विविध समाचार

एसएलसीको नतिजा थप खस्क्यो


    काठमाडौं। मङ्गलबार सार्वजनिक भएको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजामा नियमिततर्फ एक लाख ६७ हजार नौ सय ३५ जना अर्थात् ४१ दशमलव ५७ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन्।
    गत चैतमा लिइएको सो परीक्षामा नियमिततर्फ पाँच लाख ११ हजार १६५ जना विद्यार्थी सहभागी थिए। 
    यो नतिजा गत वर्षको तुलनामा ६ प्रतिशतले कम हो भने विगत एक दसककै दोस्रो खराब नतिजा हो। अघिल्लो वर्ष नियमिततर्फ ४७ दशमलव १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। नतिजा खस्किएपछि शिक्षाका नीति निर्माताले यसको गम्भीर प्रभाव पर्ने जनाएका छन्।
    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार एक्जाम्टेडतर्फ एक लाख सात हजार २२९ विद्यार्थी परीक्षामा सम्मिलित भएकोमा आठ हजार ३१८ अर्थात् ७ दशमलव ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षाफल प्रकाशनपछि आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक खगराज बरालले नियमिततर्फ दुई लाख ६ हजार १९० छात्रले परीक्षा दिएकोमा ९६ हजार ४५४ र एक लाख ९७ हजार ७४६ छात्राले परीक्षा दिएकोमा ७१ हजार ४८१ छात्रा उत्तीर्ण भएका छन्। 
    उत्तीर्णमध्ये नियमिततर्फ विशिष्ट श्रेणीमा १६ हजार ९२४, प्रथम श्रेणीमा ७६ हजार १६५, द्वितीय श्रेणीमा ६९ हजार ८३० र तृतीय श्रेणीमा पाँच हजार १६ विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 
    विभिन्न कारणले ६ हजार ६७ विद्यार्थीले एसएलसी परीक्षा छोडेका, ८१८ परीक्षार्थीको नतिजा रोकिएको र २३० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।
    परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि पुरक परीक्षाको व्यवस्था गरिएको र उक्त परीक्षा आगामी साउन २० देखि २७ गतेसम्म सञ्चालन गरिने गरी तोकिएको छ। 
    कम विद्यार्थी उत्तीर्ण भएकोबारे शिक्षा मन्त्रालयका सचिव तथा परीक्षा सञ्चालन समितिका अध्यक्ष सोमलाल सुवेदीले विगतको तुलनामा मर्यादित परीक्षा भएको, पाठ्यक्रम–केन्द्रित प्रश्न सोधिएकोजस्ता कारण रहेको बताउनुभयो। 
    उहाँले नियमित पढाइ नहुनु पनि गुणस्तरीय शिक्षाका लागि समस्या रहेको बताउनुभयो। 
    शिक्षाविद् डा. विद्यानाथ कोइरालाले यो नतिजाले विद्यालय शिक्षाको लगानी खेर गएको पुष्टि भएको प्रतिक्रिया दिनुभयो। 
    उहाँले शिक्षकले पढाएनन् वा विद्यार्थीले पढेनन् भनेर सरकार उम्कन नमिल्ने तर्क राख्नुभयो। 
 
 
 
 

बाँकि विविध समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी