विविध समाचार

भ्याट नलगाउन सिकर्मी सङ्घद्वारा माग


    काठमाडौं। सिकर्मी व्यवसायीहरूमाथि लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) ले सिकर्मीहरू पेशाबाटै विस्थापित हुने अवस्था आउने जनाउँदै भक्तपुर सिकर्मी सङ्घले बुधबार अर्थ, उद्योग तथा वाणिज्यमन्त्री शङ्करप्रसाद कोइरालालाई एक ज्ञापनपत्र बुझायो।
    ज्ञापनपत्रमा भनिएको छ – सरकारको कर नीतिले पुर्खौंदेखि सिकर्मी पेशाबाट जीविकोपार्जन गर्दै आएका सिकर्मीहरू विस्थापित भइरहेका छन्। 
    खेतीपातीको काम सकाई बचेकोे समय मौसमी कामको रूपमा स–साना घरेलु व्यवसाय सञ्चालन गर्दै आएका सिकर्मीहरूलाई नेपाल सरकारले ल्याएको मूल्य अभिवृद्धि कर नीतिले अत्यन्त मर्का परेको छ। साना तथा घरेलु उद्योग व्यवसाय गर्नेहरूको सामानसहित गाडी समात्ने, लाखौं रूपैयाँ जरिवाना तिराउने तथा अनेकौं तरिकाले दुःख दिनाले स–साना सिकर्मी व्यवसायीहरू आफ्नो कामलाई निरन्तरता दिन नसक्ने स्थितिमा पुगेका छन्।
    तसर्थ यस्ता स–साना घरेलु सिकर्मी व्यवसायीहरूले स्वदेशी कच्चा पदार्थ तथा स्थानीय स्रोत र साधनलाई प्रयोग गरी स्वरोजगारका रूपमा काम गरी पुर्ख्यौली पेशालाई विस्थापित हुनबाट बचाउन सरकारले ल्याएको मूल्य अभिवृद्धि कर (भ्याट) को दायरामा नराखी वार्षिक निश्चित न्यूनतम् रकम तोकी कर तिर्ने सहज बन्दोबस्त गरिदिन माग गर्दछ।
    ज्ञापनपत्र बुझाउन नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सचिव राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर सिकर्मी सङ्घको एक टोली अर्थ मन्त्रालय पुगेको थियो। टोलीमा नेक्रामसङ्घका केन्द्रीय सहसचिव उपेन्द्र सुवाल, सङ्घका विष्णुराम दुमरू, भक्तपुर सिकर्मी सङ्घका सल्लाहकार विष्णुभक्त कुसी, सङ्घका अध्यक्ष विक्रम ढुकुछु, उपाध्यक्ष पुण्यराम न्हुछे, सचिव रामसुन्दर सुवाल, सहसचिव विश्वराम खुसू, कोषाध्यक्ष सत्यबहादुर देशेमरूलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
 
 
 
 

बाँकि विविध समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी