सम्पादकीय

झूटो आश्वासनको पछि नलागौं !


    पूँजीवादी राजनैतिक दलहरू संविधानसभाको निर्वाचनतिर जनताको ध्यान आकर्षित गर्न चटकेले दर्शकहरूको ध्यान आकर्षित गर्न बाँदरको नाच देखाएजस्तै दलहरूको भित्री र बाहिरी लुछाचुँडी र भाँड–भैलो, व्यक्तिवादको चरम नाङ्गानाच देखाउँदै छन्। तिनीहरूले जनतासँग आ–आफ्नो दललाई खाली बढी मत दिन वा बहुमत आए संविधान बन्ने झूटो आश्वासन बाँड्दै छन्।
    पूँजीवादी राजनैतिक दलहरू आफै व्यापारी, भाग खञ्चुवा, नाफा लिने र देश एवं जनताको शोषणकै निम्ति तिनीहरू आपसमा एकले अर्कोलाई सिध्याउन विदेशीहरूसँग सहयोगको याचना पनि गर्दैछन्। जनतालाई त ती दलहरूले झूटा आश्वासनबाहेक केही दिंदैनन् र अन्य कुरा दिन पनि तिनीहरू सक्षम छैनन्। तिनीहरूले आ–आफ्नो पसलमा सानो पूँजीकोे बेला ग्राहकहरूलाई छल्न 'आज नगदी भोलि उधारो' को पाटी झुण्ड्याउँथे। आज तिनीहरू करोड होइन अरबको हिसाबकिताब गर्छन् र हिजोका आफ्ना मुठ्ठीभर ग्राहकहरूलाई होइन व्यापक मतदाताहरूलाई 'हाम्रो दललाई बहुमत दिए, हामी संविधान दिन्छांै' भन्ने जस्तो 'आज नगदी भोलिको उधारो' को पूरानै व्यापारिक खेल खेल्दैछन्।
    त्यस खेलको दुई अर्थ लाग्छ – एक, कसैको बहुमत आउँदैन, दोस्रो, बहुमत नआउने हुँदा संविधान नबनाइकनै पूँजीवादी दलहरूले आतङ्कको राज चलाउँदै जाने सम्भावना छ। हिजो एमालेले आफ्नो बहुमत आएमा हरेक मतदातालाई 'चार तोला सुन, चार विघा जमिन, विवाह नगरेकालाई लोग्ने वा स्वास्नी दिने' अलिखित नारा दियो। काभ्रे जिल्लाको तामाङ गाउँमा गएर एमालेले आफ्नो बहुमत आए – 'बनेपाको धनी नेवार साहुको घरको एउटा एउटा कोठा दिने' वचन दियो। एमाले नेता र कार्यकर्तालाई थाहा थियो एमालेको बहुमत आउँदैन। एमालेको चाहना थियो – मतदातालाई पूरा नहुने आश्वासन देऔं र मत बढी बटुलेर दोस्रो ठूलो दल बनौं।
    एमाओवादीले सबैलाई जातीय वा राष्ट्रिय राज्य बाँड्न आश्वासन अहिले पनि दिंदैछ। सबै जातिलाई आ–आफ्नो अग्राधिकार भएको जातीय राज्य दिने र देशको नयाँ नक्सा बनाएर सबै जातजाति वा राष्ट्रहरूको अलग अलग राजधानी दिने ! यो कस्तो राज्य र राजधानीको नक्सा कोराई हुने हो !!
    नक्सा त बेलायती उपनिवेशवादीहरूले नक्सै कोरेर भारतीय जनतालाई चित्त बुझाएर होइन, रगतको खोलो बगाएर भारत र पाकिस्तानको नक्सा कोरेका थिए। के आज एमाओवादीले जवाहरलाल नेहरू विश्वविद्यालयकै सल्लाहमा नेपालको नक्सा कोर्दै छ? 'स्यावास ! भारतमा बनेको क्रान्ति' र 'भारतमा बनेको नेपालको सङ्घ राज्य' को नक्सा कोराईलाई !!! भाँडभैलो, अराजकता र पूँजीव्ाादी आतङ्कलाई नै 'क्रान्ति' र 'सङ्घ राज्य' भन्ने हो भने ६६ वर्षको भारतीय स्वतन्त्रताको इतिहासमा आज पनि ६७ प्रतिशत भारतीय जनता गरिबीको रेखामुनि हुनुलाई के भन्ने ! स्वाधीनता !? सङ्घ राज्य !?
    'माओवाद', 'जातीय सङ्घ राज्य' र 'क्रान्ति' को नाउँमा आतङ्क, हत्या, भागवण्डा र धम्की, अन्याय र अत्याचार फासीवाद हो – मार्क्सवाद र साम्यवादी सिद्धान्त होइन। हिटलरको ठूलो राष्ट्र अहङ्कारकै कारण दोस्रो विश्वयुद्धमा ६ करोडभन्दा बढी जनताको हत्या भयो। आज पुनः जातीय राष्ट्रवादकै नाउँमा देशलाई धुजाधुजा पार्ने हो, जनतामा जाति, भाषा, धर्म र क्षेत्रीय सङ्घर्षको बीउ छर्दैछ ! यो नेपाल ध्वस्त पार्ने कुन कुन देशको खेल हो? सारा जनता होसियार हुनैपर्छ र विरोध गर्नैपर्छ। 
    हरेक दल र समूहको हुने नहुने सबै मागहरू पूरा गर्न मञ्जुरी दिने र हस्ताक्षर गर्ने नेपाली काङ्ग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरू साँच्चै बुझेर हस्ताक्षर गर्छन् कि पुतलीको खेल खेल्दैछन् हेर्न बाँकी नै छ। तर सबैले अपराध र पापको निम्ति नैतिकताको कठघरामा उभिनै पर्नेछ। संविधान बने पनि देशका सबै समस्या समाधान हुने छैन, जसरी पूँजीवादी दलहरूले जनतालाई आश्वासन दिंदै छन्।

सर्पको खुट्टा सर्पले देख्छ !
भागबण्डा र सहमतिको परिणाम
देश अन्योलको स्थितिमा
गुणका वैरी ...... !
कडा कारबाहीमा ढिलाइ किन?
धम्कीबाट होइन छलफलबाट
समीक्षा गरौं !
आर्थिक दुरवस्थामा को जिम्मेवार?
नेपाल र नेपाली होसियार होऊन् !



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी