सम्पादकीय

१०५ औं श्रमिक महिला दिवस

१०५ औं श्रमिक महिला दिवसमा सत्ता पक्षका नेताहरू, मन्त्री र प्रधानमन्त्रीले समेत महिलाहरूको हितबारे सकारात्मक कुरा गरे, तर यस वर्ष त्यसबारे नीतिगत के उपलब्धि भयो र १०६ औं श्रमिक दिवससम्ममा महिला दिदी बहिनी, आमा, छोरी र पत्नीहरूलाई सरकारको तर्फबाट के उपहार छ? वा आधाभन्दा बढी जनसङ्ख्याको निम्ति नयाँ ल्याउने तर्जुमा गरिएको केही सन्देश छ? छैन। त्यसो भए प्रधानमन्त्री, मन्त्री र सत्ता पक्षका महिला नेतृहरूको आश्वासन, केही महिलाहरूलाई फूलको माला, शिशुहरूलाई पापा र 'आज नगदी, भोलि उधारो' हो?
    पुरुष नेता र मन्त्रीले महिलाहरूको निम्ति चिप्लो घस्नेमात्र काम गरे भने अहिले सत्ता पक्षमा बस्ने विद्या भण्डारी, अष्टलक्ष्मी शाक्य, शिक्षामन्त्री चित्रलेखा यादव र महिला मन्त्री निलम केसी आदिले त यस वर्ष वा आउँदो १०६ औं श्रमिक महिला दिवसभित्रमा बोक्सीको नाममा गरिने हिंसा र पीडा, बलात्कार र दहेजको कारणबाट हुने महिलाको हिंसाको विरोधमा ल्याइने कडा सजायको ऐन–कानुन, सचेतनाको निम्ति जिल्ला–जिल्लामा गरिने अन्तरक्रिया र कानुनी शिक्षा तथा छाउपडी र आङ खस्ने रागबारे महिला चिकित्सक र स्वास्थ्यकर्मीहरूमार्फत जिल्ला–जिल्लामा गरिने अन्तरक्रिया, सचेतना कार्यक्रम र स्वास्थ्य शिविर तथा उपचारको कतिवटा, कहाँ कहाँ, कुन कुन महिनामा गर्ने केही तालिका बनाएका छन्? के त्यसको निम्ति बजेटको बन्दोबस्त हुँदै छ? प्रश्नको उत्तर सकारात्मक छैन भने प्रधानमन्त्री, महिला मन्त्री र नेतृहरूको आश्वासन र चिप्लो घसाइ देशको आधाभन्दा बढी जनसङ्ख्याको निम्ति विश्वासघातबाहेक केही हुनेछैन।
    आजसम्म सत्ता पक्ष वा चारै शासक दलहरूले आधाभन्दा बढी जनसङ्ख्यालाई ढाँट्दै र ठग्दै आएका छन्। कसैले भन्लान् – एउटामात्र पनि महिला दिदी बहिनीको माग पूरा गर्न खरबौं रुपैयाँ लाग्नेछ। यो अर्को झूट हो। जिल्ला–जिल्लामा महिला कार्यालय खोल्नुभन्दा जिविस, नगर वा गाविसमार्फत महिलाहरूलाई वर्षको एक लाख जवानलाई तालिम र रोजगार दिने नीति बनाएको भए त्यसबाट आउने अनुभवबाट नीतिमा थप परिमार्जन गर्न सकिने थियो। आशा गरौं– सत्ता पक्षका नेतृहरूले पुरुष नेताहरूले जस्तै यस विषयमा ढाँट र छल नगरुन् भन्ने हाम्रो आग्रह छ।
वैकल्पिक विमानस्थलबारे
    नेपालको हवाई सेवाले आधा शताब्दी नाघिसकेको छ तर एउटा टुर्केली हवाईजहाजको आकस्मिक अवतरण र दुर्घटनाले हाम्रो वायु सेवामा भुइँचालो ल्यायो, हजारौं उड्न लाममा बसेका विमानहरू र यात्रुहरू अलपत्रमा परे तथा नेपालको निम्ति नियमित उडानमा आउने विमान र यात्रुहरूमा हाहाकार मच्चियो।
    एक व्यक्ति र परिवारले समेत अस्वस्थ हुँदा, घरमै केही दुर्घटना हुँदा वा भई परी आउने सम्भावनाबारे तत्काल उद्धारको निम्ति सोचेको  हुन्छ र केही रकम बचाउ गर्ने हुन्छ। तर टुर्केली हवाईजहाजको आकस्मिक अवतरण र दुर्घटनाले ५० वर्षभन्दा लामो इतिहास भएको विमान सेवा किंकर्तव्यविमुढको स्थितिमा रह्यो, किन?
    सरकार फेर्दा मन्त्री फेर्नु स्वाभाविक छ, तर नेपाल वायु सेवामा कार्यरत ठूला पदका सबै व्यक्तिहरू फेरिने गर्दा, नयाँ पदाधिकारीहरूले पुनः आफ्नै उद्देश्यअनुसार काम गर्ने गर्छन् र वायुसेवाको दीर्घकालीन हितबारे सोच्नै सकेको देखिएन। हुन त यसबारे सरकार, योजना आयोग र सबै निजी विमान सेवाहरूले पनि सोच्नुपर्ने हो, यस्तो देखिएको छैन। सरकारबाट पाउने सहुलियतहरूको बारेमा मात्रै मुख खोल्ने निजी विमान सेवाहरूले पनि सम्भावित दुर्घटना र त्यसको निराकरणबारे सोच्नु, छलफल गर्नु र सरकारलाई घच्घच्याउनु आवश्यक छ।
    साथै सम्भावित दुर्घटना हुँदा आ–आफ्ना यात्रुहरूलाई के कसरी बन्दोबस्त गर्न सकिन्छ भन्नेबारे पनि अहिलेदेखि नै सोच्न सकेमा आपत्मा उपायहरू सुल्भि्कनेछन् र निजी विमान सेवाप्रति पनि यात्रुहरूको विश्वास बढ्नेछ। यात्रुहरूले ती विमान सेवाहरूलाई पनि आफ्नै सम्झनेछन्।
    केही वर्ष अगाडि उपत्यका वा उपत्यकासँगै जोडिएको जिल्लामा समेत वैकल्पिक विमानस्थल बनाउने विषयमा चर्चा भएको थियो। त्यसबारे छिट्टै ध्यान दिएको खण्डमा र कार्यान्वयन सुरु गरेमा अस्तिको जस्तो विपत्ति हवाई सेवाले भोग्नुपर्ने छैन।

बाँकि सम्पादकीय


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी