको छ। चीन र अमेरिकी समग्रमा अर्थतन्त्र अन्तर्निभरतातर्फ छ। यता भारतका प्रधानमन्त्री बेलायत हैन फ्रान्स र जर्मनीको यात्रामा छन्। उनीहरू ठूला देश, ठूला कुरा। सन् २०१६ पछिको संयुक्त राज्य अमेरिकाको नेतृत्व गर्न ओबामाको प्रथम राष्ट्रपति कालकी प्रतिस्पर्धी र पछि ओबामाकै विदेशमन्त्री रोधम क्लिन्टन खडा हुन अग्रसर भएकी छन्। त्यसपछिको अमेरिका, त्यसबेलाको भारत, विश्वको पहिलो शक्ति बन्न पसिना बगाइरहेको सी जिन पिङ सवल नेतृत्वको चीन के कस्तो हुने हुन्? नेपाल कस्तो हुने हो? त्यस विषयमा सत्ताकाङ्क्षी कुन कुन नेताको के कस्तो दृष्टि होला या नहोला ! भए कस्तो होला नभए किन नहोला? प्रश्न उठ्छ। किन हुटहुटी मलाई? लौ न नेता हो ! यता दृष्टि गएको छ? कि वाहियात हो?   

बाँकि समय सन्दर्भ


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी