सम्पादकीय

२०४५ सालको भक्तपुर काण्ड ....

    भाद्र महिना नजिकिंदै छ, हरेक साल भाद्र महिना दोहोरिंदै छ। तर नेमकिपाका देशभरिका सङ्गठनहरू र भक्तपुर जिल्लाका कामदार जनताले भाद्र महिनाको ९ गतेलाई कालो दिनको रुपमा मनाउने गर्दछन्।
    भाद्र ९ गते २०४५ सालमा पञ्चायती निरङ्कुश शासन र त्यसको नाममा जनतालाई ठग्ने ठगहरू, शोषण गर्ने र धम्की दिएर खाने मण्डलेहरू तथा फाइदा उठाउने प्रतिक्रियावादी र स्वार्थीहरूले पूर्व रापस कर्ण ह्योजूलाई षड्यन्त्रमूलक ढङ्गले भूकम्पको राहत सामग्री वितरणमा फसाए। प्रहरीले गोल्मढीमा सुरक्षाको निम्ति भ्यानमा लिइसकेको ह्योजूलाई फेरि भीडमै छोड्नु र साकोथामा पुनः हिंडेर भ्यानमा बसेको व्यक्तिलाई ९–१० बजे मृत घोषणा गर्नु ठूलो षड्यन्त्र थियो।
    दरबार र माथिल्ला पञ्चहरूका गुप्त कुराहरू खोलेको हुँदा ह्योजूलाई सजाय दिने तथा त्यसको दोष नेमकिपालाई दिएर समाप्त पारी अन्य राजनैतिक पक्षलाई उठाउने प्रतिक्रियावादीको षड्यन्त्र थियो भनी घटनाक्रम र परिणामले देखायो।
    पछि पछि हरेक साल त्यस षड्यन्त्र र नेमकिपा विरोधको चाँजोलाई नबुझ्ने, केही आफ्नो सानो स्वार्थबाहेक बुझ्न नसक्ने र व्यक्तिगत हितको निम्ति मात्र सङ्गठनमा लागेका, बलिदान र त्यागाको भावना पटक्कै नभएका र आत्म–केन्द्रित केही कार्यकर्ताहरूसमेत प्रतिक्रियावादीहरू र पञ्चायती ठगहरूको पछि लागेर आत्म–समर्पण गरेका, पुच्छर लुकाएर भागेका र निर्दोष जनताको घर–खेतसमेत बेच्न लगाएर अरुको सम्पत्ति कुम्ल्याउन खोज्ने परपीडक प्रवृत्तिका समर्थकहरू र केही डरछेरुवा सदस्यहरू  आत्म–आलोचना गर्दे, माफी माग्दै, भित्री सबै कुरा बताउँदै पश्चाताप गर्दै छन्। यसपालि पनि प्रतिक्रियावादीहरू र शत्रुको सभामा गई घुँडा टेकेको, क–कसले उक्साएको र पञ्चायतको नाममा जनतालाई असीम दुःख दिने पूर्वरापस गणेशबहादुर खत्री, पूर्वसभापति सुरेन्द्रप्रताप शाह, बासुपासा आदि आदिका कर्तुतहरू खुल्दै गएका छन्।
    ढिलो भए पनि आफ्नो जनविरोधी अपराध र पापबाट पोलेर रात्री सुन्न नसक्ने ती व्यक्तिहरूले क–कसले के के भने तथा कुन कुन परिवारसँग के कति रकम लिएर निर्दोष  जनतालाई नक्कली उजुरी देखाई प्रशासन र प्रहरीसँग मिली जनतालाई ठगेको बताइँदै छ। नेपाली उखानअनुसार १२ वर्षको खोलो फर्केको होइन २०–२५ वर्षको खोलो फर्कंदै छ।
    यसकारण हिजो गल्तीले अरुको हाहामा लागेर जनतालाई दुःख दिएका व्यक्तिहरूले आ–आफ्नो टोल–छिमेकका साथीहरू र नाता–गोताहरूलाई सबै कुरा बताएर आफ्नो मनलाई हलुको पार्ने सिलसिला चालू भएको सुन्नमा आएको छ। यसलाई पश्चाताप भनिन्छ। मानिसहरूबाट जानेर वा नजानेर, अरुको भड्काई र छकानमा परेर मानिसले अपराध गर्न पुग्छन्। तर समयमै त्यसलाई प्रस्ट पारेन वा पश्चाताप गरेन, आत्मआलोचना गरेन तथा माफी मागेन भने मन स्थिर नभएकाहरू देखिएका छन्, केहीलाई त मर्न पनि गार्‍हो भएको सुन्नमा आएको छ।
    यसकारण नेमकिपा र वर्गीय सङ्गठनका कार्यकर्ताहरूले एकपटक गल्ती वा अपराध गरेकाहरूलाई आ–आफ्ना नातागोता, घर–छिमेकी र टोलका साथीहरूको उपस्थितिमा आत्मआलोचना गर्न लगाएर मन हलुको गराउन र पापमोचन गराउन उत्साहित गर्ने काम मनोवैज्ञानिक र व्यावहारिक विषय हो। अपराध र पापले पोलेर अन्य राजनैतिक पार्टीमा शरणमा गएका व्यक्तिहरूलाई पनि राजनैतिक छलफल र सम्झाई बुझाई तिनीहरूको राजनैतिक चेतनालाई विकास गर्न सहयोग गर्नु आवश्यक छ।





अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी