उपभोक्ता आवाज

अधिकांश मासुपसल मापदण्ड विपरीत

सुर्खेत। जिल्लाभित्र सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत चलिरहेका छन्। सम्बन्धित निकायले अनुगमन नगर्दा अस्वस्थ र गुणस्तरहीन मासु उपभोग गर्नुपर्ने बाध्यता रहेको उपभोक्ता गुनासो गर्छन्। मनपरीरूपमा बिक्रेताले पशुको बध गर्दा सुर्खेतका विभिन्न ठाउँमा प्रदूषण बढ्दो छ। 
जिल्ला प्रशासन कार्यालयले गत असोजमा गरेको अनुगमनका क्रममा ९५ प्रतिशतभन्दा बढी मासु पसल मापदण्डविपरीत सञ्चालन भइरहेको पाएको थियो। दुई महिनाअघि गरिएको अनुगमनका क्रममा जिल्लाभित्रका केहीबाहेक धेरै मासु पसल मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको थियो –निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भन्नुभयो – 'हामीले मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएका थियौं, अब केही दिनमै फेरि अनुगमन गरेर कारबाही प्रक्रिया थाल्छौं।' सहायक प्रजिअ प्याकुरेलले जनताले मूल्य तिरेपछि स्वच्छ र सरकारी मापदण्डअनुसारको मासु खान पाउनुपर्ने भन्दै त्यसका लागि प्रशासनले कडा कदम चाल्ने पनि बताउनुभयो। सरकारी मापदण्डअनुसार पशुको बध गर्नुअघि डाक्टरी जाँच गर्नुपर्ने, मासुलाई २५ देखि ४० सेन्टिगे्रटसम्मको तापक्रममा राख्नुपर्ने र मासु बध गर्ने हतियार पनि सरकारी मापदण्डअनुसारको हुनुपर्छ। मासु व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष श्याम नेपाली पनि जिल्लाभित्रका अधिकांश मासुपसल मापदण्डविपरीत सञ्चालन भइरहेको बताउनुहुन्छ। 'कानुन कार्यान्वयन गर्ने निकायले नै ध्यान नदिंदा यहाँका धेरै मासु पसल मापदण्डविपरीत सञ्चालन भइरहेका छन्' अध्यक्ष नेपालीले भन्नुभयो, 'प्रशासनले नियमित अनुगमन नगर्दा उपभोक्ता अस्वस्थ र फोहर मासु खान बाध्य छन्।'
अध्यक्ष नेपालीले मासु बिक्रेताको पसलमा उपयुक्त जाली र सिसाको व्यवस्था हुनुपर्ने भए पनि अधिकांश मासु पसलेले सडककै छेउमा मासु बिक्री गरिरहेको बताउनुभयो। 'सडकमै ल्याएर मासु बिक्री गर्छन्' उहाँलेे भन्नुभयोे, 'तर, प्रशासनले यसतर्फ कुनै चासो देखाउँदैन।' अध्यक्ष नेपालीले उपभोक्ता जागरुक नहुँदा पनि अस्वस्थ मासु बिक्री गर्नेको मनोबल बढेको बताउनुभयो।
'उपभोक्ता पनि जागरुक छैनन्' अध्यक्ष नेपालीले भन्नुभयो, 'आफूले मूल्य तिरेपछि त्यसको गुणस्तरका बारेमा जानकारी राख्नुपर्छ।' उहाँले सरकारी मापदण्डअनुसार कुनै पनि पसल सञ्चालन नभएको ठोकुवा गर्नुभयो। जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार वीरेन्द्रनगर बजारमा मात्रै दैनिक ३० देखि ४० वटा खसी, १० वटा राँगा, तीनवटा बङ्गुर र पाँच क्विन्टल कुखुरा बध गरिन्छ।
वीरेन्द्रनगर नगरपालिकाले मासु पसल व्यवस्थित गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ। नगरपालिकाका अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पौडेलले बधशाला सञ्चालनको प्रक्रियामा रहेको पनि जानकारी दिनुभयो। 'बधशाला सञ्चालनमा आएलगत्तै बाहिरका मासु पसललाई पनि व्यवस्थित गछर्ौं' उहाँले भन्नुभयो, 'केही दिनभित्रै सबै प्रक्रिया पूरा हुन्छ।' उहाँले छरिएर रहेका मासु पसललाई व्यवस्थित गरेर राख्नका लागि पनि प्रक्रिया सुरु गरिएको बताउनुभयो।

गुणस्तरहीन रेगुलेटरले उपभोक्ता ठगिए




अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी