सम्पादकीय

सच्चाइ के हो?

'यति धेरै लेण्डुप भएपछि त सकिगो नि ! (साँघु साप्ताहिक, ९ चैत २०७१)
    सिक्किमलाई भारतको पोल्टामा पार्ने सिक्किमेली विभिषण नै लेण्डुप भनी दक्षिण एसियामा एक नकारात्मक र बद्नाम चरित्रबारे राजनीतिमा चाख राख्ने नेपाली नागरिकहरूलाई भनिरहन पर्दैन। तर प्रश्न एकजनामात्रै लेण्डुपले त सिक्किम भारतमा विलय गराउने कुख्यात काम गर्‍यो भने नेपालमा अहिले 'धेरै लेण्डुप भएपछि त सकिगो नि !' भन्ने निरासाको ध्वनीले देशभक्त जनतामा आक्रोश पैदा गर्नु स्वाभाविक छ भने खुला र गुप्त चलखेल गरिरहने लेण्डुपहरूको मनमा त्रास पैदा हुनु स्वाभाविक छ।
    स्थिति साँच्चै यस्तै हो भने वर्तमान शासक दलका नेताहरू र प्रतिपक्ष भनिएका ३० दलका नेताहरूमध्येका लेण्डुपहरूको फेहरिष्ट किन नखोल्ने? यो काम पनि सम्भवतः 'साँघु, साप्ताहिक' ले गर्दै जानेछ।
    २ चैत २०७१ को नयाँ पत्रिकाले लेख्यो – चितवनमा 'नेपाली भूमिमा भारतीय सेनाको गस्ती।' पश्चिम चितवनको माडी नगरपालिकामा पर्ने सोमेश्वरगढीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरू हतियारसहित मन्दिर कब्जा गरेको समाचार उल्लेख छ।
    सीमा नजिकै छरछरे भन्ने ठाउँमा नेपाली सशस्त्र प्रहरी पोष्ट भए पनि नियमित गस्ती नगर्दा भारतीय सेना पसेको समाचारले बताउँछ। सत्य यही हो भने – एमाओवादीले चलाएको गृहयुद्धको समयमा कति सीमाका प्रहरी चौकीहरूबाट ट्रकका ट्रक र सैनिक सामान वा हातहतियार भारतबाट आउँथे र मोटर नम्बर हेरेर साधारण प्रहरीले नेपालभित्र आउन दिन्थे। त्यो कार्य साधारण सिपाहीहरूको वा प्रहरीहरूको नभई तिनीहरूलाई ड्युटीमा खटाउने अफिसरहरूको काम हो भनी अड्कल काट्न गार्‍हो छैन। तर यस्ता विश्वासघातका कामहरू विभिन्न व्यक्तिहरूबाट फ्रान्सेली क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलनका समयमा पनि भएका थिए।
    अमेरिकी स्वतन्त्रता सङ्ग्रामको बेला स्वतन्त्रता सेनाका एक नेताले नै बेलायती सेनालाई बाटो छोड्न लगाई स्वतन्त्रता आन्दोलनको एक गढमाथि आक्रमण गर्न दिएको थियो। त्यसरी नै नेपालको विरोधमा विदेशको इसारामा आक्रमण गर्न चाँजोपाँजो मिलाई दिने नेताहरूलाई इतिहासले माफी नदिने कुरा विभिषणकै उदाहरण छ।
    तर आश्चर्य के विषयमा छ भने नेपाली काङ्ग्रेसको सरकारमा मात्रै किन लालापट्टी र तिलाठी अर्थात् सप्तरी र अन्य जिल्लाका पुराना सीमास्तम्भहरू उखेलिन्छन् र नेपालपट्टिको खेत खेतमा नयाँ―नयाँ सीमास्तम्भहरू भारतीय पक्ष आएर गाडिन्छन्,प्रमुख जिल्ला अधिकारी र प्रहरीका हाकिमहरू पनि मौन बस्छन्, किन? सरुवा बढुवाका कारणहरू नै यस्तै देश हार्ने र हराउने कार्य गर्नकै निम्ति हो वा अन्य कारण छन्? यसको जवाफ सरकारी पक्षले दिनु आवश्यक छ। सिराहा जिल्लाको सुखीपुरको एक समाचार आयो –'नेपाली भूमि कब्जा गरी भारतीय प्रहरीको चेकपोष्ट।' (गोरखापत्र – २९ फागुन २०७१)
    महोत्तरीको अर्को समाचार आयो – 'मुसहर बस्तीका घर एसएसबीले भत्काइ दियो।' यदि यो सत्य हो भने नेपाल सरकार किन मौन छ? मोरङ्ग जिल्लाको भारतीय सीमामा ठाउँ–ठाउँको दशगजामा भारतीय चेकपोष्ट निर्माण भएको र भारतीयहरूले अनाधिकार घरहरू बनाएको बारम्बार समाचारहरूमा आइरहन्छन्। यस्ता समाचारहरू आउँदा जिल्लाका सुरक्षा कार्यालयहरूले गृहमन्त्रालयलाई खबर गरेको होइन होला र !? खबर गरेको हो भने त्यसबारे औपचारिक कारबाही किन चलाउँदैन? जिल्लाका सरकारी कार्यालयहरूले खबर गरेनन् भने समाचार त जरुरै गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूले पढेका र त्यसबारे छलफल गरेकै होलान् ! समाचार असत्य हो भने सम्बन्धित मन्त्रालयहरूले किन खण्डन गर्दैनन् तथा नेपालीकै तर्फबाट गल्ती गरेको भए नेपाल सरकारले किन रोक्दैन?
    यस्ता अनेक गम्भीर प्रश्नहरू वर्तमान सरकारको सामुन्ने तेर्सिएका छन् र ती प्रश्नहरूको उत्तर सरकारले दिएर जनतालाई सच्चाइ बताउनु जनताप्रतिको उत्तरदायित्व पूरा गरेको ठहरिनेछ।

बाँकि सम्पादकीय


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी