सम्पादकीय

मोदीको 'ऋषिमन' र 'चिन्ता' !

१७ वर्षपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाली बुद्धिजीवीहरू र संवेदनशील समुदायमा मिश्रित प्रतिक्रिया देखियो। तर भारतीय जनता पार्टीका नेता तथा भारतीय प्रधानमन्त्री मोदीले भारतीय काङ्ग्रेसी सरकारहरूको भन्दा फरक अभिव्यक्ति संसदमा दिएर सरल नेपाली जनतालाई आश्चर्यमा पारे। मोदी नेपालको निम्ति नयाँ व्यक्तित्त्व हुन्, भारतीय काङ्ग्रेसी नेता र सरकारका प्रतिनिधिहरूको ठूलो राष्ट्रिय अहँकारवादको छनकप्रति अभ्यस्त नेपाली कर्मचारीतन्त्र पनि आफूलाई अलि सजिलो अनुभव गरेको बताइन्छ। तर सरकारको नेतृत्व व्यक्तिले गरेको देखिए पनि वर्ग, विचार र दीर्घकालीन उद्देश्यसँग समाहित हुने गर्छ, जसलाई भारतीय प्रधानमन्त्री मोदीले 'ऋृषि मन' को संज्ञा दिए।
     १८ साउन २०७१ को दिन नेपाली संसदमा दोहोर्‍याइएको 'ऋषि मन' को अभिव्यक्तिले  मोदी भारतीय संस्कृतिमा प्रगाढ आस्था राख्ने व्यक्तित्त्व हुन् भन्ने प्रस्ट हुन्छ भने अर्कोतिर नेपाली शासकहरूले आफूहरू सार्‍है अल्पदृष्टि राख्ने, स्वार्थी, स–साना विषयमा मात्रै ध्यान दिने, व्यापक दृष्टिकोण नभएका, दार्शनिक सोच नभएका बबुरा हुन् भन्ने अर्थमा लिने अनुमान नेपाली जनताले गर्नु स्वाभाविक हो। 
    देश सानो होस् वा ठूलो सार्वभौम राज्यहरू भने समान हुन्छन्, राज्यहरूको बीचमा आमा र बाबु, दिदी र बहिनी, ठूल दाजु र सानो भाइ भन्ने अभिव्यक्ति राजनीतिकभन्दा सामाजिक र भावुकताबाट आउने शब्द हुन्। ठूला र सानाको भावनाले सैद्धान्तिक र राजनैतिक पक्षलाई प्रभाव पार्दैन भन्ने उदाहरण सोभियत सङ्घ – सोभियत कम्युनिष्ट पार्टी र समाजवादी चीन – चिनियाँ कम्युनिष्ट पार्टीबीचको खुला सैद्धान्तिक विवादले उजागर गर्‍यो। यही कुरो चीन र भियतनाम, भियतनाम र कम्बोडियाको बीचमा पनि देखापर्‍यो। यसकारण नेेपाल र भारतको सम्बन्ध अत्यन्त प्राचीन र जनताको बीचमा सामाजिक सम्बन्ध भए पनि दुई राज्यको नाताले संवेदनशील हुनैपर्छ। 
    हरेक राज्यले आ–आफ्नो गौरवलाई कायम राख्ने हो भने आ–आफ्नो विशेषताबारे सचेत हुनैपर्छ। आत्मसम्मान र आत्मगौरवको भावना नभएका व्यक्ति कर्मचारी हुनसक्लान्, व्यापारी बन्न सक्लान् तर इमानदार राजनैतिक कार्यकर्ता, नेता र सरकारको नेतृत्त्व गर्न योग्य व्यक्तित्त्व हुनसक्दैन। मानिस इज्जत र प्रतिष्ठाको निम्ति बाँच्छ, स्वतन्त्र व्यक्तित्त्वको भावना खचाखच भरिएको राजनेताले मात्र देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्नसक्छ। नोकर र चाकरको भेद, साधारण व्यक्ति र राजनैतिक कार्यकर्ताको भेदबारे सचेत हुनैपर्छ। तर के साँचो हो भने सामन्ती संस्कार समाजबाट गइनसकेको हुँदा ठूलोको अगाडि झुक्ने र सानोलाई दबाउने हाम्रो प्रवृत्तिबाट नेपाली समाजलाई मुक्त गर्नैपर्छ। त्यसको अर्थ शिष्टाचार र सदाचारलाई त्याग्नुपर्छ भन्ने अवश्य होइन। 
    नेपालको सीमा भारतको विहार र उत्तर प्रदेशसँग बढी जोडिएको हुँदा ती दुई भारतीय प्रान्तसँग नेपालको बढी हेमखेम र सांस्कृतिक सम्बन्ध हुँदा गुजरातको सांस्कृतिक व्यक्तित्त्वले कति नेपाली अनौठो मान्नु स्वाभाविक छ। सिन्धुपाल्चोकको पहिरो र त्यसबाट हुने सम्भावित बाढीबाट धन–जनको क्षतिबारे मोदीको चिन्ताको अभिव्यक्ति साँच्चै स्वाभाविक र मानवीय थियो। मोदीको अभिव्यक्तिले नेपाली शासकहरूको मनको कुनै कुनालाई छोएको होला भन्ने जिज्ञासा पनि संवेदनशील समुदायमा देखियो। 
    नेपाली शासकहरूले भारतीय प्रधानमन्त्रीबाट एक खर्ब रूपैयाँको ऋण र अन्य केही सहयोगको मात्रामा बढी ध्यान दिएका होलान्, तर नेपाली शासक दलका नेताहरूको ध्यान 'ऋषि मन' र सिन्धुपाल्चोक वा कोशी नदीको पहिरो र बाढीबारेको 'चिन्ता' मा जानुपर्ने हो। यदि शासक दलका नेताहरूको ध्यान 'ऋषि मन' र जनताको 'चिन्ता' मा गयो भने मोदी भ्रमणको सबभन्दा उपलब्धि सम्झनु पर्दछ।
    अन्धकारमा छामछाम र छुमछुम गर्नुभन्दा राम्रो कुरा अरूबाट पनि सिक्नु आवश्यक छ, नेपाली शासकहरूले अरूसँग खाली माग्ने, त्यसमा पनि भ्रष्टाचार गर्ने र नाता–गोताको निम्ति खर्च गर्ने बानी छोडेर अरूको गुणको बदला गुणले दिने बुद्धि नेपाली शासकहरूमा पलाओस् भनी कामना गर्नु उपयुक्त हुन्छ।

घरमा आगो लगाएर हात सेक्ने बुद्धिमानी होइन
अन्तर्राष्ट्रिय दबुलीमा नयाँ दृश्य
नीति तथा कार्यक्रमको शल्यक्रिया !
के नेपालमा समाजवादबारे जनमतसङ्ग्रह होला?
काठमाडौं उपत्यकालाई नर्कपुर कसले बनायो?
नेताहरूको भनाइ जिम्मेवार होस्
अनिवार्य सैनिक तालिम र पराधीन देश
बग्गीको पछाडि घोडा
सर्वोच्चता कसको र किन?



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी