सम्पादकीय

'लगानी बोर्ड' कसको बुद्धिको उपज हो?

संसदको दुईतिहाइ बहुमतले निर्णय गर्नुपर्ने देशको प्राकृतिक स्रोत र साधनको सन्धि–सम्झौताबारे 'लगानी बोर्ड' ले नै गर्नसक्ने उपाय कसको बुद्धिको उपज हो भन्नेबारे सच्चा देशभक्त, बुद्धिजीवी र प्राविधिकहरूमाझ छलफलको विषय बनेको छ। एकथरी भन्न्छन्– विदेशी पूँजीबाट छात्रवृत्ति पाएका नेपाली प्राविधिक, बुद्धिजीवी र राजनैतिक व्यक्तिहरूको कुबुद्धिको उपज हो। अर्कोथरी भन्छन् – नेपालीहरूमा यस्तो बुद्धि वा कुबुद्धि पलाउनै सक्दैन किनभने तिनीहरू विदेशी पूँजीको तुलनामा नाङ्ले पसलेका छोरा–छोरी, ५–१० करोड खेलाउने नेपालीहरूका छोरा–छोरी र २–४ जना आफ्नो मानिसलाई पदमा राख्ने, २–४ देशी र विदेशी व्यक्ति वा कम्पनीलाई स्वीकृति दिलाएर पूँजी लगानी गर्न दिएवापत २–४ करोड रूपैयाँ दलाली भागमा रमाउने सानो चित्तकाहरु हुन् र सानो पूँजीको सानो स्वार्थ राख्नेहरूको योजना मात्र हुन्छ। तेस्रोथरी भन्छन् – गुण्डा, अपराधी र जालीफटाहा प्रवृत्तिका गाउँ र जिल्लाका उच्च संस्कृतिमा नपालिएका, चेलीबेटी वा जीउ म्हास्ने मुद्दाका अपराधीहरूलाई भनसुन गरेर वा घूस खुवाएर तथा पैसा लिएर छुटाउने राजनैतिक कार्यकर्ताहरू र चिठा वा भागवण्डामा परेर पदमा जाने तर विदेशी दलालहरूबाट पालित–पोषित नेता, मन्त्री र सल्लाहकारझैं कुबुद्धिको उपज हुनसक्छ। 
    यस अनुमानको आधार के होला भन्ने जिज्ञासा स्वाभाविक हो। नेपालकै परिवेशमा हुर्केका बुद्धिजीवी, प्राविधिक र राजनैतिक कार्यकर्ताहरूले जहिले पनि आफ्नो गाउँ र जिल्लामा बाटो लैजाने, स्कूल र कलेज खोल्ने, अस्पताल र उद्योगधन्दा खोली सबैलाई काम दिने कल्पना गर्छन्। तर विदेशी एकाधिकार पूँजी वा ठूल–ठूला विदेशी पूँजीपति वर्गका आउरे–बाउरेहरूको प्रभावमा परेकाहरूले आफ्नो बुद्धि बन्धकी राखेर तिनीहरूकै योजना र उपायलाई सत्तामा बसेका नेता, मन्त्री र प्रधानमन्त्रीका परिवारका व्यक्तिहरूमार्फत देशलाई खाल्डोमा पार्ने काम गराउँछन्। 
    के स्वाभाविक विषय हो भने आफूभन्दा धनी र आफूभन्दा चलाख मानिसले कमजोर र सरल मानिसलाई हातमा लिन्छ। २०४६ सालको जनआन्दोलन लगत्तै पटनाका केही प्रगतिशील बुद्धिजीवीहरूले नेपाली प्रगतिशील प्राध्यापकहरूलाई भनेका थिए– 'तपाईंको देशमा अब प्रजातन्त्र आउँछ र भारतको सबभन्दा झूर र पत्रु व्यक्तिहरुले मेडिकल कलेज खोल्नेछन् र पैसा कमाउनकै निम्ति नक्कली डाक्टरहरू उत्पादन गर्नेछन्। यसमा नेपाली जनताले बुझेर विरोध गरेनन् भने भारतभन्दा तपाईंहरूको नेपाल र नेपालीले दुःख पाउनेछन्। 
    नेपाली काङ्ग्रेसको सरकार बन्नासाथै प्रगतिशील भारतीय बुद्धिजीवीहरूले भने – अब नेपालमा नेपाली नेताहरूकै छोरा छोरी वा नातागोताको नाममा भारतीय पूँजीपतिहरूको कलकारखाना खुल्नेछन्, सस्तोमा जग्गा अधिग्रहण हुनेछन्, विदेशबाट मेसिन र कच्चा माल ल्याई नेपाली सरकारी बैङ्कबाटै ऋण र विदेशी मुद्रा लिनेछन्, भारतभन्दा अत्यन्त कम भन्सार र अन्तशुल्क तिरी सस्तो नेपाली सामान भारतीय पूँजीपतिहरूले भारतकै जनतालाई महँगोले बेची नेपाली र भारतीय जनतालाई ठग्ने छन्। 
    नेपालमा विश्वविद्यालय, बैङ्क, उद्योगधन्दा खोल्न र लगानी गर्न भारतकै पूँजीपतिको प्रतिस्पर्धा हुनेछ र राजनैतिक प्रभावको आधारमा खराब कम्पनी र कालो पूँजीले नेपालमा स्थान पाउनेछ। व्यवहारमा त्यस्तै घटनाहरू भए र देखिए। हिजो राजपरिवार र दरवारकै आउरे–बाउरेहरू नै सबै प्रकारका देशको अहितमा संलग्न देखिन्थे, प्रजातन्त्र आएपछि कोइराला परिवार र काङ्ग्रेसकै आउरे–बाउरेहरूलाई पञ्चायती आउरे–बाउरेहरूसँग भागवण्डा गरी विदेशीहरूलाई भित्र्याए। 
    २०४८ सालदेखि देशमा भएका हरेक भ्रष्टाचार काण्ड र घोटालाहरूमा प्रधानमन्त्रीहरू, मन्त्री, तिनीहरूकै परिवार र शासक दलहरूकै आउरे–बाउरेहरूकै हात थियो भने लगानी बोर्ड ती सबै अपराधहरूभन्दा लाखौं गुणा ठूलो अपराधको योजना कस्तो कुबद्धिको फल हो भन्नेबारे चिन्तन गरेर व्यक्ति, गुट र अपराधीहरू चिन्नु आवश्यक छ। 

जातीय विद्वेष के भ्रम हो?
संविधान निर्माणमा नेमकिपाको मत
विकास सम्झौता वा देशको पराधीनता?
संयुक्त राष्ट्र सङ्घ कसको प्रभावमा?
सांस्कृतिक नगर किन घोषणा गर्ने?
राष्ट्रिय योजना आयोगको औचित्य के?
कालो दिवसको उद्देश्य के हो?
प्रमुख प्रतिपक्ष दलको भूमिका खोइ?
गाईजात्रा र प्रहसनको रहस्य



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी